काठमाडौं । गुठी विधेयकको विरोधमा भएको प्रदर्शनमा सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदन विरोध गरेको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको मंगलबारको बैठकको सुरुमै गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै संसद बैठकमा कांग्रेसका सांसदहरुले विरोध गरेका हुन् ।
उनीहरुले सरकारले जनभावनाविपरित गुठी विधेयक अघि बढाएको र त्यो तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले आइतवार मण्डलामा प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाए ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बैठकको शुरुमै बोल्दै गुठियारहरुले गरेको प्रदर्शनमा सरकारले गरेको दमन र गुठी विधेयकप्रति आपत्ति जनाउँदै सरकारको जवाफ मागेका थिए ।
तर सभामुख कृष्णबहादुर महराले सरकारलाई जवाफ दिन लगाउनुको साटो सत्तापक्षीय सांसद पम्फा भुषाललाई बोल्न समय दिएपछि संसदमा कांग्रेस सांसदहरुले आपत्ति जनाउँदै होहल्ला गरेका थिए ।
सांसद भुषालले गुठीयारमाथि गरिएको हस्तक्षेपको विरोध गरेपनि सभामुख महराले संसदीय पद्धति विपरित गएरसत्तापक्षका सांसदलाई बोल्न दिएको भन्दै कांग्रेस सांसदले आपत्ति जनाएका हुन् ।
राष्ट्रियसभाको बैठक पनि स्थगित
राष्ट्रियसभाको बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले बैठक शुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । सभामा नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आइतबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गर्दा सञ्जीव बज्राचार्य, महेश्वर रञ्जितकारलगायत धेरै जना घाइते भएको भन्दै भत्सर्ना गरे । विधेयक संविधान विपरीत भएको भन्दै सच्याउनसमेत माग गरे ।






