एटा संवाददाता
लन्डन । नेपाली समुदाय बेलायतमा सक्रिय तमुधिं यूकेले तमु (गुरुङ) हरुको महान् पर्व तमु ल्होछारको तयारीमा जुटेको छ ।
गत आइतबार १ डिसेम्बर २०१९ का दिन मिचेटस्थित तमुधिं भवनमा बैठक बसी ल्होछारको तयारी थालिएको हो ।
बैठकमा तमुधिं युकेका वरिष्ठ उपाध्यक्ष एवं ल्होछार संयोजक हित काजी गुरुङले ५१ सदस्यीय ल्होछार वर्किङ्ग कमिटी गठन गरिएको जानकारी गराउँदै ल्होछारलाई भव्य रुपमा सफल बनाउनुपर्नेमा जोड दिए । उनले पावर पोइन्ट प्रिजेन्टेशन दिँदै वर्किङ्ग कमिटीले खेल्नु पर्ने भूमिकाबारे जानकारी गराएका थिए । कार्यक्रममा ल्होछारलाई भव्य रुपमा सफल बनाउनु पर्नेमा जोड दिँदै सहभागीहरुले विभिन्न सल्लाह र सुझावहरु दिएका थिए ।
तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव तुलाराम गुरुङले बैठक सञ्चालन गरेका थिए ।