लन्डन । तमु प्ये ल्हु संघ यूकेले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि २६ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
संघका पूर्वअध्यक्ष सोम त्होर्जे गुरुङ नेतृत्वको टोलीतले बुधबार गृहमन्त्री सुधन गुरुङलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरणको क्रममा तमु प्ये ल्हु संघ यूकेका सदस्य सूर्यबहादुर गुरुङ, धीरबहादुर गुरुङ र गमबहादुर गुरुङ, युथ एम्बेसडर सृजना गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य बालकाशी गुरुङ, तमु प्ये ल्हु संघ नेपाल युवा समितिका सल्लाहकार शुक्रराज गुरुङ, तमु प्ये ल्हु संघ काठमाडौंका कोषाध्यक्ष श्रीप्रसाद गुरुङलगायतको उपस्थिति थियो ।
सहयोग रकम बेलायतस्थित तमु प्ये ल्हु संघका सदस्य, तमु प्ये ल्हु संघ आमा समूह, ग्लोस्टारस्थित वुलस्टर्न गोर्खा बार एन्ड रेस्टुरेन्टमार्फत स्थानीय समुदाय समेतबाट संकलन गरिएको संघले जनाएको छ ।
यसैबीच तमु प्ये ल्हु संघ यूकेले गुरुङ समुदायको परम्परागत बोन धर्मलाई राज्यबाट मान्यता दिन र धार्मिक स्थलहरूको संरक्षण गर्न सरकारसँग माग गरेको छ । संघले गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाउँदै बोन धर्म, यसअन्तर्गतका धर्मगुरु तथा धार्मिक स्थल क्व्होइँबोको संरक्षण र विकासका लागि सरकारी मान्यता र दर्ताको व्यवस्था गर्न माग गरेको हो ।






