व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको हितमा काम गर्नुपर्छ : बोहत गुरुङ

SHARE:

समाजसेवी एवं निवर्तमान अध्यक्ष, लमजुङ समाज यूके
झन्डै १२ वर्षदेखि समाजसेवामा छन्, बोहत गुरुङ । सन् २००७ मा स्थापित लमजुङ समाज यूकेबाट सामाजिक सेवामा प्रत्यक्ष संलग्न बोहत एनआरएनए यूके, घोताने परिवार, घनपोखरा लमजुङ नेपालजस्ता आधा दर्जन बढी संस्थामा क्रियाशील छन् । इमानदारिता, कर्तव्यनिष्ठा, दूरदर्शी र पारदर्शिताका पर्याय बनेका बोहतले धेरैवटा संस्थामा कोषाध्यक्षको भूमिका निभाए । करिब एक महिनाअघि लमजुङ समाज यूकेको अध्यक्षमा विश्वजंग गुरुङ निर्वाचित भएपछि उनी निवर्तमान अध्यक्ष बने । सन् २००५ देखि यूकेमा बस्न थालेका भूतपूर्व गोर्खासमेत रहेका समाजसेवी गुरुङसँग लमजुङ समाज यूकेको नेतृत्वकालको अनुभवलगायत विषयमा एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको कुराकानी ।

समाजसेवामा कहिलेदेखि लाग्नुभयो ?
सन् २००५ को डिसेम्बरमा यूके आएको थिएँ । त्यसपछि लमजुङ समाज यूके २००७ मा स्थापना भयो । स्थापनाकालदेखि नै लमजुङ समाजमा छु । सबभन्दा सानो पददेखि कार्यसमितिमा रहेँ । पहिलो कार्यकालमा मिडिया र बेव अपडेटरको काम गरेँ । दोस्रो कार्यकालमा कोषाध्यक्ष, तेस्रो कार्यकालमा उपाध्यक्षको जिम्मेवारी वहन गरेँ भने चौथो कार्यकालमा अध्यक्षता गर्ने मौका मिल्यो । झन्डै एक महिना हुन लाग्यो तीन वर्षे कार्यकाल सकेर निवर्तमान अध्यक्ष बनेको छु ।

तपाईं भूतपूर्व गोर्खा पनि हुनुहुन्छ, समाजसेवामा लाग्नुपर्छ भन्ने सोच कहिलदेखि आयो ?
पल्टनमा हुँदासम्म पल्टनले लुकआफ्टर गरिदियो । जब अवकाश भएर नेपाल गएपछि जागिर खोज्नेक्रममा हङकङ पनि गएँ म । त्यहाँ चार वर्ष जति काम गरेँ । त्यसपछि २००४ मा जति पनि भूपूहरुलाई यूके आउने अवसर पाएपछि म पनि परिवारसहित २००५ मा मुभ भएँ । यूकेमा जागिर खोज्दाखोज्दै अलि टाढा न्यूबरी पुगेँ । त्यतै बस्दै थिएँ अलि एक्लो फिल भयो । सोमबारदेखि शुक्रबारसम्म काम गर्थें । शनिबार, आइतबार नेपाली समाजभन्दा अलि टाढा गएर बस्दा एक्लो महसुस भयो । त्यसो गर्दागर्दै लमजुङ समाजको गठन भयो । लमजुङ समाजमा लाग्नुपर्छ, समाजमा लागेर एक अर्कालाई परेको दुःख सेयर गर्नुपर्छ, मद्दत गर्नुपर्छ भन्ने फिल भयो । त्यसपछि सुरुको दिनदेखि अहिलेसम्म लगातार समाजमा हिँडिराखेको छ । लमजुङ समाज मुख्य ठाउँ भयो । अरु अरु ५/७ वटा संघ संस्थामा आबद्ध छु ।

