भूमे पर्वको उद्गमस्थल र गाउँघरहरु देखि बिदेश सम्मको यात्रा

SHARE:

बीर प्रसाद घर्ति मगर – बेलायत

बिगतमा रुकुम रोल्पाका बिकट गाउँघरहरुमा मात्रै मनाईने मगर समुदायको मौलिक चाड भूमे पर्व अहिले काठमाडौँ दाङ जस्ता ठूला शहरी क्षेत्रमा मात्रै नभएर बिदेशमा पनि धुमधामका साथ मनाउन थालिएको छ । भौतिक विकटता र संचार माध्यमको पहुँच देखि टाढा रहेको कारणले ओझेलमा परेको मगर समुदायको यस मौलिक पर्वलाई माओबादी द्वन्दकालमा बिस्थापित भएर काठमाडौँमा बसोबास गरेका रुकुम रोल्पाका मगरहरुले २०६१ सालमा साउने संक्रान्तीको अवसरमा गोङ्गबुको एउटा खेतमा मिलेर साउने संक्रान्तीमा मनाइने राँके पर्वका साथमा भूमे पर्वलाई पनि पहिलो पटक मनाएका थिए जसको आयोजना १८ मगरात भाषा संस्कृति विकास प्रतिष्ठानले गरेको थियो | तर यस पर्वलाई आधिकारिक रुपमा पहिलो पटक भने २०६२ सालको असार संक्रान्तीमा टुँडीखेलको खुल्ला मंचमा आयोजना गरेर मनाईएको थियो, जसको आयोजक नेपाल मगर संघ रुकुमको भात्री संगठन रुकुम-काठमाडौँ सम्पर्क मंच थियो । त्यस पछि २०६३ सालमा पनि रुकुम-काठमाडौँ सम्पर्क मंचले नै दोस्रो पटक खुल्ला मंचमा भूमे पर्व आयोजना गरेको थियो जसमा म पनि पहिलो पटक सक्रिय रुपमा सहभागी भएको थिए । त्यस पछि भूमिगत राजनिती त्यागेर खुल्ला राजनीतिमा आएको माओबादीको भात्री संगठन मगर मुक्ति मोर्चाले केहि बर्ष भव्य रुपमा काठमाडौँमा भूमे पर्वको आयोजना गरेको थियो ।

एउटा जातिय पर्वलाई कुनै एउटा राजनीतिक पार्टीले आयोजना गर्न हुँदैन भनेर आलोचना भए पछि २०६७ सालमा लुगुम्याल समाज काठमाडौँले भूमे पर्वको आयोजना गरेको थियो । त्यस पछि काठमाडौँमा रहेका रुकुम रोल्पाका विभिन्न समाजहरुले मिलेर यसको आयोजना गर्दै आएका छन् जसले सामाजिक संजाल मार्फत ब्यापक प्रचार प्रसार पाउन सफल भएको छ। यसै गरेर विदेशको हकमा कुरा गर्दा युकेमा बसोबास गर्ने खाम भाषी मगरहरुले २०७१ सालमा पहिलो पटक स्वीन्डन र केन्टमा भूमे पर्व मनाएका थिए तर यसलाई आधिकारिक रुपमा पहिलो पटक भने २०७२ सालमा लण्डनको हिथ्रोमा भूमे पर्व आयोजना गरेर मनाएका थिए, जसको आयोजना खाम भाषी मगर समाज युकेले गरेको थियो । त्यस पछिका बर्षहरुमा भूमे पर्वलाई जापान, दक्षिण कोरिया, मकाउ, अमेरिका, बेल्जियम, खाडी मुलुकहरुमा रहेका मगरहरुले पनि मनाउन थालेको देखिन्छ । यसरी संचारको पहुँच र सामाजिक संजालको सुबिधा पाए पछि छोटो समय मै रुकुम रोल्पाका बिकट मगर बस्तिहरुमा मनाईने भूमे पर्वले सम्पूर्ण मगर समुदाय माझ लोकप्रियता प्राप्त गरेको देखिन्छ । तर यसरी भूमे पर्व सम्पूर्ण मगर समुदाय माझ लोकप्रिय हुँदै गए पनि यसको बारेमा अध्ययन अनुसन्धान भने थोरै मात्रै भएको पाइन्छ र कमैलाई मात्रै यसको बारेमा गहिरो जानकारी भएको देखिन्छ । त्यसैले यस बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरुलाई यसको बारेमा केहि मात्रामा भए पनि थप जानकारी होस् भन्ने हेतुले यसको बारेमा मलाइ थाहा भएका केहि कुराहरु लेख्न आवश्यक ठाने, आशा छ यसले भूमे पर्वका लुकेका पाटाहरुमा केहि प्रकाश पार्न मदत गर्नेछ ।

