‘मर्दालाई मलामी बाँच्दालाई जन्ती’ नेपाली समाजमा चलेको यो भनाइ, म जस्तो ढल्कँदो उमेरका मान्छेलाई खुब लागू हुने रहेछ ।
आज, २४ मे २०२६ आइतबार फेरि मलामी जाँदैछु । नेपालीहरूको बाक्लो बसाई रहेको हङकङमा हरेक हप्ता कसै न कसैको मलामी गैरहनु पर्छ ।
विदेश आएपछि आफै घरमूली भएर पनि होला बेलायत र हङकङ दुवै देशमा अनगिन्ति मलामी गइयो/गइँदैछ, फरक यति हो बेलायतमा प्राय: शनिबार गइन्थ्यो आइतबार रेस्ट गरिन्थ्यो । हङकङमा त आइतबार मात्र छुट्टी हुन्छ । त्यसैले, आइतबार कि त प्रोग्राम, कि त मलामीमा भइन्छ ।
पढ्न बाँकी पुस्तकको अध्याय जस्तै जिन्दगी, कुन अध्यायमा के हुन लेख्या छ थाहै नहुने ? जीवनका पानाहरूमा छापिएका अनेक अध्यायहरू जम्मै भोगेर मर्न पाउनु नै आयु पूरा हुनु हो कि ? खोई थाहा भएन । थोरै अध्याय जिएर जानेहरूले अलिक बढी नै स्तब्ध बनाउँदा रहेछन् । यो पालीको मलामी पनि स्तब्ध तुल्याउने खालकै थियो । मनमा सदाभन्दा फरक महसुस भैरहेको थियो ।
मन तेजले बेग मार्दै २०४५,४६ र ४७ सालतिरको धरानमा फर्कंदैथ्यो । सदन स्कुलको त्यो तीन वर्ष झल्झली आँखा अगाडि नाचिरहेथ्यो । श्री शिक्षा सदन माध्यमिक स्कुलको त्यो ठूलो साइन बोर्ड । स्कुल अगाडि लमतन्न सडक, जहाँ सदन स्कुलका ‘युनिफर्म’ सेतो टि–शर्ट र निलो पैन्ट र मेडी लगाउने विद्यार्थीहरूको लामबद्ध हिँडाई वरिपरि बस्ने दोकानेहरूलाई गज्जबकै रमिता हुने गर्थ्यो ।
त्यही हूलमा हुन्थे लाले, सन्जिव, म, निर्मला, रिता, कल्पना, देउकला, किरण, बालकृष्ण आदि । हूलका हूल विद्यार्थीहरूमा पनि फरक पर्सनालिटी बोकेका लाहुरेका छोराछोरीको सान झन् बेग्लै हुने गर्थ्यो ।
त्यस हूलबाट अलग हामी पहाडे विद्यार्थीहरूको खासै मूल्य रहँदैन थियो । तैपनि हामी चुपचाप त्यै बाटो हिँडिरहन्थ्यौ । स्कूल गेट अगाडि दारे भैयाको ठेलाबाट आउने मिठो आलु निम्की, चटपटे, छोला र पाचाकको बास्नाले हामीलाई टिफिनको समय पर्खन पनि हम्मे–हम्मे बनाउन्थ्यो । टिफिनको घण्टी बज्न नपाउँदै दारे भैयाको ठेला वरिपरि लाले र सन्जिवका हूल हुन्थ्यो। हामी किन हो किन उनीहरूको हूल छेऊ जान डराउँथ्यौं र अर्को भैयाको ठेलामा खाजा खान्थ्यौं । निर्मलाभन्दा अगाडि म रितासँग हिड्थें ।
बिहान १० बजेको घन्टी लाग्नुअघि पालैपालो स्कुल प्रवेश गर्थ्यौं । त्यसबेलाका मिल्ने साथी निर्मला र म जस्तो लाले र सन्जिव पनि मिल्ने साथी थिए । हामीजस्तै उनीहरू पनि हरेक दिन सँगै स्कुल जाने, आउने गर्थे । पिटी खेल्ने लामो त्यो प्रांगण, अनि माथि बरन्डामा उभिएर राष्ट्रिय गान गाउने म, कल्पना गुरुङ र निर्मला राई । हाम्रो पछिपछि स्वरमा स्वर मिलाउँदै पहिलो लाइनमा उभिएर राष्ट्रिय गान गाउने साथीहरूको हूलमा तिनै लाले र सन्जिव, अग्रपंत्तिमा हुन्थे ।