कुन कुन संस्थामा आबद्ध हुनुहुन्छ तपाईं ?
सबभन्दा पहिला घनपोखरा लमजुङ नेपालको सुरुमा पाँच वर्ष कोषाध्यक्ष भएँ । मेरो घर पनि घनपोखरा हो । त्यसपछि हाम्रा अग्रजहरुले चलाइरहनुभएको छ, म लमजुङ समाजमा बिजी भएकोले । त्यसपछि पद लिइनँ । तर, सधैं सहभागी हुन्छु कार्यक्रमहरुमा, सँगै हुन्छु । तर पद लिइनँ । पल्टने भएकोले नम्बरीमा ८५ सालको भर्ती हो । इन्टेक १९८५ भन्ने हाम्रो संस्था छ, जुन एकदमै फेमस संस्था हो । पहिलो गोर्खा कप पनि हाम्रै संस्थाहरुले जितेको थियो । सुरुमा नम्बरीहरुको संस्था लिड गर्ने इन्टेक १९८५ नै हो । त्यसमा आबद्ध छु । त्यसपछि २ जीआरको मेम्बर भएकोले त्यसमा सदस्य छु । गुरुङ भएपछि तमुधिंमा हुनै पर्‍यो । २००५ देखि तमुधिंको कुनै पनि मेन कार्यक्रम छुटाउदिनँ । अहिले ५/७ वर्ष भयो लाइफ मेम्बर भएको । ३/४ वर्ष भयो सल्लाहकार पनि बनाइदिनुभएको छ । त्यसपछि एनआरएनए यूकेको चहलपहल बढ्दै आयो । एनआरएनएमा दिनुपर्ने सहयोगहरु पनि हामीले दिँदै आएका छौं । जसकारण एनआरएनएले पनि एड्भाइजरमा राखेको छ । त्यसपछि घोताने संस्था खुल्यो । घोताने परिवारमा पनि कोषाध्यक्षको काम गर्दैछु ।

लमजुङ समाज यूकेको स्थापना कुन उद्देश्यले गर्नुभएको थियो ?
सुरुमा यूकेको न्यूबेरी बस्दा मलाई के फिल हुन्थ्यो भने, एक परिवार यहाँ बसेका छौं, परिवारलाई केही भयो भने म टेककियर गरौंला । म केही भएमा फ्यामिलीले के गर्छ होला भन्ने पीर लाग्यो । त्यसपछि लमजुङे अग्रजहरु भेट हुनेक्रम भएपछि २००६ को सुरुमा बिजीडब्लुएसमा हामी ४५ जना लमजुङेहरु भेला भएर लमजुङ समाज गठन गर्ने मिटिङ भयो । सुरुमा मनबहादुर घले बाबा बित्नुभयो रिडिङमा । दुःख परेको बेला मद्दत चाहिँदोरहेछ भन्ने फिल भयो । त्यसपछि पूर्ण गुरुङ बित्नुभयो, त्यसरी दुःखबाट सुरु भएको संस्था हो, लमजुङ समाज यूके । हामी विदेशमा छौं । दुःख पर्दाखेरी मद्दत गर्नुपर्छ एकअर्कालाई पर्दा सहयोग गर्नुपर्छ भनेर स्थापना भएको हो । संस्था स्थापना भएपछि पुरानै उद्देश्यमा मात्रै नअडेर परिस्थिति परिवर्तन भएअनुसार कला, संस्कृति, भेषभूषा, हाम्रा रीतिथिति सम्वद्र्धन गर्नुपर्छ । भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ भन्ने कुराहरु आए ।

