काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले सरकारको काम–कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । शनिबार संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुले वर्तमान सरकार इतिहासमै बलियो भएपनि जनअपेक्षा पूरा गर्ने दिशा समात्न नसकेको भन्दै सरकारको आलोचना गरेका हुन् ।
बैठकमा बोल्ने अधिकांश सांसदहरुले परम्परागत कार्यशैली परिवर्तन गर्न नसक्दा सरकार प्रभावकारी हुन नसकेको भन्दै तत्काल सरकार सन्चालनको कार्यशैली परिवर्तन गर्न आग्रह गरेका थिए ।
उनीहरुले पर्याप्त छलफल गरेरमात्रै विधेयक ल्याउन पनि सरकारलाई आग्रह गरे । बैठकमा सांसदहरुले पार्टी, सरकार र सदनलाई बलियो बनाउन र प्रयाप्त छलफल गरेर विवादरहित ढंगले विधेयक ल्याउन सरकारलाई सुझाव दिएको बैठकपछि संसदीय दलका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
प्रमुख सचेतक गुरुङकाअनुसार सांसदहरुका सुझाव सुनेपछि संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक असन्तुष्टि आन्तरिकरुपमै व्यक्त गर्न तर जथाभावी पार्टी र सरकारको सार्वजनिकरुपमा आलोचना गर्दै नहिँड्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सरकारबाट केही कमी–कमजोरी भएको हुनसक्ने भन्दै आगामी दिनमा गल्ती सुधारेर प्रभावकारी ढंगले अघि बढ्ने बताएको प्रमुख सचेतक गुरुङले जानकारी दिए ।
यसअघि, गएको सोमबारको बैठकमा पनि सांसदहरुले अहिलेकै गति र मतिले समृद्धिमा पुग्न नसकिने भन्दै समृद्धिको राष्ट्रिय नीति नै बनाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका थिए ।
सरकारका निर्णयहरु, संसदमा दर्ता भएका विधेयकहरु, पार्टी सन्चालन पद्धतिलगायतका विषयमा सांसदहरुका फरक–फरक धारणा आउन थालेपछि एकरुपता ल्याउन भन्दै बैठक बोलाइएको थियो ।






