बेलायतमा किराती ‘साकेला’ नाच आकर्षण

SHARE:

रोशन मेवाहाङ
लन्डन । बेलायतवासी किरात राईहरुको आफ्नै भूमि ग्याम्बलस् लेन, रिप्ले अवस्थित माङखिम तथा साकेला स्थल (किरात राई घर) मा उभौली यलेदोङ ५०७९ (वि.सं. २०७६) साकेला पर्व भव्य रुपमा मनाइएको छ । किरात समुदायमा हरेक वर्ष साकेला पर्व तथा उभौली सिली प्रतियोगिता धुमधामसँग मनाउने चलन छ ।

किराती नाछोङले (धामी) टाउकोमा सेतो फेटा लगाई सुम्निमा–पारुहाङ्गको तस्बिर, ढोल र झ्याम्टासहित सेउलीको थानमा उभौली भूमिपूजा गरी थान वरिपरी नाचेर विधिअनुरुप कार्यक्रम सुरुआत गरिएको थियो । किरात राई यायोक्खा बेलायतका अध्यक्ष कल्पना राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी (साहित्यकार दुबसु) र स्थानीय गिलफोर्ड बरो काउन्सिलका मेयर रिचर्ड रहेका थिए, विशेष अतिथिहरु पूर्वसभासद तारा राई, कांग्रेस महासमिति सदस्य तथा युवा नेता रविप्रकाश राई, एनआरएनए बेलायतका अध्यक्ष योगकुमार फगामीका साथै बेलायतमा विभिन्न क्रियाशील संघसंस्थाका दर्जनौ प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित थिए ।
‘सिमली सेउली गाडेर देवी र देउता भाकेर
पुर्खाको रीति साकेला मनाऊ सिली नाँचेर
सोईसोइला हो, सोईसोइला ।’
पृष्ठभूमिमा सहभागीहरु यस्ता भाकाका गीतमा रमाइरहेका थिए । यस्ता भाकाका गीतहरु यो महिना विशेष गरेर स्वदेश तथा विदेशी किराती गाउँ बस्तीहरुमा कानकानमा गुञ्जयमान भइरहेको छ । ज्यान फनफनी घुमाउँदै, खुट्टा हल्लाउँदै युवायुवतीहरुले नाचेको दृश्य देख्दा र साकेला सिली सुन्दा खोटाङका पूर्व जिल्ला विकास सभापति ६८ वर्षीय रत्नकुमार राई आफ्नो यौवनलाई संझना गर्दै नाचौ नाचौ लाग्ने बताउँछन् । युवाहरुको जोसिलो साकेला सिली देखेर उनी उत्साहित देखिन्थे । बुढापाका मात्रै होइन, १३ वर्षीय बालिका प्रकृति राई लगायत धेरै नानीहरु पनि साकेला नाचेर मनोरन्जन लिइरहेका थिए ।
प्रतियोगिता बन्यो रोचक पक्ष
बेलायतवासी किरात राईहरुको आफ्नै भूमि (१४६ रोपनी) जग्गा वि.सं. २०७२ सालमा अंग्रेज किसानबाट खरिद गरिएको हो । सो माङ्खिम तथा साकेला स्थलमा २०७३ सालबाट साकेला नाच थालनी गरिएको हो । माङ्खिम मुलघर, (पूजाघर) निर्माण कार्य चाँडै सुरुआत गरिने अध्यक्ष कल्पना राईले जानकारी दिइन् ।
बेलायत निवासी हजारौं किरात राई तथा अन्य नेपाली समुदायको उपस्थिति रहेको यो वर्षको साकेलामा ११ प्राम्भिक कार्यसमितिले फरक फरक प्रतियोगितात्मक साकेला सिली प्रदर्शन गरेका थिए । कार्यक्रमको अन्तिम चरणमा विशेष कौशल सिली नाच प्रदर्शन गरिएको घोषणा गर्दै आस्फोर्ड केन्टलाई शिल्ड र नगद नेपाली रुपैयाँ ६० हजार पुरस्कार हस्तान्तरण गरिएको थियो ।
महासचिव चन्द्रवती राई र उपमहासचिव, सनविर राई र प्रमिला लाबुङ्ग राईले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।
कथा
किरातहरुको पौराणिक कथाअनुसार राजा पारुहाङ्ग सुन्दर संसार स्वर्गको गाउँमा बस्दथे । एक दिन उनलाई पृथ्वी घुम्न मन लागेर भ्रमणमा निस्के । पृथ्वीमा अचनाक किराती महिला सुम्निमासँगको भेट र त्यो भेटको पहिलो प्रेमको नजर मायालु भावमा झांगिन सुरु हुन्छ । कुनै एक दिन पारुहाङ्गले विवाहको कामना गर्दै सुम्निमालाई कपाल कोर्ने काइयो उपहारको रुपमा हुलाकी दाइमार्फत पठाउँछन्, जुन उपहारलाई केही नसोची सुम्निमाले सहजरुपमा स्वीकार गरिदिँदा त्यो प्रेम वैवाहिक जीवनमा बाँधिन सफल हुन्छन् । किराती राजा पारुहाङ्गको मायाको उपहार सुम्निमाले चार सन्तान दिन सफल हुन्छिन् भने पारुहाङ्गले झांगिदै गएको आफ्नो सन्तानका लागि आहारा खोज्न मुग्लान छिर्ने निर्णय लिन्छन् । पूर्वको दूधकोसी किनारमा आफ्ना सन्तान र जीवन साथी सुम्निमालाई छोडेर पारुहाङ्ग मुग्लान हिँड्छन् । बाँकी अंश क्रमशः
कुन ठाउँमा बढी मात्रमा मनाइन्छ ?
साकेला पर्व राईहरुको महान् चाड हो । यो वर्षमा दुईपटक उँभौली (बैशाखे पूर्णिमा) र उधौली (मङ्सिरे पूर्णिमा)मा धुमधामले मनाइन्छ । साकेला नाच राजधानी काठमाडांै लगायत नेपालको पूर्वी जिल्लाहरु विशेष गरेर पाँचथर, ईलाम, झापा, मोरङ जहदादेखि कानेपोखरी, सुनसरी, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, धनकुटा र संखुवासभा आदि जिल्लाहरुमा बसोबास गर्ने किराती बस्तीहरुमा बढी मात्रामा प्रचलित र लोकप्रिय छ । त्यसैगरी, अन्तर्राष्ट्रियस्तरमा किराती जनघनत्व भएका देशहरु भारत, सिक्किम, दार्जिलिङ, अमेरिका, बेलायत, हङकङ, जापान, कोरिया मलेसिया, कतार, अस्ट्रेलिया र  ब्रुनाईमा समेत अहिले भव्य रुपमा साकेला पर्व मनाउने प्रचलन बढेको देखिन्छ ।
साकेला खासमा के हो ?
नेपालको आदिवासी किरात राईहरुको आफ्नै पहिचान छ । उनीहरुको आफ्नो धर्म, भाषा, संस्कृति रहेको नेपालको कुल जनसंख्यामध्ये लगभग ४ प्रतिशत किरात समुदायले साकेला पर्व मनाउँदै आएको पाइन्छ । वसन्त ऋतुको आगमनसँगै यस धर्तीमा बोटबिरुवाहरुले पालुवा फेर्न थाल्छन् । वन–जङ्गलमा चराचुरुङ्गीहरुले आ–आफ्नो भाका फेर्न थाल्छन् । नयाँ वर्षको आगमनसँगै वैशाखे पूर्णिमादेखि औंसीसम्म किराती गाउँघरका बूढापाकाहरु साथै केटाकेटीहरु ढोल भ्mयाम्टा निकालेर झन्डै १५ दिनसम्म यस पर्वमा रमाउँछन् । वास्तवमा यो पर्व किरातीहरुले खेतीपाती लगाउने समय भएकाले अन्नबाली वा उब्जनी बढोस्, आँधीबेहरी, असिना नपरिदियोस्, अन्नबालीमा रोग नलागोस् भनी किरात राजा, रानी सुम्निमा र पारुहाङ्गसँग बल र शक्तिको आशीर्वाद माग्दै कुखुराको भाले बलिदिएर भूमि पुज्ने चलन चलिआएको पाइन्छ । बालबालिका, वृद्ध सबै आपसमा गोलो घेरा लगाएर विभिन्न जनावर, चराचुरुङ्गीहरुको नक्कल गर्दै साकेला नाच सिली नाच्ने गरिन्छ । विशेष चउरीको पुच्छर (पोमी) र छिर्लिङ (सिलिमा) नाचको मुल्की (सिलीमोपा) ले प्रयोग गर्ने प्रचलन छ ।
साकेलाको भेषभुषा
नाचमा सहभागी पुरुषहरुको पोशाक, खाडीको दौरा सुरुवाल, कोट र ढाका टोपी लगाई, विनायो, मुर्चुङ्गा, लिम्चिङबुङ, मयूर र लुईचेको प्वाख लगाउने प्रचलन छ भने महिलाले छिटको गुन्यू, ढाकाको पछ्यौरी, मखमल वा ढाकाको चोलो र सेतो पटुकी लगाई ढुङ्ग्री, मुन्द्री, बुलाकी, हारी, सिक्काको मालाजस्ता गरगहना लगाउने चलन छ ।

