काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।
ओलीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । सेन्टरले प्रेस विज्ञप्ति जारी गर्दै ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।

प्रधानमन्त्रीको सघन कक्षमा उपचार भइरहेको छ । प्रधानमन्त्री ओली स्वास्थ्य समस्या देखिएपछि मंगलबार बिहान उक्त सेन्टरमा गएका थिए । ओलीलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतलगायत संलग्न छन् । प्रधानमन्त्री ओली केही दिन अस्पतालमै बस्नुपर्ने भएको छ।
चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ। यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलसिस गरिएको थियो ।
प्रधानमन्त्री ओली मिर्गौलाका बिरामी हुन्। उनको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न आइतबार साँझ ग्रान्डी अस्पतालमाचौथोपटक हेमोडायलसिस गरिएको थियो।
गत साउनदेखि नै मिर्गौला सम्बन्धी समस्याले गर्दा प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा छन् । उनको रगतमा क्रिएटिनिनको स्तर वृद्घि भएपछि मिर्गौलाको सम्भावित समस्या आकलन गर्दै करिब ६ महिनायता कुनै न कुनै रूपमा उपचार जारी छ ।
के हो एपेन्डिक्स ?
एपेन्डिक्स हाम्रो शरीरमा ठूलो आन्द्रा र सानो आन्द्राको बीचमा भएको एउटा अंग हो । यसैमा संक्रमण भएर पेट मर्ने गरी दुखेपछि ‘एपेन्डेसाइटिस’ रोग भएको मानिन्छ ।
पहिले चिकित्सकहरू एपेन्डिक्सलाई नचाहिने अंग मान्थे । तर पछिल्ला अध्ययनमा, स्वस्थ शरीरका लागि एपेन्डिक्ससमेत आवश्यक अंग हो भन्ने पत्ता लाग्यो। यो अंगमा पाचनलाई सघाउन राम्रो ब्याक्टेरिया जम्मा हुन्छ । लामो रोगले गर्दा ब्याक्टेरियाको कमी हुँदा यही एपेन्डिक्सले पाचन प्रणालीलाई ठीक राख्छ ।
एपेन्डिक्समा संक्रमणको यकिन कारण हालसम्म थाहा भएको छैन । आन्द्रामा संक्रमण, पेटमा खराब ब्याक्टेरियाको वृद्घि आदि कारणले एपेन्डिक्स नलीमा अवरोध पुग्ने वा सुन्निने भएर एपेन्डिसाइटिस हुन्छ ।
के हुन्छ ?
एपेन्डिसाइटिसको समस्या भएकाहरूमध्ये ३०–४० प्रतिशतमा एक्कासि नाइटो दुख्न थाल्छ । यो पीडा ६–७ घण्टापछि दाहिनेतिरको तल्लो पेटमा सर्छ ।
‘यो खास एपेन्डिेसाइटिसकै दुखाइ हो,’ डा. रमेशसिंह भण्डारी भन्छन्, ‘कसैकसैको सीधै दाहिने पेटसमेत दुख्न थाल्छ।’ यो दुखाइ हरेक व्यक्तिमा फरकसमेत हुन सक्छ, किनभने एपेन्डिक्सले फरकफरक अंगलाई छुने गरेको छ । यसैले प्राय: चिकित्सकहरू एपेन्डिसाइटिस पहिचान गर्न अलमलिन्छन्।
हिँड्दा, कुरा गर्दा अझ दुख्छ । यो दुखाइसँगै बिरामीलाई खान मन नलाग्ने, वान्ता हुने, ज्वरो आउने हुन्छ । एपेन्डिसाइटिस बढ्दै जाँदा कामज्वरोसमेत आउँछ । यस्तो लक्षण ८० प्रतिशत बिरामीमा देखिन्छ ।
गर्भावस्थामा एपेन्डिक्स पेटको माथिल्लो भागमा बस्छ । यसैले त्यस्तो बेला यस्तो पीडा पेटको माथिल्लो भागमा हुन सक्छ।
दुई प्रकारका शल्यक्रिया
एपेन्डिसाइटिसको शल्यक्रिया दुई प्रकारले गरिन्छ । पेटलाई चिरेर वा ल्याप्रोस्कोपिक विधिले सानो प्वाल पारेर । हाम्रो मुलुकमा ८०–९० प्रतिशत शल्यक्रिया चिरेरै हुने गरेको छ । धेरै सामान नचाहिने, जहाँ पनि गर्न सकिने भएकोले यो शल्यचिकित्सकले सबैजसो संरचनामा गर्न सक्छन् ।
ल्याप्रोस्कोपिक विधिले गरिने शल्यचिकित्सामा आधुनिक उपकरण चाहिन्छ । पेटमा ३–४ प्वाल पारेर एपेन्डिक्स झिक्न पेटमा क्यामेरा र औजार पठाइन्छ । यस्तो शल्यक्रियाले छिटो स्वास्थ्य लाभ हुन्छ । कम दुख्छ, पेटमा सानो दाग हुन्छ।