बाबाको सर्भिसले गर्दा हामी तीन वर्ष सिरहा जिल्लाको चोहर्बा भन्ने ठाउँमा बस्यौँ । मैले कक्षा ७ जिल्लास्तरीय परीक्षा त्यहींबाट पास गरेर कक्षा ८ देखि सदन स्कुल आएकी थिएँ । त्यसैले पनि म धरानेहरूको नजरमा पहाडे विद्यार्थी थिएँ । झलक्क हेर्दा लाले र सन्जिव सप्रेका उतिसका रूखजस्ता सर्लक्क, सर्लक्क परेका अग्ला थिए । ड्रेस मिलाएर लगाउँथे, स्मार्ट देखिन्थे, उनीहरूको स्कुल ड्रेस सफा र धारिलो गरी आइरन गरिएको हुन्थ्यो । जेहोस् उनीहरू लाहुरेका छोरा, छोरी हुन् भन्ने कुरो उनीहरूको लवाईखुवाईबाटै चिनिन्थ्यो । हेर्दै गतिला, लाले र सन्जिव केटीहरूको आँखामा झ्वाट्ट परिहाल्ने खालका ।
तर, उनीहरूले भने बालै नदिने । लाले मान्छेसँग त्यति नबोल्ने अन्तर्मुखी स्वभावको थियो, टक्क टक्क गरेर हिँड्थ्यो, रुपमा सन्जिव अलिक हेन्डसम कारण लालेको अनुहार हल्का बिफरले बिग्रिएजस्तो तर सुहाउँदिलो नै थियो । चलनचल्तीको भाषामा भन्नु पर्दा उनीहरू लाइन छोक्रा, बोर्डिंग स्कुलबाट सरकारी स्कुल सरेर आएका । हामी गाउँको सरकारी स्कुलबाट बल्लतल्ल पास भएर बा–आमालाई धरान पढ्छु भनि फकाउँदा, फकाउँदा गरेर आएका ननलाहुरेका सन्तान । उनीहरूसित बोल्ने आँटै गर्न नसकिने ।
त्यसबेला हामी हल्का विभेद महसुस गर्थ्यौं तर त्यस्ता कुरासित मतलब राख्ने सुझबुझ पनि थिएन र राखिएन पनि । हामीलाई उनीहरूले वास्ता गर्दैनथे । क्लासमा सरले सोधेको बेला जानेको कुरोको जवाफ दिन पनि डर लाग्थ्यो । किनकि हामी बोलेको सुनेर उनीहरू हाँस्थे । र आफू हाँसोको पात्र बनिने डरले चुपचाप बसिन्थ्यो । त्यसबेला लाग्थ्यो मेरो मात्र बाबा किन लाहुर नगएको होला ? कास ! म पनि लाहुरेको सन्तान हुन पाएको भए धरानमै घर हुन्थ्यो र पहाडे भनेर कसैले विभेद गर्दैनथे ।
अहिले सम्झँदा लाग्छ त्यो मेरो कस्तो स्टुपिड सोचाई ? म निर्मला राईसँग हिँड्न थालेपछि लालेसँग हल्का बोलचाल सुरु भयो । म पहाडमा हुर्केकी मान्छे साइनो केलाउन सिपालु थिएँ, कताकताबाट नाता गाँस्दै लालेलाई काका भन्न थालें । तर, त्यो समय भनेको सेन्टप सकेर स्कुल छाड्ने बेला भैसकेको थियो । हामी २०४७ सालमा लागू भएको नयाँ शिक्षा प्रणालीको पहिलो ब्याज एसएलसी परीक्षार्थी थियौं ।
एकैचोटी ५,६ कक्षाका किताबबाट अनौठो–अनौठो प्रश्नहरू आएका थिए एसएलसीमा । जुन साना क्लासमा पढेर पनि भूलिसकेका थियौं । तिमीहरू अनलक्की हौ, घरमा गएर साना साना भाइबहिनीहरूसित हिसाब सिक्नु उनीहरूको किताब हेर्नु प्रश्न त्यहींबाट आउन सक्छ भन्नुहुन्थ्यो सरहरू । नभन्दै त्यस्तै भयो पनि।