मेरो कार्यकालसम्म आइपुग्दा कला, संस्कृति, भेषभूषा, सबैलाई सम्वद्र्धन गर्ने भन्ने कुराहरुलाई र नेपालको पर्यटनलाई समेत प्रमोट गर्ने हिसाबले तमुधिं र नेपाली दूतावास लन्डनले नेपाली मेला रन गरेका थिए । अहिले एनआरएनए यूके पनि लागेको छ । एनआरएनएले पनि दुई वर्षदेखि एनआरएनए कप दिनु भा’छ । सुरुको एक/दुई कार्यक्रममा जाँदा एम्बेस्डर कप अरुले उचाल्दा मलाई फिल हुन्थ्यो कि लमजुङ समाजले यो कप उचाल्नुपर्छ । त्यसपछि हामी समाजमा कुरा गर्‍यौं । नेपाली मेला गर्नुपर्छ भनेर सल्लाह गथ्र्यों । कतिपय साथीले त्यत्रो दुःख कसले गर्ने, कसरी गर्ने, कहाँ सक्छ र भन्ने पनि गर्नुहुन्थ्यो । हामीले चाहिँ गर्नुपर्छ, कला संस्कृति भेषभूषा हाम्रोमा छ भनेर लागिपर्‍यौं । मेरो कार्यकाल तीन वर्षमा ह्याट्रिक गर्न सफल भयौं । अध्यक्षको काम भनेको भिजन, प्लानिङ, प्रिपरेसन इत्यादि राम्रो हुनुपर्छ । त्यसअनुरुप समाजभित्रका बुद्धिजीवीहरुलाई पहिचान गरेर, राम्रा कोअर्डिनेटर छनोट, सही समयमा छानेर हामीले नेपाली मेलामा भाग लिने गर्‍यौं । त्यसैगरी हाम्रोमा नाच गुरुहरु, नाचनी, हरेक खालका व्यक्तिहरु लमजुङमा भएको भएर उहाँहरुको मद्दतबाट आ–आफ्नो ठाउँबाट सबैले राम्रो काम गरिदिनुभएकोले, कोअर्डिनेटरले एकदमै राम्रो गरिदिनुभयो । २०१८ को नेपाली मेलाको संयोजन सल्लाहकार पूर्णराज गुरुङ, परशु गुरुङ, तारा गुरुङ र ईन्द्रजित गुरुङले, २०१७ मा परशु गुरुङ, सल्लाहकार पूर्णराज गुरुङ, तारा गुरुङ र ईन्द्रजित गुरुङले र २०१६ मा सल्लाहकार पूर्णराज गुरुङ, परशु गुरुङ, सल्लाहकार तारा गुरुङ र ईन्द्रजित गुरुङले गर्नुभएको थियो । उहाँहरुको टिमलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । त्यस्तै, नाच गुरुहरुले एकदमै राम्रो सिकाइदिनुभयो । नाचनीहरुले भाग लिइदिनुभयो । समाजबाट नेपाली मेलामा ३ सय जनाले भाग लिनु भनेको पनि सानो कुरा थिएन । ३/ ४ वर्षका बच्चाहरुदेखि ९४ वर्षका वृद्धवृद्धाहरु भाग लिन्थ्यौं । त्यसो गरेर ह्याट्रिक गर्न सफल भयौ । जसको लागि म सबै समाजका सदस्यहरुलाई एकदमै धन्यवाद दिन चाहन्छु । कोअर्डिनेटर, नाचगुरु, नाचनी, आमा समूहलाई प्रत्यक्ष मद्दत दिनुहुने, भाग लिनुभएका मेम्बरहरुलाई एकदमै धन्यवाद दिन चाहन्छु । बधाई पनि दिन चाहन्छु । यसको श्रेय सबै जिल्लावासीलाई जान्छ । सबैको कलेक्टिभ एफोर्टले गर्दा सक्सेस भएको हो । यसले लमजुङको मात्र नभएर तमुधिं र नेपाली मेलाको पनि गरिमा बढाएको जस्तो लाग्छ । बेला बेलामा एम्बेसीको कार्यक्रममा जाँदा एम्बेस्डरको मुखबाट सुन्ने गर्छ, नेपालमा देख्न नपाइएको चिज यहाँ देख्न पाइयो । कुटोकोदालोदेखि घुम, हलो, जुवा, गोठमा हिँडाल्नु, ढाकारदेखि लिएर नेपाली मेलामा २०/२२ वटा अरु देशका राजदूतहरु आउँदा उहाँहरुलाई एक्प्लेन गर्न नामहरु नभेटिएको राजदूतले भन्नुभयो । गर्व लाग्छ, संसारभरि लमजुङ र तमुधिंलाई चिनाउन नेपाली मेलामा लमजुङ समाजले ठूलो भूमिका खेलेको मैले महसुस गरेको छ ।

