काठमाडौं । बाह्य पर्यटकभन्दा पनि नेपालमा अचेल आन्तरिक पर्यटकले पर्यटकीय स्थलहरु भरिभराउ छन् । सामान्यतः विदेशीलाई मात्र पर्यटक मान्नेहरु अचेल विदेशीभन्दा पनि स्वदेशी पर्यटकको सम्मान र सेवामा बढी जुट्ने गरेका छन् । देशका विभिन्न पर्यटकीय गन्तव्यहरुमा आन्तरिक पर्यटकहरुको ओइरो लाग्न थालेपछि व्यवसायीहरु पनि खुशी छन् । विशेषतः विदेशी पर्यटकले भन्दा आन्तरिक पर्यटकले बढी खर्च गर्ने भएकाले पनि स्थानीय व्यापार व्यवसाय फस्टाएको छ । जसका कारण व्यवसायी खुशी छन् ।
पुग्नैपर्ने पुनहिल
गुराँसले ढकमक्क ढाकिएको जङ्गलै जङ्गल उच्च पहाडी भूभाग हुँदै पुगिने पुनहिलबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्रे, मनास्लुलगायत झण्डै दुई दर्जन हिमशृङ्खला नाङ्गो आँखाले हेर्न सकिन्छ ।
हिमाली दृश्य, उच्च पहाडी भूभागका साथै सूर्योदय र सूर्यास्तका रमणीय दृश्यलाई क्यामेरामा कैद गर्न ठूलो धनराशि खर्च गरी विदेशी पर्यटक पुग्ने गरेको यो ठाउँले पछिल्लो समयमा स्वदेशी पर्यटकलाई पनि उत्तिकै आकर्षित गरेको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलको पदयात्राका क्रममा भेटिएका जर्मन नागरिक हर्वट बेडेनबेन्डरले यहाँबाट देखिने दृश्य अवर्णनीय भएको टिप्पणी गरे ।
“लामो पदयात्रा मार्गमा हिँड्दा थकाइ लाग्नु स्वभाविकै हो,” उनले भने, “यहाँका यी रमणीय दृश्यले थकाइ बिर्साएको छ ।” अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गतको यस स्थान पर्यटकीय नगरी पोखरादेखि नजीक हुनुका साथै एकै स्थानबाट बहुदृश्य हेर्नका लागि पर्यटक पुग्ने गरेको नेपाल पर्यटन बोर्ड पोखराका प्रशासन एवम् कार्यक्रम प्रमुख प्रदीप गैरेले बताए । उनका अनुसार विदेशी पर्यटक मात्र नभई देशका विभिन्न स्थानहरूबाट भ्रमणका लागि आउने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्लो समयमा उत्साहजनक रूपमा बढेको पाइन्छ । पदयात्राको मुख्य याममा दैनिक पाँच सयको हाराहारीमा विदेशी पर्यटक आउने गरेको स्थानीयवासी वीरेन्द्र गर्बुजा बताउँछन् ।
देशको राजनीति तथा शान्तिसुरक्षाको अवस्था राम्रो बन्दै गएकोले विदेशी पर्ययक आगमन उत्साहजनक भएको बताउँदै गर्बुजाले दशैँ–तिहारको बिदाको समयमा ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिएको उल्लेख गरे । पुनहिलको प्रवेशद्वार घोडेपानीमा २५ वटा होटल छन् । यी होटलमा दैनिक एक हजार पाहुना बास बस्न सक्ने व्यवस्था छ ।
गाउँपालिकाले यस आर्थिक वर्षदेखि पुनहिल भ्रमण गर्न जाने स्वदेशी पर्यटकबाट प्रतिव्यक्ति रु ५० र विदेशीबाट रु १५० प्रवेश शूल्क लिन शुरु गरेको छ । सङ्कलित रकममध्ये ७० प्रतिशत वडाले छनोट गरेका योजना र ३० प्रतिशत गाउँपालिकाले परिचालन गर्ने गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए ।
