काठमाडौ । पश्चिमी वायुको प्रभावले काठमाडौं लगायत नेपालभर चिसो बढेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि चिसो बढ्दा देशैभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा बिहानै देखि पानी समेत परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले देशभर बदली हुने र विभिन्न स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार गत बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले नेपालमा मौसम बदली, हिमपात र वर्षा भएको हो । महाशाखाले अबको तीन दिन यसको प्रभाव रहने जनाएको छ । आइतबारदेखि भने यसको प्रभाव क्रमशः घट्दै जानेछ ।
उता, हिमाली भेगका प्रायजसो जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हुम्लामा दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् ।
सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा आजदेखि एकसाथ सञ्चालन भएको वार्षिक परिक्षामा परिक्षार्थीले बाहिर हिमपात हुँदा कक्षाकोठाभित्र चिसोले काम्दै परीक्षा दिनुपर्ने बाध्यता भए ।
आज पहिलो दिन सञ्चालन भएको वार्षिक परीक्षामा कक्षा १ र २ मा अध्ययन गर्ने विद्यार्थीले वार्षिक परीक्षा आगोको सहायताले परीक्षा दिएका छन् ।
कक्षा १ मा २५ विद्यार्थी रहेका छन् भने कक्षा २ मा १२ विद्यार्थीले आगोको नजिक बसेर परीक्षा दिएका छन् । बालमन्दिर माविका शिक्षिका पार्वती रावतका अनुसार हिमपातमा सहभागी विद्यार्थीका लागि अन्य वैकल्पिक उपाय नहुँदा आगो बालेर पालैपालो विद्यार्थीलाई आगो तपाउँदै लेख्न लगाउने गरेको बताए ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी समस्या बनाएको छ । त्यसैगरी, कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात शुरु हुँदा हवाई उडान दुई दिनदेखि अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतबाट बिहान ७:०० बजेदेखि हुम्लामा उडान गर्दै आएका तारा, सीता र समिट एयरलाइन्सका उडान प्रभावित भएका छन् । यहाँको तापक्रम माइनस ६ डिग्रीमा झरेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ ।