यदि खोज्दै जाने हो भने हरेक संस्कार संस्कृति र धर्मको उत्पत्ति वा जन्मसंग कुनै स्थानको सम्बन्ध जोडिएको पाइन्छ जस्तै इशाई धर्मको जेरुसलम, इस्लाम धर्मको मक्का, बुद्ध धर्मको लुम्बिनी आदि । त्यस्तै गरेर यदि खोज्दै जाने हो भने भूमे पर्व मनाउने संस्कार संस्कृतिको उत्पत्ति वा उद्गमस्थल पनि नभेटिएला भन्न सकिन्न तर त्यसको लागि भने रुकुम रोल्पा नै पुग्नु पर्ने हुन्छ । जसमा भूमे पर्व मनाइने रोल्पाका थबाङ्ग, जेलबाङ्ग, उवा आदि ठुला गाउँ र पुर्बी रुकुमका लुगुम, काँक्री, तकसेरा, महत, कोल, राङ्सी, सिमा जस्ता ठूला मगर बस्तिहरुका साथै आसपासका अन्य साना मगर बस्तीहरु नै यस पर्वको उद्गमस्थलमा पर्ने देखिन्छन् । यस पर्वलाई मनाउनुको कारण गाउँ पिच्छे फरक कथा तथा किम्बदन्तीहरु भएता यस पर्वलाई मनाउने शैली, यस नाँचका बाजाहरु, यस नाँचलाई नाँच्ने तरिका भने सबैको मिल्दोजुल्दो नै छ | यस पर्वमा नाँचिने चाला (ताल), बजाइने बाजा, नाँचिने तरिकामा धेरथोर फरक हुनुको कारण चाँही काल र समय अनुसार बिस्तारै यसमा केहि फरकता (Variation) आएको कारणले यस्तो भएको मान्न सकिन्छ त्यसैले यसलाई काल र समय अनुसार हुने एउटा सामान्य प्रक्रिया हो भनेर बुझ्न सकिन्छ । यदि यस पर्वको बारेमा गहिराईमा नै गएर खोज्ने हो भने यो पर्वसंग सम्बन्धित तथ्यहरुलाई मध्यनजरमा राखेर अध्ययन अनुसन्धान गर्नु पर्ने देखिन्छ । जस्तै यससंग जोडिएका किम्बदन्तीहरु, यसका नाँचहरु, यससंग सम्बन्धित मौलिक नामहरु, मौलिक नामसंग जोडिएका ठाउँका नामहरु, यससंग जोडिएका इतिहासहरु आदि । यिनै तथ्यहरुलाई केलाएर हेरेमा भूमे पर्वको उद्गमस्थलको केन्द्रबिन्दुको धेरै नजिक पुग्न सकिन्छ भन्ने मेरो बुझाइ छ र यिनै तथ्यहरुलाई केलाएर यहाँ मैले भूमे पर्वको ईतिहासलाई खोतल्ने प्रयास गरेको छु।