नेपाली मेलामा गाउँघरकै परिवेश देखाउने भिजन कसरी आयो तपाईंमा ?
मैले मुटुमाथि हात राखेर भन्दा नेपाली मेला जित्नुपर्छ भन्ने लमजुङ समाजको लक्ष्य हो । समाजका बुद्धिजीवीसहित सबै बसेर यो प्लान गरिएएको हो । एकजना व्यक्तिले मात्र श्रेय लिने कुरा आउँदैन । जिल्लामा भएका कुराका लागि सबैलाई श्रेय जान्छ । गएको साढे २ वर्षसम्म मेरै सिटिङ रुममा कप सजाउन पाउनु सौभाग्य हो । निवर्तमान भएपछि ती कपहरु नयाँ अध्यक्षलाई ह्यान्डओभर गरेँ । अहिलेका अध्यक्ष विश्वजंग गुरुङ एकदम सक्रिय हुनुहुन्छ । समाजको घर नभएको भएर मेरै सिटिङ रुममा सजाय । जसलाई त्यो कप जित्ने सपना थियो, त्यो कप सजाउन पाउँदा गौरव फिल भयो ।

त्यसबाहेक तपाईंको कार्यकालमा के गर्नुभयो ?
लमजुङ समाज यूकेले वार्षिक दुई कार्यक्रम गर्छ । लमजुङ समाज भनेको लमजुङमा पुर्ख्यौली घर भइ हरेक जातजातिको संस्था हो । साविकका ६१ गाविसका हरेक जातजातिको साझा संस्था हो, लमजुङ समाज यूके । त्यसकारण हामीले सुरुमा भन्यौ, दसैं नमानौं, ल्होसार पनि नमानौं । किनभने सबै जातजाति समाजमा भएकाले । सबै जातको चाड समावेश गर्न गाह्रो हुन्छ भनेर विन्टरमा एउटा पार्टी (बफेट स्टाइलको), समरमा बिबिक्यू पार्टी गरौं भनेर सुरु गरेका हौं । त्यो सुरुको दिनदेखि चल्दै आइरहेको छ । त्यो अहिले समरको पार्टीमा युथहरुलाई आकर्षण गराउने भनेर युथ र भेट्रानहरुको फुटबल हुन्छ, छेलो हुन्छ । लेडिज भलिबल हुन्छ । त्यो पार्टी जिल्लावासी मात्रै भेला भएर गर्छौं ।

