हावाहुरी प्रभावितलाई डुबानको पिरलो

SHARE:

बाराबाट फर्केर डण्ड र मनोज
बारा । फेटा गाउँपालिका वडा नं. ६ पुरैनियामा अपरान्हको तापक्रम ४० डीग्री सेल्सीयस पुग्छ । डुबानमा पारेर समस्या पार्ने वर्षा पनि सुरु हुने बेला भएको छ ।

पुरैनिया गत चैत १७ गते आएको विनाशकारी हावाहुरी ‘टोर्नाडो’को केन्द्र विन्दु हो– जुन गाउँमा १० जना मानिसले ज्यान गुमाए । र, यहाँका अधिकांश नागरिकका घर भत्किए । ती पीडितहरु अहिले पालमुनि दैनिकी चलाइरहेका छन् ।
जब बिहानको घाम छिप्पिन थाल्छ, तनाव सुरु हुन्छ यहाँ रहेका हावाहुरी पीडितलाई– आज गर्मी छल्न के गर्ने भनेर । गर्मीबाट जोगिन उनीहरु अनेक उपाय खोज्छन् । तीमध्येका एक हुन् तबोज अन्सारी । तबोज दिउँसोपख पालमुनि बस्न सक्दैनन्, गर्मीले । उनी आफ्ना परिवारका साथ नजिकै रहेको रुखको छहारीमा बस्छन् । साँझ घाम अस्ताएसँगै पालमुनि फर्कन्छन् । र, खुल्ला आकाशमुनि रहेको चुल्होमा खाना पकाएर खान्छन् ।

अर्का पीडित हुन् हुसयन अन्सारी । उनको दैनिकी पनि तबोजको जस्तै छ– दिनभरी रुखको छहारीमा गएर गर्मी छल्ने, साँझपख पालमुनि बास बस्ने । उनीहरुका बालबालिका बिहान स्कूल जान्छन्, दिउँसो अभिभावकसँगै गर्मी छल्न रुखको छहारीमा पुग्छन् ।

हावाहुरी पीडित तबोज र हुसयन अन्सारीको पीडा समान छ । तर, तबोजको अनुहारमा कान्ति छारहेको छ भने हुसयनको अनुहारमा निराशा थपिदै गएको छ । कारण– तबोज अबको केहीं दिनमै पालको बसाईबाट स्थायी घरमा सर्दैछन् । तर, हुसयनको घर बन्ने नबन्ने निश्चित छैन । उनी नजिकिँदो वर्षामा पालमुनि बस्नुपर्ने बाध्यताको हिसाब गरेर बसिरहेका छन् ।

तबोज र हुसयन त प्रतिनिधि पात्रमात्र हुन्, पुरैनियामा धेरै छन् यस्ता समस्या भोग्नेहरु । ४० डीग्रीको तापक्रम, नजिकिँदो वर्षा, पालमुनिका बसाईले दिइरहेको पीडा त छँदैछ, त्योभन्दा सरकारबाट पुनःनिर्माण हुने घरहरुको सूचीमा आफ्नो नहुँदा चिन्ताले पिरोल्नेहरु धेरै छन् ।

धेरैवटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएपनि सरकारले तयार पारेको पुनःनिर्माण गर्नुपर्ने घरहरुको सूची कम भएपछि गाउँमा घर पुनःनिर्माण हुने र नहुनेहरुबीच ध्रुवीकरण हुँदै गएको छ । स्थानीयहरुका अनुसार यो समस्या अहिले सामान्य देखिए पनि यसले समाजमा द्वन्द्व निम्त्याउने खतरा छ ।

के हो खास समस्या ?
हावाहुरी पीडितहरुको सरकारप्रतिको असन्तुष्टि व्याप्त छ । स्थानीय जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीप्रतिको आक्रोस यति छ की वडा कार्यालय, गाउँपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ गरेर त्यस्तो असन्तुष्टि पोखिसकेका छन् ।

