शनिबारदेखि नेपाल र भारतका विभिन्न स्थानमा अन्तरक्रिया

काठमाडौँ २५ सेप्टेम्बर २०२५ । बौद्ध धर्मावलम्बी गुरुङ समुदायको विश्वव्यापी संस्था अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्को पहिलो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी असोज ९ र १० गते (२५ र २६ सेप्टेम्बर २०२५) काठमाडौँमा हुने भएको छ ।
परिषद्ले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी सम्मेलनबारे जानकारी गराएको हो । सम्मेलनको तयारीका लागि काठमाडौँ, झापा र पोखरामा विस्तृत छलफल तथा सुझाव संकलन कार्यक्रम गर्न लागिएको परिषद्ले जनाएको छ । जसअनुसार शनिबार काठमाडौँको तमू बौद्ध सेवा समिति, वैशाख १५ गते पोखरास्थित बौद्ध अघौ सदन, वैशाख १६ गते पोखराकै पार्दी तमू समाज र वैशाख २० गते झापाको माईधारस्थित गुरुङ गुम्बामा पूर्व क्षेत्रका गुरुङ समुदायका सदस्य तथा लामा गुरुहरूसँग बौद्ध धर्म र गुरुङ संस्कार संस्कृतिबारे विस्तृत छलफल तथा सुझाव संकलन कार्यक्रम हुनेछ ।
सम्मेलनमा नेपाल, भारत, भुटान, अमेरिका, बेलायत, अस्ट्रेलियालगायत करिब एक दर्जन देशमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी गुरुङ समुदायको सहभागिता रहने परिषद्का अध्यक्ष डा. कुमार गुरुङले जानकारी दिए। ‘महाधिवेशनमा ‘गुरुङ बुद्धिजम’को अवधारणा र यसले अपनाउने पेक्ष्या (संस्कार संस्कृति) का बारेमा विस्तृत छलफल गरिर ‘गुरुङ बुद्धिजम पेक्ष्या’ निर्देशिका जारी गरिनेछ,’ उनले भने, ‘त्यसैले, विश्वभर छरिएर रहेका बौद्ध धर्म मान्ने गुरुङ समुदायका सदस्य तथा लामा गुरुहरूलाई महाधिवेशनमा सहभागी हुन परिषद् हार्दिक अपिल गर्दछ ।’
त्यसैगरी नेपाल, भारत, भुटान र अमेरिकाका प्रतिनिधिको उपस्थितिमा भारतका विभिन्न स्थानमा समेत छलफल आयोजना गर्ने तयारी छ । आगामी १७ मेमा भारतको सिलगुढी, १८ मेमा सिक्किमको मेघीडाँडास्थित रिन्छेनछोइलिङ गुम्बा, १९ मेमा गान्तोक र २० मेमा याङ-याङमा अन्तर्क्रिया आयोजना गर्ने सरिषद्ले जारी परेको प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यसपछि भारतकै दार्जिलिङ र खर्साङमा पनि छलफल आयोजना गर्ने जनाइएको छ । यी कार्यक्रममा सहभागी भई आफ्नो सुझाव राख्न परिषद्ले अनुरोध गरेको छ ।
अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्, बौद्ध धर्मको पञ्चशीलमा आधारित मूल्य र मान्यताका आधारमा गुरुङ संस्कार संस्कृतिलाई अनुसरण गर्ने गुरुङ समुदायका सदस्यको अन्तर्राष्ट्रिय संस्था रहेको विज्ञप्तिमा उल्लेख छ । ‘बौद्धमार्गी गुरुङ समुदायको बसोबास रहेका विभिन्न देशहरूमा यसको राष्ट्रिय परिषद्हरू पनि क्रियाशील छन्। परिषद्ले गुरुङ संस्कार संस्कृतिमा विशेष भूमिका निर्वाह गर्ने लामा गुरुहरूलाई परम्पराको संरक्षण तथा निरन्तरताका लागि उत्प्रेरित गर्छ । साथै, गुरुङ संस्कार र बौद्ध धर्मलाई एकैसाथ बुझ्ने तथा अभ्यास गर्ने गुरुहरूको संरक्षण र उत्पादनलाई प्रवर्धन गर्दै समुदायको संस्कारमा न्यूनतम मापदण्डहरूमा एकरूपता र एकता कायम गर्ने उद्देश्य राखेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
परिषद्ले गुरुङ समुदायले परापूर्वकालदेखि अभ्यास गर्दै आएको बौद्ध धर्मलाई ‘गुरुङ बुद्धिजम’का रूपमा परिभाषित गरेको छ । गुरुङ कुलमा जन्मेका समुदायका सदस्यहरूले विविध चाडपर्व तथा संस्कारहरूमा बौद्ध लामाहरूको माध्यमबाट परम्परागत विधि पूरा गर्दै आएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘ती अभ्यासकर्तालाई ‘गुरुङ बौद्ध धर्मावलम्बी’ र त्यस्ता अभ्यासहरूलाई ‘गुरुङ बुद्धिजम’ भनेर चिनाइएको हो।’
पछिल्लो समयमा लामा गुरुहरूमा बौद्ध दर्शनको ज्ञान उच्चस्तरको भए पनि विविध कारणले गुरुङ संस्कारमा दीक्षित हुन नपाउँदा परम्परागत संस्कारको निरन्तरतामा समस्या देखिएको जनाइएको छ। यसैलाई ध्यानमा राखी परिषद्ले गुरुङ लामाहरूको शिक्षा दीक्षाका क्रममा बौद्ध दर्शनसँगै गुरुङ पेक्ष्याको पनि प्रशिक्षण दिने गरी योजनासमेत बनाएको अध्यक्ष डा. गुरुङले बताए । यसबाट गुरुङ समुदायले अभ्यास गर्दै आएको गुरुङ बौद्ध दर्शन र संस्कार-संस्कृति दुवैको जीवन्तता सुनिश्चित हुने परिषद्को अपेक्षा छ ।






