लकडाउनले बेलायतमा निम्त्याएका चुनौतीहरु [विचार]

SHARE:

गणेश पुन

झन्डै पाँच महिना जति भइसकेछ बेलायत सरकारले कोभिड १९ को राष्ट्रव्यापी रुपमा निषेधाज्ञा जारी गरेको । जसले हाम्रो जीवनशैलीलाई परिवर्तन हुन बाध्य बनायो । सरकारले यसबीचमा लकडाउनलाई खुकुलो गर्ने शृंखलाबद्ध केही महत्वपूर्ण आदेशहरु जारी गर्‍यो । परन्तु आम जनताको मानसिक सन्त्रास र यस्को अभिघात उही सुरूको लकडाउनकै स्थितिबाट गुज्रिरहेको सहज अनुमान गर्न सकिन्छ ।

सन् २०२० जुलाई महिनाको पहिलो हप्तातिर प्रधानमन्त्री बोरिस जोनसनले ब्रिटेनका लागि ‘शीतकालीन निद्राको अन्त्य’ (An end of hibernation) भनेर बडो उत्साहपूर्ण नाराको उद्घोष गरे । जसमा पव, रेस्टुरेन्ट, हेयर सलुन आदि सेवा क्षेत्रका व्यापारहरु खोल्न सकिने जतिको सूची सरकारबाट सार्वजनिक गरियो । निरन्तर गिर्दो अर्थतन्त्रलाई गतिशील बनाई राख्न संभव हुने जतिहरु आ-आफ्ना काममा फर्कंन प्रधानमन्त्रीले जोड़तोड़ले जनताससँग आग्रह राखे ।

ब्रिटेन उपभोक्तावादी समाज भएकोले घर-घरबाट निस्की किनमेल तथा खानपानमा खर्च गरेर देश-भक्तिपूर्ण अर्थतन्त्रलाई सघाउन प्रधानमन्त्री जोन्ससनले व्यग्रता साथ आव्हान गरे । भारतीय मूलका चान्सलर (अर्थमन्त्री) ऋषि सुनाकले पनि प्रधानमन्त्रीकै लयमा ‘अर्थतन्त्रलाई बचाउ, बाहिर जाउ र खाउ’ (Help out to eat out) जस्ता लोकप्रिय नारा दिएर जनतालाई उत्साहित बनाउने सक्दो प्रयास गरे । सरकारले जारी गरेको यी जति पनि सूचना र वक्तव्य आफैमा बाझिएका र यसले जनतालाई अझ अलमल बनाउने काम गरेको गुनासाहरु पनि बाहिर आए । जसबाट कोही पनि आफ्नो भविष्यप्रति आश्वास्त र निश्चिन्त नभएको भन्ने बुझिन्छ ।

रोजगारमा रहनेका लागि सरकारले पहल गरेको अल्पकालीन व्यवस्था (furlough scheme) आउने अक्टोबर महिनामा सकिने बताइएको छ । त्यसपछि के हुने हो स्पष्ट छैन । कोभिड महामारीकै निहुमा धेरै रोजगारदाता कम्पनीहरुले कामदारहरु कटौती गरेको वा ती बन्द गरिएका दिनहुँ समाचारमा आउन थालेका छन् । यो सुखद संकेत होइन । यतिखेर लाखौका संख्यामा कामदारहरु कामतर्फ फर्किने प्रतीक्षामा घरमै बसिरहेको स्थिति छ ।

निरन्तर यस्तै स्थिति रहिरहे यसले सोंचेभन्दा भयानक बेरोज़गारीको सुनामी आउन सक्ने निश्चित छ । लकडाउनकै आवरणमा सरकारले यी अनिवार्य मुद्दाहरुमा जनतालाई आश्वास्त पार्नुको साटो एकपछि अर्को अनेक विवादित काम र लोकप्रियवादी वक्तव्यबाज़ीमै अल्मलिरहेको धेरैको आरोप छ । तसर्थ यो पनि अनुमान गर्न सकिन्छ कि आउने आमचुनावपछि प्रतिपक्ष लेबर पार्टीका नयाँ नेता सर स्किएर स्टामर प्रधानमन्त्री बन्न कुरिरहेका छन् । सबैको साझा चाहना हो कामको निरन्तरता र सामान्य जीवन शैलीमा फ़र्किने ।