पर्यटकमध्ये कतिपय कास्कीको अन्नपूर्ण गाउँपालिकाको उल्लेरी वा घान्द्रुक हुँदै जान्छन् भने कतिपय म्याग्दीको भुरुङ–तातोपानी, मोहरेडाँडा हुँदै जान्छन् । घोडेपानीमा बास बसी सूर्योदय र हिमशृङ्खलाको दृश्य हेर्दै रमाउन बिहान ५ बजेको झिसमिसेमा आँखा मिच्दै झण्डै एक घण्टा पैदल हिँडेर पर्यटक पुनहिल पुग्ने गर्दछन् ।
असोज–कात्तिक र चैत–वैशाख यस क्षेत्रको मुख्य पर्यटक याम भए पनि झण्डै बाह्रै महीनाजस्तो पर्यटक यहाँ आउने गरेको टाढापानीस्थित होटल पानोरमा प्वाइन्ट एण्ड रेस्टुरेन्टका सञ्चालक मनबहादुर क्षेत्रीले बताए । पुस–माघमा हिउँ खेल्न पाइनु र चैत–वैशाखमा पाखाभरि ढकमक्क फुल्ने गुराँस हेरेर रमाउन पाउनु यस क्षेत्रको विशिष्टता भएको उनको भनाइ छ ।
पुनहिलमा खिवाङ गाउँका स्व मे.टेकबहादुर पुनको स्मृतिमा ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गरिएको छ भने घोडेपानीका होटल व्यवसायीको पहलमा पदमार्ग, प्रवेशद्वार, सार्वजनिक शौचालय निर्माण भएको छ । पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गरी पुनहिलमा गाउँपालिकाले ‘फ्री वाइफाई’ जडानको तयारी गरेको छ । गाउँपालिकाका घान्द्रुक, उल्लेरी हुँदै ठूलो सङ्ख्यामा पर्यटक जाने गरेको वास्तविकतालाई दृष्टिगत गरी यस पदयात्रा मार्गको संरक्षण एवम् प्रवद्र्धनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको पालिका प्रमुख युवराज कुँवरले बताए । पदमार्ग क्षेत्रअन्तर्गत गाउँपालिका क्षेत्र भित्रका होटलमा परिकार महँगो भएको भन्ने जिज्ञासामा प्रमुख कुँवरले त्यसको अनुगमन गरी उचित मूल्य राख्न पहल गरिने बताए ।
मनोमानी तथा अत्यधिक मूल्यका परिकारले पर्यटकमा नकारात्मक असर पार्ने बताउँदै नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले यसको नियन्त्रणमा स्थानीय तहले सक्रियता देखाउनुपर्ने धारणा राखे । “पर्यटकलाई उचित सेवासुविधा दिएर त्यसअनुरूप सेवा शुल्क लिनु स्वभाविकै हो, तर नसुहाउने किसिमले चर्को मूल्य सूची राखिनुहुँदैन”, उनले भने ।
अन्तुमा पर्यटक ओइरो
अन्तुमा पर्यटकको चाप बढे पनि पर्यटन पूर्वाधारको अभाव भएको छ । सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन अन्तुमा दैनिक सात हजारसम्म पर्यटक पुग्ने गरेका भए पनि पूर्वाधारको अभाव भएको हो । ग्रामीण पर्यटकीयस्थलको गतिलो गन्तव्य बनेको अन्तुमा पार्किङस्थल, पदमार्ग, खानेपानी र सार्वजनिक शौचालयको अभाव रहेको छ । बिहान झिसमिसेमा सूर्योदय हेर्न जङ्गलको बाटो भएर जानुपर्ने भए पनि सडक बत्ती नहुँदा पर्यटक अलमलमा पर्ने गरेका छन् ।