१. किम्बदन्तीहरु: भूमे पर्वसंग सम्बन्धित किम्बदन्तीहरु गाउँ र ठाउँ अनुसार फरक छन् भलै कुनै गाउँको कम वा बढी रोचक किन नहोस । त्यसै गरेर कतिपय गाउँमा यस्ता किम्बदन्ती नहुन पनि सक्छन तर भएका किम्बदन्तीहरुलाई अध्ययन अनुसन्धान गरेर विश्लेषण गरेमा कुन ठाउँको किम्बदन्तीमा कत्तिको सान्धर्विकता लुकेको छ भन्ने कुरा बुझ्न सकिन्छ जसबाट यसको थप गहिराईमा पुग्न सम्भव हुन्छ । भूमे पर्व किन र कसरी शुरु भयो भन्ने बारेमा लुगुम गाउँको किम्बदन्ती पनि निकै रोचक छ तर यस किम्बदन्तीको बारेमा म यहाँ लेख्न चाहन्न किनकि गाउँ पिच्छे फरक किम्बदन्तीहरु भएकाले यो एउटा अध्ययनको बिषय हो भन्ने मलाइ लाग्दछ साथै यी किम्बदन्तीहरुको बारेमा यस्ता छोटा लेखमा लेखेर साध्य पनि हुँदैन ।

२. यसका नाँचहरु: बुढापाकाहरुका भनाई अनुसार उहिले उहिले भूमे नाँचको २२ चाला (प्रकार) सम्म हुन्थ्यो रे भन्छन तर ती चालाहरु लोप हुँदै गएकाले अहिले त्यति धेरै चालाहरु नाँचेको पाईदैन । अहिले लुगुम र थबाङ्गमा भूमे नाँचका सबै भन्दा बढी चालाहरु जीवित रहेको पाइन्छ जसमा लुगुममा अझै पनि १२ चाला सम्म नाँचिने गरिन्छ । अन्य गाउँहरुमा कति चालासम्म नाँचिन्छ भनेर यकिनका साथ भन्न सकिन ।

३. मौलिक नामहरु: भूमे/भुम्या, भल्क, नाम्क, बलपूजा, नोगोबाङ्गे, नोकोबाङ्गे, लोकोबाङ्गे, लोगोबाङ्गे जस्ता शब्दहरु यस पर्वसंग जोडिएका मौलिक नामहरु हुन् । भल्क, नाम्क, बलपूजा जस्ता नामहरु कुनै गाउँ वा ठाउँमा मात्रै भनिन्छ भने समग्रमा यसलाई भूमे तथा भुम्या भनेर भनिन्छ जसलाई नाम अनुसार व्याख्या पनि गरेको पाइन्छ र ब्याख्या गर्न पनि सकिन्छ तर नोगोबाङ्गे, नोकोबाङ्गे, लोकोबाङ्गे, लोगोबाङ्गे शब्द चाँही जनजिब्रोमा चलेको एउटा लोकप्रिय मौलिक शब्द भएता पनि यसको व्याख्या भने कसैले गरेको वा गर्न सकेको पाइदैन । तर नोगोबाङ्गे शब्दबाट अपभ्रम्स भएर नै कालान्तरमा नोकोबाङ्गे, लोकोबाङ्गे, लोगोबाङ्गे हुन गएको हो भन्ने मेरो बुझाई र मान्यता छ किनभने नोकोबाङ्गे, लोकोबाङ्गे, लोगोबाङ्गे जस्ता शब्दको यहाँ कुनै ब्याख्या वा कुनै भौतिक सम्बन्ध (Connection) भएको देखिदैन तर नोगोबाङ्गेको भने व्याख्या र भौतिक सम्बन्ध भएको पाइन्छ ।