तर अचम्म मान्नुपर्छ कि यो ब्रिटेनमा मात्र होइन प्रायः अन्य देशभरि नै लकडाउनको आवरणभित्रै अनेक बिस्मयकारी, असंगत र अचम्मित बनाउने खालका विरोधबाज़ीका हर्कतहरुले कोभिड १९ को यो महामारी र यस्को सन्त्रास सामान्य र गौण हो कि भन्ने पनि बनाइदियो ।

ब्रिटेन र अमेरिकी सहरभरि गरिएको ‘ब्ल्याक लाइफ मेटर’ अर्थात् काला जातिहरुको सवालका गतिविधि, हङकङमा बेजिङ्ले जारी गरेको राष्ट्रिय सुरक्षासम्बन्धी कानुनको विरोध प्रदर्शनका साथै हालसालै बेलारूस र लेबनानमा भएको सरकार विरुद्धका प्रदर्शनहरुले यो लकडाउन र यस्का प्रतिबन्धहरुको औचित्यलाई गौण पारिदिएको छ । कोभिड १९ सम्बन्धमा कुनै पनि सामान्य वा शक्ति राष्ट्रहरुबीच निश्चित धारणा र ऐक्यबद्धता स्थापित हुन नसक्नु, एकपछि अर्को कोभिड सम्बन्धिका नयाँ नयाँ तर अपुष्ट समाचारहरु सम्प्रेषण भईरहनुले विश्वभर मान्छेहरुको दैनिकी अनिश्चित अवस्थामा रहेको बुझ्न सकिन्छ । यो महाव्याधिको व्यवस्थापन गरेर सामान्य जीवनतर्फ फर्किने चाहना र प्रतिबद्धता बाँड्नुको साटो जनतालाई दिग्भ्रमित बनाउने खेलहरु रचिदै गएको आभास हुन्छ ।

त्यस्तैगरी विरोध प्रदर्शकारीहरु सबैतिर तत्कालको भयावह समस्याप्रति लक्षित नभइकन आफ्नो व्यक्तिगत स्वतन्त्रता, अधिकार र प्रजातन्त्रको एकोहोरो ज़िद्दीपूर्ण मागको प्रदर्शन देख्ता लाग्छ कि-यिनीहरुले प्रजातन्त्र होइन यही प्रजातन्त्र ब्रान्डको कुनै सर्वाधिक नयाँ सुविधासहितको फोनको माग गरिरहेका छन् । यी नयाँ क्रान्ति वा परिवर्तनका नाममा भएका हरेक प्रदर्शनले कुनै निश्चित सिद्धान्त, आदर्श वा जनताको संवेदनाहरुको प्रतिनिधित्व शून्य देख्ता लाग्छ- यो प्रतिक्रान्तिकारी हर्कत हो । जसले विश्व नै नजानिँदो गरी हुकुमी शासनमा बन्दी हुन बाध्य छ ।

आर्थिक तथा सामरिक शक्ति राष्ट्रहरु, विशेषगरी चीन र अमेरिका, बिच देखिएको पाखुरा सुर्क्याई, तिक्ततापूर्ण अभिव्यक्ति र तिनका रणनैतिक प्रदर्शनले यो विश्वव्यापी समस्याप्रति गम्भीर नभएको पुष्टि गर्दछ ।

तत् अनुरूप बेलायतका सामु यो कोभिड सँगसँगै धेरै गृह तथा बाह्या नीतिगत चुनौतीहरु उभिएका छन् । ब्रेक्जिटसँग जोडिएको युरोपियन युनियनसँगको व्यापारिक सम्झौताका साथै अप्रवास सम्बन्धी मुद्दा, चीन अमेरिकाबीचको शृंखलाबद्ध व्यापार युद्ध तनावको सन्तुलन र निगरानी आदि ब्रिटेनका लागि महत्वपूर्ण चुनौती हुन भन्न सकिन्छ । यस्ता चुनौतीहरुमाझ अवसर भेट्ट्याउन सके उस्को ग्लोबल ब्रिटेनको आकांक्षा परिपूर्ति हुनसक्छ ।
जे होस्, यी सबैका लागि हामीले कमसेकम आउँदो नोभेम्बर मा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनबीच हुन गइरहेको अमेरिकी राष्ट्रपतीय चुनावलाई नपर्खी धरै छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!