स्थानीय समुदायले पर्यटन प्रवद्र्धनको काम गरेको अन्तुमा दैनिक आउने पर्यटक घरबासमा अटाउन गरेका छैनन् । परिवारका सदस्य झैं बसेर रात कटाउन सकिने भएपछि लोभिएका त्यहाँ पुग्ने पर्यटकको चाप बढेसँगै घरबासले थाम्न नसकेका हुन । घरबासमा अटाउन छोडेपछि पर्यटक त्रिपाल टाँगेरै भए पनि रात कटाउने गरेका अन्तु पर्यटन केन्द्रका अध्यक्ष धनकुमार आलले बताए ।
बीस वर्षअघि देखि घरबासमा पर्यटकलाई स्वागत गरी पर्यटन प्रवद्र्धनमा जुटेका अन्तुवासीलाई शनिबार त्यहाँ पुग्ने पर्यटकलाई अटाउन सकेनन् । त्यहाँ ४३ घरबास र १५ वटा लजमा दुई हजार ५०० पर्यटक अटाउने क्षमता भए पनि शनिबार एकै दिन सात हजार पर्यटक पुगेपछि पर्यटन प्रवद्र्धन केन्द्रले घरबास दर्ता नभएका घर र त्रिपाल टाँगेर पर्यटकलाई बसाएको थियो ।
सूर्योदय, हरियाली चिया बगान, अन्तु पोखरीमा डुङ्गा सयर, सीमावर्ती भारतीय भू–भागको अवलोकन र कञ्चनजङ्घा हिमालको दृश्यवलोकन रहेकाले पूर्वाधार निर्माण गरिनुपर्ने झापाका राजेश लेप्चाले बताए । “सूर्योदयको दृश्य हेर्न राति नै अन्तुडाँडा पुग्नुपर्ने भएकाले सडक बत्ती नहुँदा समस्या भयो,” उनले भने, “हजारौँ पर्यटक आउने अन्तुमा सार्वजनिक शौचालय, फोहर सरसफाइ र बाक्लो शीत पर्ने भएकाले पर्यटक बस्ने टहराहरू निर्माण गर्नु जरुरी छ ।”
सडक कालोपत्र भएसँगै पर्यटकको चाप बढेकाले गाडि पार्किङस्थल नहुँदा समस्या भएको सूर्योदय नगरपालिका–१० का यातायात व्यवसायी राजन गुरुङले जानकारी दिए । त्यहाँ सानो पार्किङस्थल भए पनि नअटाएर सडक र स्थानीयवासीको घरआँगनमा गाडी पार्किङ गर्दा समस्या भएको छ । अघिल्ला वर्षमा असोज, कात्तिक, मङ्सिर, फागनु, चैत र वैशाखमा मात्रै पर्यटकको चाप हुने गरेकामा अहिले वर्षभरि नै पर्यटकको आगमन रहेको पर्यटन व्यवसायी खगराज घिमिरेले बताए ।
गतवर्ष दैनिक रूपमा ४०० सम्म पर्यटक आउने गरे पनि यो वर्ष असोज, कात्तिक र मङ्सिरमा दैनिक तीन हजारदेखि सात हजारसम्म पर्यटक आउने गरेका बताइएको छ । सूर्योदय नगरपालिका–४ र ५ मा पर्ने उक्त पर्यटकीयस्थलमा रहेको टावरमा प्रवेशका लागि नगरपालिकाले प्रतिपर्यटक रु ५० लिने गरेको छ । टावरमा सामुदायिक वनका सदस्य र घरबास सञ्चालकलाई निःशुल्क गरिएको छ । सो टावरको ५०० पर्यटक अटाउने क्षमता भए पनि पर्यटकको चाप बढेपछि धेरैजसो पर्यटक भुइँमै बसेर सूर्योदयको दृश्य हेर्ने गरेका छन् । सो स्थलमा नेपाल, भारत र भूटानका पर्यटक पुग्ने गरेका छन् ।
घरबासमा पाहुनाको भीड
पछिल्लो समय जिल्लाका घरबासमा पाहुनाको भीड बढ्दै गएको छ भने क्यामफायर गर्नेको सङ्ख्यामा समेत वृद्धि हुन थालेको छ ।
भानु नगरपालिका–५ स्थित नावरुङमा यतिखेर आन्तरिक पर्यटकको भीड बढेको हो । पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै त्यहाँ रहेका दुईवटा घरबास भरिभराउ हुने गरेका छन् । आन्तरिक पर्यटक घरबासमा बस्न तथा खान मात्र नभई त्यहाँको मनोरम दृश्य र हरियाली पाखापखेरामा रम्नका लागि आउने गरेका हुन् । चाडबाड सकिएसँगै घरबासमा पर्यटक आउन थालेका नावरुङ घरबासकी अध्यक्ष सतिदेवी मल्लले बताए ।