विन्टरमा चाहिँ राजदूत, छिमेकी जिल्लाका संघ संस्थाका अध्यक्षहरुलाई पनि निमन्त्रणा गरेर पार्टी मनाउने गर्छौं । लमजुङ समाज यूके, यस्तो सौभाग्य छ कि यो संस्थाको प्यार्टन (संरक्षक) हाम्रै लमजुङमा जन्मनु भएका, संसारमा चीरपरिचित प्रोफेसर डा सूर्यप्रसाद सुवेदी क्वीसिओभीज्यू हुनुहुन्छ । उहाँजस्तो व्यक्तिको अन्डरमा काम गर्न पाउनु पनि एउटा सौभाग्यजस्तो लाग्छ मलाई । उहाँ यूकेको महारानीको पनि एड्भाइजर हुनुहुन्छ । संसारमा लयरहरुमध्ये सबभन्दा राम्रो चार संस्था हुँदोरहेछ । त्यो चारजनामध्ये एक हुनुहुन्छ उहाँ । २०१७ को डिसेम्बरमा संस्था १० वर्ष पुगेको अवसरमा भव्य रुपमा वार्षिकोत्सव मनाउने अवसर पायौं । त्यही प्रोग्राममा हामीले पहिलो पटक जिल्लाबाट लमजुङकै चार जना कलाकार ल्याएका थियौं । ख्यातीप्राप्त कलाकारहरु बिमाकुमारी दूरा, मञ्जु विक, धनबहादुर गुरुङ र नायिका आश्मी गुरुङलाई ल्याएका थियौं । उहाँहरुको धमकेदार प्रस्तुतिको साथमा टेन एनिभरसरी सेलिब्रेसन भयो । त्यसपछि हामीले तीनवटा मस्र्याङ्दी साँझहरु गरेका थियौं । त्यो १० औं वार्षिकोत्सव हामी जिल्लावासीले मात्रै मनायौं । ख्यातीप्राप्त कलाकारहरु, यूकेमा भएका अरु कलाकारहरुलाई पनि मौका दिनुपर्छ भनेर फानबरो, फेल्थाम्मा र डोबरमा साँझहरु गरेका थियौं । मस्र्याङ्दी साँझहरुमा पनि मैले कोअर्डिनेटरहरु खटाएका थियौं । १० औं वार्षिककोत्सवको संयोजन समाजका वरिष्ठ उपाध्यक्ष विश्वजंग गुरुङले गर्नुभएको थियो । फानबोरोको मस्र्याङ्दी साँझको पनि कोअर्डिनेसन विश्वजंगले गर्नुभएको थियो । फेल्थाममा समाजसेवी दिलमाया गुरुङ र उहाँका श्रीमान् नन्द गुरुङ, श्रीप्रसाद गुरुङ र कन्यप्रसादले गर्नुभएको थियो । डोबरमा क्या. दीपक घलेले गर्नुभएको थियो । त्यसपछि वानआर जीआर लमजुङेहरुले एकदमै साथ दिनुभएको थियो । उहाँहरु सबैजनालाई एकदमै हार्दिक धन्यवाद दिन चाहन्छु । उहाँहरुको सहयोगबिना सफल हुने थिएन । हाम्रो निमन्त्रणामा आउनुभएका चार जना कलाकारहरुलाई यूकेमा भएका धेरै संस्थाले सम्मान गरेका थिए । त्यसकारणले हरेक संघ संस्थालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

त्यस्तै, नेपालबाट आएका कलाकारहरुलाई खाना र बस्नको व्यवस्था गराइदिनुहुने सल्लाहकार शेरबहादुर सुनार, उपाध्यक्ष चन्द्रबहादुर गुरुङ, कोषाध्यक्ष सुरेन्द्र घले र सल्लाहकार क्याप्टेन देव घलेज्यूलाई धन्यवाद दिन चाहन्छु । र, लमजुङका भेंडीखर्के साइँला (दिर्घराज अधिकारी)को सालिक निर्माण सहयोगार्थ सल्लाहकार शेरबहादुर सुनारज्यूले २ हजार ९५५ पाउन्ड संलकन गरी समाजलाई हस्तान्तरण गर्नुभएकोमा उहाँलाई पनि धन्यवाद दिन चाहन्छु ।
त्यतिखेरै लमजुङ समाजले लमजुङ दर्पण स्मारिका पनि निकालेको थियो । त्यसका लागि सबै स्पोन्सरज्यूहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । अरु सहयोगीलाई पनि धन्यवाद ।

