परिचय
कास्की जिल्लाको मौजा गाउँ पोखरा महानगरपालिकामा पर्दछ । मौजा गाउँमा चार टोल छन् । मौजा, आँटीघर, मोहरिया र लामडाँडामा गरी १७५ घर छन् । मौजा गाउँ पोखरा महानगरपालिका २० मा पर्दछ । साबिक मौजा गाविसको आटिघर, मोहोरिया, मौजा र लामडांडामा मौजा होमस्टे गरिदैछ । आयआर्जनका लागि सहर पस्ने तथा विदेशिएका युवालाई उत्पादन, उपयोग एवं आम्दानीसँग जोड्ने सोचले नै घरबास चलाइएको हो ।
पोखरा लेखनाथ महानगरपालिकामै रहेर पनि ओझेलमा परेको मौजा गाउँ ‘मोडेल भिलेज’ बन्ने भएको छ । पोखराको २० नम्बर वडामा पर्ने साविकको मौजा गाविसलाई रोटरी क्लब अफ पोखरा न्यूरोडले नमूना गाउँ बनाउने भएको हो । सरकारले घोषणा गरेको १०० गन्तव्यभित्र पर्ने मौजालाई ग्रामीण पर्यटनको आकर्षण बनाउने योजना छ । क्लबले आधारभूत शिक्षा तथा साक्षरता, शुद्ध पिउने पानी तथा सरसफाइ, रोग निवारण, शान्ति तथा द्वन्द्व व्यवस्थापन, मातृ शिशु स्वास्थ्य र आर्थिक तथा सामुदायिक विकासको अवधारणा अघि सारेको छ ।
इतिहास
मौजास्थित आँटीघर झण्डै २०० वर्ष अघिको इतिहास बोकेको ठाउँ हो । गुरुङ समुदायको एक एक तले घरमा अर्को तला (स्थानीय भाषामा आँटी थप गरिएको) विस्तार गरी बनाइएको घरलाई आँटीघर भन्ने चलन छ । आँटीघरमा २०० वर्ष पुरानो घरलाई समेत संरक्षण गरी राखिएको छ भने तत्कालीन समयको ज्वलन्त झल्को दिने गैँडाको छालाको ढाल र तरबार अझै सुरक्षित छ ।
धार्मिक तथा सांस्कृतिक महत्व
मौजा गाउँमा गुरुङ जातिको बाहुल्य रहेको दलित, ब्राह्मण र भुजेल जातिको पनि बसोबास छ । चार वर्ष्भित्र मौजालाई पूर्ण साक्षर गाउँ बनाउने क्लबको लक्ष्य छ । गाउँमा शिक्षाबाट वञ्चित स्थानीयको तथ्यांक लिन चारै टोलमा बाल क्लब गठन भएका छन् ।
पर्यटन प्रवर्द्धन
मौजालाई मोडल भिलेज बनाउनकै लागि मौजामा होमस्टे सुरु भएको छ । गाउँका १२ घरमा होमस्टे छन् । होमस्टे सञ्चालनको लागि आवश्यक तालिम क्लबले प्रदान गरेको छ । संग्रहालय, कोसेली घर, पुस्तकालय र तालिम कक्ष सहितको बहुउद्देश्यीय पर्यटकीय सूचना केन्द्र गाउँमा बन्नेछ । आँटीघर र मौजामा भ्यू प्वाइन्ट सहितको पार्क निर्माण हुनेछ । पर्यटन शिक्षा कार्यक्रम अन्तर्गत अतिथि सत्कार तथा होमस्टे व्यवस्थापन र पर्यटन तथा वातावरण संरक्षण तालिम बेलाबेलामा क्लबले प्रदान गर्नेछ ।
ढुंगाले बनाइएका पर्खाल र बाटो मर्मत गर्ने, आँटीघर र लामडाँडामा दुई स्वागत गेट निर्माण गर्ने कार्य हुनेछ । पूर्ण सरसफाइ अन्तर्गत सचेतना अभियान, फोहरमैला व्यवस्थापन, धुँवारहित चुलो निर्माण, गोठ सुधार, डस्टवीन निर्माण तथा वितरण, च्याम्बर निर्माण लगायत कार्य भईरहेका छन् ।