पर्यटक बढेसँगै आर्यनमा वृद्धि हुने गरेको उनले जानकारी दिए । शुरुका दिनमा पाहुना खासै नआए पनि पछिल्लो समय भने वृद्धि भएको उनले बताए । गाउँमा नै बसीबसी स्थानीयवासीले आम्दानीमा वृद्धि गरी मासिक पन्ध्रदेखि बीस हजारसम्म कमाई गर्ने गरेका छन् । पर्यटक रमाइलो गर्नभन्दा पनि घरबासका घर हेर्न आउने गरेका छन् । त्यहाँका फरक प्रकारका घरले घरबासमा बस्दा रिसोर्टमा बसेको अनुभुति कतिपय पर्यटकलाई हुने गरेको छ ।
विसं २०७३ बाट १६ वटा घर मिलेर दुईवटा घरबास सञ्चालन गरिएको त्यस गाउँको मुहार नै फेरिएको छ । भाले जुधाइ घरबास र नावरुङ घरबास गरी दुईवटा होमस्टे गाउँमा सञ्चालनमा छन् । घरबासमा आउने जो कोही पनि त्यहाँ पुगेपछि अचम्मित हुने गरेका भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्लले बताए ।
चिटिक्क परेको घर, फूलबारी, शहर बजारका घरमा जस्तो धुपीका बोट, रिसोर्टमा राखिने जस्ता रङ्गीबिरङ्गी छातालगायतका वस्तुले शहरमै बसेको अनुभूति दिलाउने गरेको छ ।
घरबासमा आएका पाहुनालाई युवायुवतीले परम्परागत वेशभूषामा सजिई माला लगाएर स्वागत गर्ने गरेका छन् । त्यहाँ सांस्कृतिक कार्यक्रम चुट्का, दोहोरीलगायत गीत र नाच गरेर मनोरञ्जन दिलाइने गरिएको छ । त्यस ठाउँमा मगर, गुरुङ र ठकुरी समुदायका स्थानीयवासी मिलेर घरबास सञ्चालन गरेका छन् । दैनिक १५ देखि २० जना पर्यटक होमस्टेमा बस्न आउने गरेका घरबासकी सदस्य कमला आलेले जानकारी दिए । घरमै उब्जनी भएको तरकारी घरबासमा नै खपत हुने गरेको र तरकारीले समेत आम्दानी बढेको उनले बताए ।
बोयर बोकाको सुकुटी
प्रायःजसो घरबासमा अर्गानिक खानाका परिकार एउटै प्रकारका हुने गरेका छन् । तर, यहाँ अन्यत्र भन्दा फरक छ । यहाँ बोयर बोकाको सुकुटी पर्यटकलाई आकर्षित पार्न दिइने गरिएको छ । त्यस्तै सिस्नो, आँटो, गुन्द्रुक, भट्ट, लोकल कुखुराको मासु, रोटीलगायत पाइने गरेको छ । घरबासमा रु एक हजारमा बिहान–बेलुका मासु खाना र बिहान–दिउँसो नास्ताको व्यवस्थासहित बास बस्ने सुविधा मिलाइएको छ ।
ऐतिहासिक तनहुँसुर दरबार, भानुभक्तको जन्मगाउँ, प्रसिद्ध थानीमाई मन्दिर, मिर्लुङकोट र नेपालको दोस्रो प्रधानमन्त्री रङ्गनाथ पौडेलको जन्मगाउँ देख्न सकिन्छ । त्यस्तै रमणीय हिमशृङ्खला, सूर्योदय र सूर्यास्तसमेत यही ठाउँबाट सजिलै नियाल्न सकिन्छ ।
घरबासमा बढी मात्रामा पर्यटक क्यामफायर गर्न आउने गरेका छन् । गत महिना मात्र सिन्धुपाल्चोकबाट ८० जना एकै दिन होमस्टेमा बस्न आएका र जसले गर्दा गाउँ नै भरिभराउ भएको थियो । कहिलेकाहीँ नेपाली पथप्रदर्शकले विदेशीलाई समेत घरबासमा ल्याउने गरेका छन् ।