४. बुकी फूल टिप्न जाने ठाउँका नाम र नोगोबाङ्गेको विश्लेषण: भूमे पर्वमा भूमे पूजाको लागि बुकिमा गएर बुकी फूल टिपेर ल्याउने चलन छ तर कुनै ठाउँमा बुकी क्षेत्र नभएको कारणले बुकी फूल टिप्न जाने चलन छैन | जस अनुसार थबाङ्गका मानिसहरु “जलजला” बुकिमा फूल टिप्न जान्छन जसलाई स्थानीय भाषामा “गोङ्” भनेर भनिन्छ, त्यस्तै गरि तक गाउँका मानिसहरु “नरसिङ्ग” बुकिमा फूल टिप्न जान्छन, सेराका मानिसहरु “चुङरी” बुकिमा फूल टिप्न जान्छन, कोल गर्खानीका मानिसहरु “चन्द्रकोइ” बुकिमा फूल टिप्न जान्छन भने लुगुम गाउँका मानिसहरु “नोगो पो” बुकिमा फूल टिप्न जान्छन । भूमे पूजाको लागि बुकी फूल टिप्न जाँदा लुगुम गाउँका युवायुवतीहरु यहि “नोगो पो” भन्ने बुकीमा गएर त्यहाँको बाङ्ग (चौर) मा एक रात बास बसी भोलीपल्ट बिहानै बुकी फूल टिपेर गाउँ फर्किन्छन् । त्यसैले बुकी फूल टिप्नको लागि नोगो पो बुकिको बाङ्गमा बास बस्ने गरी फूल टिप्न जाने युवायुवतीको समुहलाई लुगुममा नोगोबाङ्गे भनेर भनिन्छ । त्यसकारण नोगोबाङ्गे शब्दको यहाँ शाब्दिक अर्थ मात्रै नभएर र भौगोलिक सम्बन्ध (Connection) समेत भेटिन्छ जबकि नोकोबाङ्गे, लोकोबाङ्गे, लोगोबाङ्गे जस्ता अन्य शब्दहरुको न त यहाँ कुनै शाब्दिक अर्थ पाइन्छ न त कुनै भौगोलिक सम्बन्ध नै भेटिन्छ । यसका साथै नोगो पो बुकिमा लुगुम्यालहरुका पुर्खाहरुले बनाएका प्राचिन अवशेषहरु पनि छन् जसमा हरेक थरको आफ्नो आफ्नो बेग्लाबेग्लै गोलाकार ढुंगे चौपारीहरु पाइन्छन् | फूल टिप्न गएका युवायुबतिहरु बिहान बुकी फूल टिपेर आइसके पछि आफ्नो आफ्नो थरको चौपारीमा गएर मुर्ला (रुखको ठुलो हाँगो) गाडेर त्यसमा धजा बाँधी कुल पित्रीहरुलाई फूल र लिसक (रक्सी) चढाएर एकछिन नाँच्छन् र त्यस पछि मात्रै सबैको सामुहिक चौपारीमा गएर सबैजना सामुहिक रुपमा नाँच्ने गर्दछन् ।

भूमे पर्व र नोगोबाङ्गे संस्कृतिसंग सम्बन्धित यस्ता प्राचीन अवशेषहरु अन्य ठाउँमा भए जस्तो लाग्दैन । नोगो पो को पनि आफ्नै शाब्दिक अर्थ छ जसमा नो: भन्नाले मगर खाम भाषामा लसुन हुन्छ (उच्च हिमाली क्षेत्रमा पाइने लसुनको एक प्रजातीलाई पनि नो: नै भनिन्छ), गो (गोने) भन्नाले धेरै हुने (खाम भाषामा खासै गो ने भन्दा खेरि ओखरको गुदी धेरै हुने बुझिन्छ) भने पो को अर्थ ठाउँ हुन्छ त्यसैले “नोगो पो” भन्नाले उच्च हिमाली क्षेत्रमा पाइने लसुन प्रसस्त मात्रामा हुने तथा पाइने ठाउँ भनेर बुझिन्छ । त्यसैले नोगोबाङ्गे शब्दको सम्बन्ध नोगो पो बुकीसंग भएको पाइन्छ र नोगोबाङ्गे शब्दबाट अपभ्रम्स भएर नै कालान्तरमा नोकोबाङ्गे, लोकोबाङ्गे, लोगोबाङ्गे हुन गएको हो भनेर विश्लेषण गर्न सकिन्छ | त्यसैले नोगो पो बुकीलाई नै नोगोबाङ्गे शब्दको उद्गम थलो (origin) हो भनेर भन्न सकिन्छ । साथै यहाँका प्राचिन अवशेषहरुको अध्ययन अनुसन्धान गरेमा यो संस्कृति कति पुरानो हो भनेर पनि अनुमान लगाउन सकिने सम्भावना पनि देखिन्छ । यदि यस बारेमा अरु कसैको फरक मत वा ब्याख्या भएमा आधार सहित आफ्नो तर्क राख्नु होला भनेर अनुरोध गर्न चाहन्छु ।