तीन वर्षको नेतृत्वकालमा जति काम गर्नुभयो धेरै राम्रो भयो, अरु गर्न नपाएका कामहरु पनि छन् कि ?
सबै कुरा कभर गर्न मैले अझै पनि भ्याएको छैन । सुरुदेखि नै नेपालमा कुनै विपत्ति वा दुःख पर्‍यो भने पनि हामीले मद्दत गर्दै आएका छौं । कृष्ण दाइको दोस्रो कार्यकालमा एड्भाइजर एकेन्द्र गुरुङको संयोजकत्वमा तमु संग्रहालय बेंसीसहरको च्यारिटी कार्यक्रम गर्‍यौं । जसमा हामी ३७ लाख ७६ हजार उठाएर बेंसीसहरमा पहिलो तला उठाउन सफल भयौ । सबै सहयोगीको नाम त्यहीं मार्बलमा प्रिन्ट गरेर राखिएको छ । त्यसपछि नेपालमा महाभूकम्प आयो । त्यसमा पनि एकदमै जिल्लालाई टार्गेट गरेर मद्दत गर्‍यौं । जसमा झन्डै ३० हजार पाउन्ड उठेको थियो । त्यसमध्येमा २५ लाख रुपैयाँको सोलार प्यानल ठाउँ ठाउँमा बाँडियो आमा समूहको भवनतिर, गाविस भवनतिर, गाउँ गाउँको हस्पिटलतिर । १५ लाख बराबरको सिम्रौन गाउँमा इलम देवी प्राथमिक विद्यालय बनायौं । त्यस्तै बाढी, पहिरोबाट पीडित हुँदा पनि हामीले मद्दत गर्दै आएका छौं । महाभूकम्पको बेला प्रधानमन्त्री राहत कोषमा हामीले मद्दत गर्‍यौं । १ हजार ९९ पाउन्ड दूतावासमार्पmत पठायौं भने एनआरएन प्रोजेक्टमा पनि ३ हजार १ सय ८ पाउन्ड तमुधिंमार्फत पठायौं ।

हाम्रोमा आमा समूह पनि छ । आमा समूहले प्रत्येक वर्ष कहिले मन्दिरमा, कहिले गुम्बामा, कहिले स्कुलमा, कहिले गाउँ गाउँको आमा समूहहरुलाई डोनेसन पठाउने गर्छन् । गएको केही महिनाअघि मात्रै धुर्मुस सुन्तली फाउन्डेशनलाई मात्रै ६ लाख ५० हजार समाजका अध्यक्ष जुना गुरुङ र उपाध्यक्ष माला घलेले बुझाएर आउनुभएको छ । त्यस्तै लमजुङ समाजले पुदीको हाइस्कुललाई १२ लाख पठाएको थियो । समग्रमा भन्नु पर्दा यो १२/१३ वर्षमा जिल्लालाई एक करोडभन्दा बढी मद्दत गरिसकेका छौं ।

