
काठमाडौं । बुधबार दिउँसो ३ बजे सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नं को बसमा यात्रा गरेका राप्ती गाउँपालिका–९ का प्रशान्त सुवेदी सिटमा बसेको केही समयमै निन्द्रामा परे । यात्रा गर्दा प्राय निदाउने सुवेदी नरपानीमा तब मात्र ब्युँझे जब उनी सवार बस सडकबाट खस्यो । गाडी एक भर्ल्याङ तल खसेपछि उनका आँखा खुले । झ्याल नजिक बसेका सुवेदी हत्तपत्त हामफाली बच्न सफल भए । उनले हेर्दा हेर्दै बस सडकबाट सयौँ मिटर तल खस्यो ।
हामफाल्दा उनी भुइँमा बजारिए । ज्यान बचाउन सफल रहे पनि पूर्णरूपमा सकुशल रहन भने सकेनन् । उनको करङ र हात ‘फ्र्याक्चर’ भएको छ । चोटपटक पनि लागेको छ । अहिले काठमाडौँको बिएण्डबी अस्पतालमा उपचार गराइरहेका सुवेदीले आफूले ज्यान बचाउन सफल भए पनि आफूसँगै यात्रा गरेका १९ जनाले ज्यान गुमाउँदा निकै दुःख लागेको बताए । “ठूलो दुर्घटनाबाट जोगिएर नयाँ जीवन पाएँ”, सुवेदीले भने, “घाइते भए पनि आफै हिँडेर सडकसम्म आएको थिएँ ।”
सुवेदीकी श्रीमती सुजताले श्रीमान्लाई जीवित देख्न पाएकामा निकै खुसी लागेको बताए । “दुर्घटनाको खबर पाएपछि उहाँको मोबाइलमा फोन गर्दा ट्राफिकले फोन उठाए”, उनले भने, “निकै रोएँ, आत्तिएँ तर भेटेपछि मात्रै मन हल्का भयो ।” प्रभु लाइभ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक सुवेदी कार्यालयको कामले सन्धिखर्क पुगेर फर्कँर्दै हुनुहुन्थ्यो । दुर्घटनामा घाइतेमध्ये उहाँको मात्र काठमाडौँमा उपचार भइरहेको छ ।
ज्यान गुमाउने सबैको सनाखत
दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले टेलिफोनमा जानकारी दिए ।
ज्यान गुमाउनेमा
सन्धिखर्क–७ डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई
५४ वर्षीय बलराम भट्टराई
सात वर्षीया मोनिका खड्का
१८ वर्षीया माया पुरी
सन्धिखर्क–२ की
५९ वर्षीया सीताकुमारी नेपाली
भूमिकास्थान–१० का ५४ वर्षका छविलाल गैरे
भूमिकास्थान–९ की ५० वर्षीया सीता घिमिरे
५० वर्षीया विष्णुमाया गैरे, २२ वर्षीय शैलेश थापा
भूमिकास्थान–७ का ५१ वर्षीय मेघनाथ जैसी
सितगङ्गा नगरपालिका–१ की १४ वर्षीया मञ्जु विक
सितगङ्गा–७ कल्लेरीका ४८ वर्षीय लोकबहादुर दर्जी
हरिबहादुर दर्जी, सितगङ्गा–२ का ३८ वर्षीय सवारीधनी सन्तबहादुर बस्नेत, छत्रदेव गाउँपालिका–८ का ४२ वर्षीय कृष्णबहादुर सुनार, गुल्मी दाने घर भई भैरहवा गैडहा–७ बस्ने ३२ वर्षीय चालक वसन्त भनिने ओमबहादुर थापा, गुल्मी धुर्कोट गाउँपालिका–२ का सशस्त्र प्रहरी बल २७ नं गण रुपन्देहीमा कार्यरत प्रहरी जवान २७ वर्षीय राजकुमार महत, कपिलवस्तु वाणगङ्गाका तीनमहिने बालक शोभाखर पोखरेल र वाणगङ्गा–८ चपरगाउँकी २७ वर्षीया सीता बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
घाइतेको विभिन्न ठाउँमा उपचार
बसमा सवार ३९ जनामध्ये २० जना घाइते भएका छन् । घाइते हुनेमा सन्धिखर्क–५ का ४२ वर्षीय विष्णुबहादुर अधिकारी, सन्धिखर्ककै ६० वर्षीय निमबहादुर विक, सन्धिखर्क–६ का तीन वर्षीय रिजन कुँवर, खाँचीकोटका एक वर्षीय गणेश पुरी, सन्धिखर्क–६ की २३ वर्षीया सपना कुँवर, सन्धिखर्क–२ की अमृता पौडेल भट्टराई रहेका छन् ।
यस्तै पाणिनी गाउँपालिका–७ का ३५ वर्षीय विष्णु विक, भूमिकास्थान–९ का २५ वर्षीय जीवन विक, सन्धिखर्क–५ वाङलाका ३७ वर्षीय हुमबहादुर अधिकारी, सन्धिखर्क–८ का ३२ वर्षीय कमल मुखिया, सन्धिखर्क–४ की २३ वर्षीया सरस्वती भट्टराई, सन्धिखर्क–४ कै १५ वर्षीय अङ्कित थापा, कपिलवस्तु वाणगङ्गाकी २४ वर्षीया विमला पोखरेल, तीन वर्षीय स्पर्श पोखरेल, सन्धिखर्क–१ की तीन वर्षीया एन्जिला भट्टराई, छत्रदेव–७ का १९ वर्षीय लोकनाथ पाण्डे घाइते भएका छन् ।
गम्भीर घाइतेमध्ये अधिकांशको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ भने सामान्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
अपडेट….
काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १:३० बजे छुटेको लु २ ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिए । मृत्यु हुनेमा ११ पुरुष र सात महिला रहेको सहायक प्रजिअ बेल्वासेले बताए ।
दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए ।
अपडेट ………..
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको छ । सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् । अहिलेसम्म १० जनाको घटनास्थलमा नै मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए ।
घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी छ । घाइते सात जनालाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए। घाइतेको उद्धार जारी रहेको छ ।
बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ ।