साकेला उभौली बाली लगाउने बेलामा वैशाख पूर्णिमाको दिन र उधौली बाली उठाउने बेला मङ्सिर पूर्णिमाको छेकमा मनाउने गरिन्छ । किरातहरुको मुन्धुम अनुसार १ वर्षलाई दुई भागमा बाडिन्छ (उभौली र उधौली) यसैको रुपमा यो चाड मनाउने परम्परा चलिआएको पाइन्छ । उभौली र उधौली किरात समुदायको मुख्य चाड हो । याक्खाले चासुवा, सुनुवारले फोलफ्यादर, लिम्बुले चासोक तङ्नाम र राईहरुले उभौलीलाई साकेला र उधौलीलाई छौवा भन्ने गरिन्छ ।
यसै सन्र्दभमा अभिभावक र बुद्धिजीवीहरु भन्छन् प्रवासमा रहे पनि आफ्नो धर्म, संस्कृति, संस्कार, परम्परा र चाडलाई मनाउँदै हाम्रा भावी सन्ततिहरुलाई सिकाउँदै लैजानु पर्दछ । स्वदेशबाट टाढाको बस्ती अर्थात् विरानो देशमा रहे पनि आफ््नो संस्कार, संस्कृति र पहिचानलाई जीवित राख्नका निमित्त पनि साकेला पर्व मनाउँदै आएको देखिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!