एटा संवाददाता
लन्डन । अल्डरसट भलिबल क्लब (एभिसी) द्वारा आयोजित ‘तेस्रो खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता’ को पुरुषतर्फको उपाधि मोना भलिबल टिमले हात पारेको छ ।
गत आइतबार अल्डरसटस्थित अल्डरउड स्कुलको खेल मैदानमा सम्पन्न खेलमा ग्रिनविच भलिबल परिवारसँग भएको फाइनल खेलमा मोना भलिबल टिम विजयी बनेको हो । त्यस्तै, महिलातर्फको उपाधि भने अल्डरसट भलिबल क्लबले हात पारेको छ । सालिजा भलिबल टिमसँग खेलेको फाइनल खेलमा आयोजक क्लब विजयी भएको हो । पुरुषतर्फको विजयी टिमलाई १ हजार २०० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, उपविजेता टिम ग्रिनविच भलिबल परिवारले ८०० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र पाए ।
पुरुषतर्फ १७ वटा टिमले भाग लिएको खेलको फाइनलतर्फ मोना भलिबल टिमका कबित छन्त्याल म्यान अफ दि म्याच बन्न सफल भए भने मोनाकै प्रविन मल्लले मोस्ट भ्यालुएबल प्लयेलर अवार्ड प्राप्त गरे । त्यस्तै, महिलातर्फ अल्डरसट भलिबल क्लबकी रञ्जना खाँड थापा वेष्ट डिफेन्स, सालिजा टिमकी बिष्णु पुन म्यान अफ दिन म्याच बनिन् भने अल्डरसट भलिबल क्लबकी परीक्षा गुरुङले मोस्ट भ्यालुएबल प्लयेलर अवार्ड पाइन् ।
५ वटा टिमले भाग लिएको महिलातर्फको विजयी टिमलाई ६०० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, उपविजेता सालिजा भलिबल टिमलाई ४०० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।
पुरुष तथा महिलातर्फका विजयी तथा उपविजेता टिमका खेलाडीहरु, रेफ्री, म्यान अफ दिन म्याच, मोस्ट भ्यालुएबल प्लेयर वेष्ट स्पाईकर, डिफेन्स, लिफ्टर, वेष्ट ब्लकर लगायतलाई पीपल ग्रुपका डाईरेक्टर सूर्यप्रकाश गुरुङ, एनआरएनए अध्यक्ष योगकुमार फगामी, तमुधिं यूके अध्यक्ष नन्दजङ्ग गुरुङ, वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, अल्डरसट भलिबल क्लब अध्यक्ष डोल श्रीस, काउन्सिलर प्रवेश केसी, घान्द्रुक समाज यूके अध्यक्ष अर्जुनप्रसाद गुरुङ, क्याप्टेन रोशन गुरुङ, भलिबल प्रशिक्षक स्वर्ग गुरुङ, राजन गुरुङ, हेम गुरुङ, महादेव गुरुङ, चन्दन गुरुङ लगायतले पालैपालो नगद पुस्कार, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरेका थिए ।
अल्डरसट भलिबल क्लबले तेस्रोपटक आयोजना गरेको ‘खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता’ लाई विभिन्न उद्यमी, व्यापारी, व्यक्ति र संघसंस्थाहरुले आर्थिक सहयोग गरेका थिए । सो खेलमा विनोद चन्द र जीवन गुरुङले रेफ्रीको भूमिका निभाएका थिए । नेपालको राष्ट्रिय खेलाडीको रुपमा समेत खेलिसकेकी महिला खेलाडी परीक्षा र रञ्जनाले प्रशिक्षण गर्ने समय पाउने हो भने नेपाली खेलाडीहरु राम्रो खेल्न सक्ने विश्वास व्यक्त गरिन् ।
अल्डरसट क्षेत्रमा बसोबास गर्ने नेपाली युवायुवतीहरुलाई अझ स्वस्थ, तन्दुरुस्त र अनुशासित बनाउने उद्देश्यअनुरुप अल्डरसट भलिबल क्लबको स्थापना गरी प्रत्येक वर्ष खेल आयोजना गर्दै आएको छ । साथै, क्लबले विभिन्न क्लबले आयोजना गर्ने भलिबल प्रतियोगिताहरुमा भाग लिँदै आएको छ । केहीछिन परेको पानी र सोचेभन्दा बढी क्लबको आगमनले खेल सम्पन्न गर्दा राति १० बजेको थियो ।
पीपल ग्रुपका डाईरेक्टर सूर्यप्रकाश गुरुङको प्रमुख आतिथ्य र एभिसीका बिमल गुरुङले संचालन गरेको औपचारिक कार्यक्रमको अन्त्यमा एभिसी अध्यक्ष डोल श्रीसले सबै खेलाडी, टिम, रेफ्री, प्रायोजक, अतिथि लगायत सबैलाई धन्यवाद दिए ।