हाम्रो परीक्षा केन्द्र फुस्रे मा.वि परेको थियो । अन्य साथीहरू कुन कुन कोठातिर परे थाहा भएन ? तर लाले काका र म एउटै कोठामा परेका थियौं । हाम्रो पढाई ठिक ठिकैको मात्र थियो । एकदिन अंग्रेजी हो कि गणितको हो चिट मलाई बोक्नु लाउनु भो । परीक्षाको समयमा एक पटक शौचालय जान पाइन्थ्यो । त्यहीबेला चिट साटासाट गर्ने सल्लाह भाथ्यो ।
म निस्किएँ केहीछिनपछि लाले काका पनि आयो । उसले सारिसकेको चिट मोजाबाट झिकेर दियो, मैले सारिसकेको चिट चुल्ठोबाट झिकेर दिएँ । तर, भित्र पस्दा पस्दै ढोकैमा सरले मलाई चेक गर्यो र चिट खोस्यो । केहीछिनपछि लाले आयो उसलाई पनि चेक गर्यो तर चिट भेटेन । म पहिलो बेन्चमा परेकोले सबै हेरिरहेकी थिएँ ।
मेरो चिट त खोस्यो सरले भनेर परीक्षा सकेपछि भने । लाटी ! कस्तो साथै लिएर पसेको त ? बाहिरै घोकेर कण्ठ पारेर चिट बिना पो छिर्नु पर्छ त । फिस्स हाँस्दै भन्यो । अनि अघि नै भन्नु पर्दैन त ? भनेर रिसाएँ म । पास हुन्छौ चिन्ता नगर उसले फेरि ढाडस दियो । सम्झना भएअनुसार त्यो हाम्रो अन्तिम परीक्षा थियो ।
बाबा आमाहरू सिराहाबाट फिदिम सरिसक्नु भएकोले परीक्षा सक्नासाथ बाबा लिन आउनु भो र म धरानबाट गएँ । त्यसरी छुटेपछि साथीहरूसँग फेरि भेट भएन । अहिले जस्तो सामाजिक संजाल, फोन केही थिएन ।
त्यसरी छुटेका हामी, धेरै वर्षपछि एक्कासी हङकङमा भेट भो, र मैले सबै धराने साथीहरूको हालचाल सोधें । उसले सन्जिव, देऊकला, अञ्जना र रिता, गीता हङकङ आएका छन् भन्यो । रिता र गीता दिदीबहिनी हुन् । पछि सबैसँग भेट पनि भो तर, लाले काकासँग फेरि भेट भएन । कोही कोहीबेला साथीहरूसँग भेटमा सोधिन्थ्यो।
साथीहरूलाई सोध्दा लाले त काम गर्दैन । कुलतमा फसेको छ । जेठी श्रीमतीसँग छुट्यो एउटा छोरा छ तर आमासँगै छ भन्थे । सोच्थे त्यस्तो स्मार्ट मान्छे, लाहुरेको छोरा कसरी हङकङ आएर बिग्रियो होला ? हङकङ जस्तो कमाउने ठाउँमा आएर पनि समयलाई चिन्न सकेनछ जस्तो लाग्थ्यो । दु:ख लाग्थ्यो । समय बुझ्न नसके जिन्दगी नरक बन्छ । स्थिति नियन्त्रण बाहिर हुन्छ अनि मान्छे आफ्नै जिन्दगीसँग हारेर यसरी अल्पायुमै जानु पर्छ ।
लाले काकाको जीवनमा पनि त्यस्तै भएको थियो । एक भाइ लाहुरेको छोरो हाम्रो स्कुलकै स्मार्ट विद्यार्थी हङकङ आएर बाटो भुलेको बटुवा जस्तो भएछ । कर्मथलोको यात्रा सजिलो कहाँ हुन्छ र ? अत्यन्तै कठिन हुन्छ । पाइला, पाइलामा जोखिम मोल्नु पर्छ । दु:खसँग जुध्नु पर्छ एक, एक कन्जिको निमित्त कति भनाइहरू सहनु पर्छ ।
आफ्नो देशबाट रित्तो आएर अर्काको देशमा घरजम बसाल्नु सानो कुरो कहाँ हो र ? मन देशमा, शरीर परदेशमा, न भाषा मिल्छ, न पुर्खौली सम्पत्ति र जग्गा जमिन हुन्छ ? संघर्षका अनेक पहाड उक्लिँदै बल्लतल्ल कमायो परिवार भन्यो, आफ्ना–आफन्त भन्यो पैसाले पुग्ने होइन ?
