दोलखा । नेपालका प्रख्यात तीर्थ स्थलहरुमध्ये कालिञ्चोक माई एक हो । कालिञ्चोक माई दोलखा बजारदेखि तीन कोस अर्थात् करिब १७ किलोमिटर उत्तरमा पर्छ । हिजोआज त गाडी जाने सुविधा छ । कालिञ्चोक भगवती माईको दर्शन गरेमा मनले चिताएको कुरा पुग्छ भन्ने जनविश्वास रहेको छ । चरिकोटबाट कुरी गाउँसम्म मोटर बाटोबाट र त्यसपछि करिब एक घण्टा पदयात्राबाट पुग्न सकिन्छ ।
कालिञ्चोक भगवतीको मन्दिर ३,८४२ मिटर (१२,६०२ फिट) उचाइँमा केबुलकारबाट पुग्न सकिन्छ । करिब २५ गज चौडाइ र ६९ मिटर लम्बाइ भएको यस टाकुरामा एउटा कुण्ड तथा शिवजी, गणेश र सरस्वतीको मूर्तिहरु भएको कुण्डलाई नै कालिञ्चोक भगवती भनिन्छ । भगवतीको कुनै मूर्ति छैन । केवल त्रिशूल र घण्टहरुको थुप्रो मात्र छ । कालिञ्चोक माई कुण्डको पवित्र जल धेरै टाढा दोलखाको भीमेश्वर मन्दिरभन्दा तल आउँछ भन्ने विश्वास स्थानीयहरुको छ ।
पश्चिमतर्फको बाटोमा भने करिब तीन गज चौडाइ र ६ गज जति लम्बाइ भएको २२ खुड्किलो फलामे भर्याङ पनि छ । यस भर्याङ एक टाकुरा र अर्को टाकुरा जोड्ने माध्यम बनेको छ । दुई टाकुराको बीच ज्यादै नै गहिरो खाडल छ । यसको तल कुखुरा बासेको प्रतिध्वनी सुनिन्छ र बत्ति बलेको देखिन्छ भन्ने जनश्रुति प्रचलित छ ।
कालिञ्चोक भगवतीको रुप र कुण्डका बारे विभिन्न किम्बदन्तीमध्ये एउटा यस्तो छ– सत्य युगमा दोलखामा राक्षसहरुले ज्यादै नै दुःख दिएको देख्दा त्यसबाट दुःख र मुक्ति दिलाउन कालिञ्चोकमा भगवती प्रकट भइछन् । भगवतीले राक्षसहरुलाई नाश गरिदिएपछि देवगणहरुले भगवतीलाई निम्ता गरी दोलखामा ल्याई खुसी मनाए छन् । त्यसैको प्रतिकको रुपमा प्रत्येक वर्ष बाला चतुर्दशीको दिन कालिञ्चोक भगवतीको किकिर्पा खट राखेर बाजागाजाको साथ मन्दिर जाने प्रचलन छ । र, किकिर्पा बक्साएर फर्काइन्छ । पूर्णेको दिन डापा खलक (बाजा बजाउने) सहित सिन्दूर जात्रा गर्ने चलन थियो । त्यसपछि मात्र नारायण स्थानमा यज्ञ प्रारम्भ हुन्छ । यज्ञ कुण्डमा डकाकु डाकस (ठूलो लाखे) ले कुल्चेपछि पुखुसी (पोखरी) मा एक जनालाई पौडी खेलाइन्छ । र, उसलाई इनाम स्वरुप राँगाको टाउको आधा दिने चलन छ ।
कालिञ्चोक कुण्डबाट चार धारा भएर निस्कँदा उत्तरतिर झरेकोलाई तामाकोसी, पश्चिमतिर झरेकोलाई सुनकोशी, पूर्व भागबाट झरेको सुन्द्रावती र भगवतीको कुण्डबाट झर्ने पानीलाई चरणावती भनिन्छ ।