मैले देखेको यूकेको सबैभन्दा राम्रो र ठूलो कार्यक्रम नेपाली मेला हो । अर्काे फेमस गोर्खा कप । दुई/तीन वर्षदेखि गोर्खा कप हेर्दा जित्नेहरुमा लमजुङका वेस्ट प्लेयरहरु देखेको छु । मलाई लागिरहेको छ, वेस्ट प्लेयर लमजुङेहरु भेला गराएर टिम बनायौं भने गोर्खा कप पनि फेरि लमजुङले ल्याउन सक्छ । ती कुरा गएको वार्षिक साधारणसभामा राखेको छु । गएको गोर्खा कपमा लमजुङ समाजले पहिलोचोटि भाग लिएको थियो । यसपटक भेट्रानले भाग लियो । भविष्यमा युथ टिमले पनि भाग लिएर गोर्खा कप जित्ने सम्भावना देखेको छु । तर सजिलो छैन । राम्रो टिममा भएका खेलाडीहरु भर्खरै जम्दै गरेको टिममा आउन चाहँदैनन् । जसरी नेपाली मेलामा ९, १० वर्ष दुःख, खर्च, प्रयास गर्‍यौं, त्यसैगरी गर्‍यौं भने गोर्खा कप पनि लमजुङ समाजले जित्न सक्छ । एउटा ब्रह्मले देखेको । एउटा लिडर भएपछि एउटा भिजन, दूरदर्शी क्रियट हुँदोरहेछ । जुन कुराहरु सर्वसाधारणले त्यत्ति टाढा देख्दैन । ५, ७ वर्ष दुःख गर्‍यो भने गोर्खा कप लमजुङ समाजले जित्न सक्छ । तर, मैले मात्रै भनेर हुँदैन । सबैको कलेक्टिभ एफोर्ट, तनमन धन लगाउनुपर्‍यो । गएको १३ वर्षमा तन, मन, धन, बुद्धि, विवेक सबै लगाएँ । नेपाली मेला जितियो । अब गोर्खा कप जित्न सकिन्छ होला भन्ने एउटा फिलिङ भएको छ । यो काम अब आउने अध्यक्षज्यूहरुको भिजनमा पनि भर पर्छ । म निवर्तमान अध्यक्ष भइसकेको मान्छेले सल्लाह, सुझाव दिन सकिन्छ ।

तपाईंहरु वर्षौदेखि आफ्नो संस्कार, संस्कृति बचाउन लागिरहनुभएको छ, तर नयाँ पुस्ता छोराछोरी, भाञ्जाभान्जीहरु लागेका छन् कि छैनन् भन्ने जिज्ञासा छ नि ?
नेपालीमा मेलामा ४ वर्षका बालबच्चादेखि ९४ वर्षीय वृद्धवृद्धाहरु लागेका थियौं । त्यो हिसाबले सबै आएका छन् । तर, डे टु डेको मिटिङ, पार्टीहरुमा सबै युथहरु आउँदैनन् भन्ने जनगुनासो सबै संघ संस्थाहरुमा छ । उनीहरुका आफ्नो समय हुन्छ, समय भइसकेपछि आउँछन् । युनिभर्सिटीका बच्चाहरु पढ्दैछन्, पार्टटाइम काम गर्छन् । उनीहरु आफ्नो क्यारियर बनाउने धुनमा छन् । उहाँहरु एकैचोटी थुप्रै आएनन् भनेर गुनासो गर्नु जरुरी छैन । हरेक अभिभावकले आफ्नो बालबच्चालाई इन्स्पायर आपैंmले गर्ने हो । हामी संघ संस्थामा हिँड्ने लिडरहरुले युथ एक्टिभ भएन भन्छ । तर, उसको आप्mनै बच्चालाई एक्टिभ गराउन सकेको छैन । त्यो गल्ती युथलाई भन्न मिल्दैन । त्यो हामी आपैंmले लिनुपर्छ । हामी सबैले आफ्नो बच्चालाई इन्स्पायर गरायौं भने युथ सबै अटोमेटिक्ली इन्स्पायर हुन्छ । युथहरु जब उनीहरुको उमेर पुग्दै जान्छ । उनीहरुको विवाह हुन्छ, बालबच्चा हुन्छन् । प्रबलम आउँदै जान्छ । उनीहरु अटोमेटिक्ली समाजमा आउँछन् जस्तो लाग्छ । तर, हामी आफैं जागरुक हुनुपर्छ । आफ्नो बच्चालाई आफैंले ल्याउनुपर्छ ।