फेटा ६ पुरैनियाका वडाध्यक्ष जाखिर हुसेन भन्छन्, ‘यहाँ कतिबेला के हुने हो थाहा छैन, मलाई सरकारबाट सुरक्षा चाहियो ।’ वडाध्यक्षको आक्रोसपूर्ण अभिव्यक्तिले पनि प्रष्ट पार्छ, हावाहुरी पीडित क्षेत्रमा झगडाका लागि आगोको फिलंगो खसालिएको छ, त्यो कतिखेर डढेलो बनेर निस्कन्छ भन्न सकिँदैन ।

खास समस्या के रहेछ भने जब हावाहुरीले ठूलो बितण्डा मच्चायो, त्यो बितण्डाबाट के कति क्षति भयो भन्ने विभिन्न निकायबाट अध्ययन भयो । विभिन्न निकायले गरेको अध्ययन मध्ये एउटा मात्रै मिल्यो –पुरैनिया गाउँबाट हावाहुरीका कारण १० जनाले ज्यान गुमाएको । बाँकी घरको क्षतिको विवरण कसैको मिलेन । जस्तै, नेपाल प्रहरीले गरेको अध्ययनमा पुरैनिया गाउँमा ७९ वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भयो । पछि यस गाउँबाट ६८ वटा घर पूर्ण क्षतिग्रस्त भएको सरकारी विवरण आयो । गाउँपालिकाको अध्ययनमा परेका घरमध्ये १९ वटा छुटेको भन्दै गाउँपालिकाले ८८ वटा घर पूर्ण क्षतिग्रस्त भएको रिपोर्ट जिल्ला प्रशासन कार्यालयमा पुर्‍यायो ।

यसबीचमा प्रमुख जिल्ला अधिकारी, प्रहरीका अधिकारीहरु र जनप्रतिनिधिहरु क्षतिको वास्ताविकता बुझ्न पटक पटक पीडित क्षेत्र पुगे । विभिन्न ढंगले अध्ययन गरे । तर, प्रमुख जिल्ला अधिकारीको पुनः भ्रमणपछि ३२ वटा घरमा मात्रै पूर्ण क्षति पुगेको सरकारी तथ्याङ्क आयो र ३६ वटा घरको नाम हटाइए । त्यसपछि सुरु भयो, यहाँ अनेक विवाद ।

‘यहाँ क्षति धेरै भएको छ । विभिन्न हिसाब निस्किए । अन्तिममा ३२ वटाको मात्रै नाम आयो, यसले गाउँमा पुरै विवाद भइरहेको छ,’ वडाध्यक्ष हुसेन भन्छन्, ‘गाउँमा पुरै झगडा होला जस्तो भइसक्यो ।’

को सक्कली को नक्कली ?
पुरैनियाका पीडितहरु सबै पालमा छन् । उनीहरुबीच आरोप प्रत्यारोप छ –खास हावाहुरी पीडित को हो ? सान अली ठकुरार्ई भन्छन्, ‘हावाहुरी आयो, हामी पीडामा छौँ । तर यहाँ घर बनाउँदा पीडित भएकाहरुको नाम आएन, तर पीडित नभएकाहरुको पनि नाम आयो ।’ उनले कतिपय एउटै व्यक्तिको दुई पटक पीडित भनेर नाम आएको समेत बताए । वास्तविक पीडितले घर पाउनुपर्ने उनको भनाइ छ ।

ठकुराई जस्ता धेरै छन्, जसले धेरै पीडितको नाम घर बन्नेका सूचीमा नभएको तर कतिपय पीडित नै नभएकाहरुको नाम समावेश भएर आएको भनेर आक्रोस पोख्ने । उनीहरुको बढी आक्रोस वडाध्यक्षप्रति छ । तर वडाध्यक्ष भन्छन्, ‘यसमा मेरो कुनै दोष छैन । म चेपुवामा परिरहेको छु । पीडित सबैले घर पाउनुपर्छ भन्नेमा म प्रष्ट छु ।’

