
काठमाडौं । तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ । चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले जानकारी दिनुभयो । उनीहरुले कुकर बम विष्फोट गराएको अनुसन्धानमा देखिएको उनले जानकारी दिए ।
“व्यक्तिगत कारणले बम राखेको हुनसक्छ, विप्लव समूहले दशैँका बेला चन्दाका लागि भनेर पत्र पनि पठाएको रहेछ, पैसा नदिएपछि यो घटना घटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ”, प्रहरी नायब उपरीक्षक कार्कीले भने ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको थियो । स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उहाँका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो भने सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा ज्यान गएको छ ।
विष्फोटमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् । डिएसपी कार्कीले घरको भित्री गेटमा बम राखेको र प्रहरीले बम डिस्पोजल टोलीलाई बोलाएर ठाउँ सुरक्षित राख्दाराख्दै विष्फोट भएको जानकारी दिए ।
स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले झोला चलाएकाले विष्फोट भएको भनेर विभिन्न सञ्चारमाध्याममा आएका समाचारको भने उनले खण्डन गर्दै प्रहरीले बम छोएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बमभित्र फलामका टुक्रा (किला) समेत राखेर पड्काएको पाइएको जानकारी दिए ।
अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता
गृहमन्त्रीले रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने बताएका छन् ।
घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको उक्त घटना आततायी भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत उक्त घटनाले आफू स्तब्ध भएको जनाएका छन् । “यस प्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याइछाड्ने सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु”, फेसबुकमार्फत उनले भनेका छन् । न्नुभएको छ ।