मान्छेले दिर्घकालीन सोंचको व्यवस्थापन गर्न नसके हामी विदेश आउनुको कुनै अर्थ रहँदैन । वर्तमानमा रमाउनेहरूले मात्र अरुको भविष्य निर्माण गरिरहेका हुन्छन् । जस्तैः उनीहरूले इन्जोय गरेको पैसा त व्यापारीहरूको खातामा जम्मा हुने हो । आफै रित्तिएर व्यापार व्यवसाय उकास्ने काम मात्र हो। मोजमोस्ती नगर्ने होइन, गर्नुपर्छ तर लिमिटमा । बुढा पाकाले भने जस्तो ‘घाँटी हेरेर हाड निल्नु पर्छ’, ‘गर्ने भन्ने हनुमान जस् पाउने ढेडू’ पक्कै पनि यी उखानहरू तेसै बनेका होइनन् । यो कुरोलाई मनन गरौँ। आफ्नै बलबुताले भ्याएसम्म काम गरेर खाउँ। म त यसै भन्छु सबै युवा युवतीहरूलाई।
दुःख कसको जीवनमा आउँदैन र ? तर दु:खलाई गुरू मानेर अथवा दुःखबाटै केही सिकेर निरन्तर अघि बढ्नु पर्छ अनि मात्र धर्तीमा हामी आउनु र रहनुको अर्थ रहन्छ । आज, यो चिल्लो काठको बाकसभित्र चीर निद्रामा सुतेको शव उहीं मेरो स्कूले साथी लालेको हो। उहीं कोद्रे अनुहार, सलक्क परेको नाक, मेरो चिट खोसिएको कुरो सुनेर खिस्स हाँस्ने ओठ सबै जस्ताको तस्तै छ । मात्र आँखा बन्द छ । केहीबेरमा विधुतीय शव गृहमा पुगेपछि खरानीमा परिणत हुने शवको वरिपरि फूल बोकेर मलामीहरू एक–एक फन्को घुम्दैछन् ।
‘ऊ त्यो पल्लोपट्टी मुख छोपेर रुने कान्छी बुडी हो । यतापट्टी छोरासँग बस्ने जेठी बुढी हो, छेऊछाऊमा केही दिदी बहिनीहरू यसरी खसखुस गरेको सुनेर सोधें ए अनि लालेको दुईटी श्रीमती ? अनि जेठीसँग किन छुटेको ? मैले सोधें । ढंग भए पो रुन्घ्छ त । एकजना अधबैंशे महिलाले भनिन् । ए बिचरा कान्छी बुढी त बेस्सरी रुँदैछिन धेरै माया गरेको रहेछ ? मैले भनेँ ।
के को माया डोमेस्टिकमा आएको होला डिपेण्डेन आइडीको लोभले आएको नि !नत्र यस्तो कामै नगर्ने मालेसित कोई आउँछ ? अर्कीले भनिन् । लौ अनि आइडी त दिएको होला नि बिहे गरेपछि ? मैले भनेँ । दिएको होला तर अब भिसा सकिएपछि सक्यो । श्रीमान् नै नरहेपछि भिसा दिने होइन इमिग्रेसनले पहिलोले भनिन् ।
म लालेको जीवनमा घटित घटनाहरूको इतिवृतान्त सुनिसकेर छक्क पर्दै अन्तिम बिदाइको निमित्त फूल चढाउने लाइनमा उभिएँ । शवको अगाडि कान्छी भनिने केटी मुख छोपेर अझै रुँदै थिइन् । जेठी भनिने श्रीमती छोरासँग बसिरहेकी थिइन् ! हामी मलामी हातमा फूल बोकेर लाइनमा उभिएका थियौं । वरिपरि न कुनै ठूल्ठूला संघ संस्थाका नाम अंकित श्रद्धान्जली बुकेहरू थिए, न कुनै चुकचुकाउने आफन्तहरू ! वस, चुपचाप बेवारिसे तरिकाको एउटा लासलाई किराँत याक्थुङ चुम्लुङ हङकङले सहयोग उठाएर सदगत गर्दै थियो ।
जानु काम्बाङ्ग लिम्बु
ताप्लेजुङ्ग हाल हङकङ।