भनेपछि नेतृत्वमा जुन ग्याप छ, त्यो पूरा हुनेमा ढुक्क हुनुहुन्छ ?
हुन्छ । मेरो एउटीमात्रै छोरी छिन् । उनलाई मैले प्रत्येक कार्यक्रममा लगेको छु । मेरो बूढीलाई लगेको छु । मैले जसरी अरु सबै लिडरहरुले आप्mना बालबच्चा लान्छन् भने डेफेनेट्ली सबै आउँछन् । किनभने मैले मेरो परिवारलाई, मिसेस, छोरीलाई लमजुङ समाजको हरेक कार्यक्रममा, तमुधिंको झन्डै ९९ प्रतिशत कार्यक्रममा मैले साथमै लिएर जाने गरेको छु । जहाँसम्म लाग्छ, सबै अग्रजहरुले त्यसो गर्नुभयो भने यो असफल हुन्छ । अरुको कुरा काट्नुभन्दा आपैंmबाट सुरु गरौं ।

संघ संस्थाको नेतृत्व लिन र कामलाई थाती राखेर भए पनि सामाजिक काममा लागिरहन तपाईंलाई कहाँबाट इनर्जी आउँछ ?
आफ्नो देशभन्दा टाढा बसेपछि देशको माया लाग्दोरहेछ । जब ४० को वरिपरि पुगेपछि ती कुराहरु अटोमेटिक्ली आउने कुरो रहेछ । आफ्नो देश छोडेर आएको, देशको मायाले गर्दा आफ्नो बचपन जहाँ बितायौं, त्यो यादहरु ताजा नै हुन्छ । त्यसैले देशको माया, आफ्नो कला, संस्कृति, सबै चिजको माया भएपछि विदेशमा अरु आएर गरिदिँदैनन् । विदेशमा हामी आफैंले आफैंबाट सुरु गर्नुपर्छ भनेर लागेको हुँ । समाजसेवा गर्नु भनेको भन्नलाई सजिलो, गर्न त्यत्ति सजिलो छैन । तन, मन, धन, वचन सबै दिन सक्नुपर्छ । समाजसेवा गर्छु भन्ने, धन, बल, बुद्धिको थुप्रो भए पनि चाहिएको ठाउँमा युटिलाइज्ड गर्न सक्दैनौं भने तीनको केही काम छैन । आफूमा भएको बल, धन, बुद्धि जे जे छ, ती सबै लगाएर व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको हितमा काम गर्नुपर्छ भन्ने सोचसहित अगाडि बढेको हुँ म । त्यसले गर्दा लमजुङ समाज यूके यहाँसम्म आउन सफल भएको हो । अनि यूकेमा भएका संस्थाका अग्रजहरुलाई यही निवेदन गर्न चाहन्छु, समाजसेवा गर्छु भनेर पद लिएर, काम नगर्ने कसैले नगरिदिनु होला । समाजसेवा गर्छु भनेपछि तन, मन, धन, वचन सबै लगाएर गर्‍यो भने त्यो संस्थाको हित हुन्छ । र, हामी सबैको, नेपालीको हित हुन्छ ।
अन्त्यमा,
मैले भूल्नै नहुने, मेरा हरेक पाइला, हरेक समाजसेवामा साथ दिन्छिन्, श्रीमतीले । एकदमै भाग्यमानी ठान्दछु । उसलाई एकदमै धन्यवाद । र, लमजुङ समाजलाई यहाँसम्म ल्याउन मद्दत दिनुहुने सम्पूर्ण लमजुङे अभिभावहरु, बुद्धिजीवीहरु, आमा समूह, लमजुङ समाजका नवनियुक्त अध्यक्ष विश्वजंग गुरुङलाई पनि उहाँको कार्यकाल सफलताको हार्दिक शुभकामना । आमा समूहको नेतृत्व पनि भर्खर चेन्ज भएको छ । अहिले लक्ष्मी बहिनीले अध्यक्षको जिम्मेवारी लिनुभएकोले उहाँको पनि कार्यकाल सफलताको हार्दिक हार्दिक शुभकामना दिन चाहन्छु । आमा समूहकी निवर्तमान अध्यक्ष जुना बहिनीले पनि एकदमै राम्रो काम गर्नुभयो, उहाँलाई पनि हार्दिक धन्यवाद ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!