५. यससंग जोडिएका इतिहासहरु: यसमा भूमे पर्वलाई भब्य रुपमा मनाइने रोल्पाको थबाङ्ग गाउँलाई यसको केन्द्रबिन्दुको रुपमा लिएर अध्ययन गर्न सकिन्छ किनभने भूमे पर्व मनाइने रोल्पाको एउटा गाउँ जेलबाङ्गमा थबाङ्गबाट मानिसहरु बसाइ सराइ गरेर अहिलेको बस्ति बसालेको भनिन्छ, यस अर्थमा जेलबाङ्गमा भूमे पर्व मनाउने संस्कार थबाङ्गबाट गएको भन्ने सहजै अनुमान गर्न सकिन्छ, त्यसै गरेर महतमा पनि भूमे पर्व मनाउने चलन थबाङ्गबाट गएको भन्ने भनाई छ यस अर्थमा थबाङ्गबाट भूमे नाँच्ने चलन महत र रोल्पाका अन्य गाउँ तिर फैलिएको अनुमान गर्न सकिन्छ । तर प्राचिन समयमा थबाङ्गमा भूमी (नाम्क) पूजा गरिएता पनि भूमे पर्वमा भूमे नाँच नाँच्न भने हालको पुर्बी रुकुमको लुगुम गाउँबाट बसाईसराई गरेर थबाङ्ग गएका झुनुङ्ग भन्ने व्यक्तिले सिकाएर नाँचिएको भन्ने भनाई छ, त्यसैले अझै पनि भूमे पर्वमा थबाङ्गिहरुले झुनुङ्गको नाममा लिसक (रक्सी) चढाउने र भूमे पर्वमा रक्सी बनाउदा खेरि रक्सीको बाहान उम्लिएर पोखिएमा झुनुङ्ग रिसाएको भन्ने बिश्वास समेत गरेको पाइन्छ । यस तथ्यले पूर्वी रुकुमबाट भूमे नाँच्ने संस्कार थबाङ्ग साथै रोल्पातिर फैलिएको पुस्टि हुन्छ । यसका साथै पूर्बी रुकुमका तकसेरा, कोल, राङ्सी जस्ता अन्य गाउँहरुको पनि भूमे पर्वको बारेमा आफ्नै कथाहरु होलान र यी गाउँहरुमा भूमे संस्कारको शुरुवात कसरी वा कहाँबाट आयो भन्ने बिषय पनि थप अध्ययन र अनुसन्धान कै पाटोमा पर्दछ । यी तथ्यहरुलाई हेर्दा खेरी भूमे पर्व मनाउने संस्कार र संस्कृतिको विकास पुर्बी रुकुमका प्राचिन मगर बस्तीहरुबाट भएको हो भन्ने यहाँ बलियो आधारहरु देखिन्छन ।

भूमे पर्वसित सम्बन्धित केहि तथ्यहरुको आधारमा गरिएको मेरो यस व्यक्तिगत अध्ययन र अनुसन्धानले केहि हदसम्म भूमे पर्वको मूल जरा सम्म पुग्न मदत त गर्ला तर यो नै पूर्ण अध्ययन र अनुसन्धान भने होइन । त्यसैले अरुले पनि यस पर्वसंग सम्बन्धित तथ्यका आधारमा आफुले जाने बुझेका कुराहरुलाई केलाएर लेख्ने प्रयास गरेमा त्यसले भूमे पर्वका लुकेका पाटाहरुमा प्रकाश पार्नेछ, जसले गर्दा यस बारेमा अध्ययन अनुसन्धान गर्न चासो र रुचि राख्ने बुद्धिजिवी विद्वानहरुलाई सजिलो र थप सहयोग पुग्नेछ भन्ने मेरो बुझाई र मान्यता छ ।

बीर प्रसाद घर्ति मगर
पुर्बी रुकुम
भूमे गाउँ पालिका १ लुगुम
हाल युके

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!