सक्कलीले पीडित को हो नक्कली पीडित को हो ?
स्थानीय नाम लिन चाहँदैनन् । पुनः छानवीन हुनुपर्ने माग उनीहरुको छ । स्थानीयहरुका अनुसार कतिपय पीडितको नाम छुटेकै भए पनि कतिपय पीडितले बठ्याँई गर्दा अप्ठ्यारोमा परेका रहेछन् ।
जस्तै, जब ६८ जनाको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको र उनीहरुको घर पुनःनिर्माण हुने भनेर एउटा सूची सार्वजनिक भयो, कतिपय घर नै नभत्किएकाले पनि त्यो सूचीमा आफ्नो नाम देखेपछि घर पूर्ण रुपमा भत्काएछन् । कतिपयले गोठलाई पनि घरको रुपमा लेखाएछन् । तर स्थानीयको दावी के छ भने, प्रमुख जिल्ला अधिकारीले नाम काटिदिए ।

वडाध्यक्ष भन्छन्, मलाई सुरक्षा चाहियो
फेटा–६ पुरैनियाका वडाध्यक्ष हुसेन हावाहुरी पीडितहरुको घरको संख्यामा विभिन्न सूची आउँदा गाउँमा झगडा हुन्छ कि भन्ने चिन्तामा छन् । ‘वडा कार्यालयहरुमा ताला लागेका छन् । यहाँ गाउँमा जुनबेला जे पनि हुन सक्ने अवस्था छ, मलाई धम्की आइरहेको छ,’ उनी भन्छन्, ‘मलाई सुरक्षा चाहियो । म सुरक्षाको माग गर्दछु ।’ वडाध्यक्ष हुसेन पीडित सबैको घर पुनःनिर्माण हुनुपर्ने बताउँछन् ।

गर्मीबीच घर बनाउँदै नेपाली सेना
तराईंमा अत्याधिक गर्मीका बीच नेपाली सेनाले पुरैनिया गाउँमा २३ वटा घर निर्माण गरिरहेको छ । स्थानीयहरुको अनुसार नेपाली सेनाका जवानहरु विहान ५ बजेदेखि नै घर निर्माणमा जुट्छन । ११ बजेसम्म काम गर्छन् । ११ बजेबाट ३ बजेसम्म आराम गर्छन् । त्यसपछि साँझ ६ बजेसम्म काम गर्छन् ।

‘घर हाम्रो हो तर उहाँहरुले बनाइ राख्नुभएको छ । हामी पानी मात्रै दिन्छौँ, खाजा खानुपर्ने भयो भने पनि चाउचाउ लिएर पकाउन दिनुहुन्छ पकाई दिएको पनि पैसा दिनुहुन्छ,’ हदिस अन्सारी भन्छन्, ‘एकदमै राम्रो काम गरिराख्नु भएको छ ।’

वर्षाअघि २३ मात्रै घर, बाँकीको बसाई पालमै
यहाँका २३ घर परिवार छिट्टै नयाँ घरमा सर्नेछन् । नेपाली सेनाले सुरुमा २३ वटा घर निर्माण गरिरहेको छ । ती घर निर्माण सम्पन्नपछि मात्रै अन्य घर निर्माणमा सेना लाग्नेछ ।‘हामी अब छिट्टै नयाँ घरमा सर्नेमा आशावादी छौँ । र, खुशी छौँ,’ हदिस अन्सारी भन्छन् । तर, धेरै पीडित भने यो वर्षामा पालमै दिन रात बिताउनुपर्ने छ । ‘पहिलो चरणमा निर्माण भइरहेका घरहरु वर्षा अघि सकिन्छ । तर दोस्रो चरणमा वर्षा अघि सम्भव छैन,’ वडाध्यक्ष हुसेन भन्छन् ।

हावाहुरी पीडित पुरैनियाँको यो एक उदाहरण मात्रै हो । गत वैशाख १७ गते आएको हावाहुरीबाट पीडितहरुको अवस्था यस्तै छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!