ग्रेज एसिक्स । किरात याक्थुङ चुम्लुङ यूकेको थरक शाखाले यस वर्षको चासोक तङ्नाम भव्य रुपले मनाएको छ ।
एसिक्सको ग्रेजस्थित चाडवेल भिलेज हलमा स्थानीय लिम्बूहरू र पाहुनाहरू गरेर २०० भन्दा बढीको उपस्थितिमा कियाचु थरक शाखाले हालै चासोक तङनाम मनाएको हो । किरात याक्थुङ चुम्लुङ यूकेका केन्द्रीय अध्यक्ष तिलबिक्रम सम्बाहाम्फेको प्रमुख आतिथ्यमा यस वर्षको चासोक तङनाम सम्पन्न भयो । उपस्थित अन्य अतिथिहरूमा कियाचु यूकेका राष्ट्रिय परिषद् सदस्यद्वय नेत्रप्रसाद खजुम र युवराज इस्बो र केन्द्रीय सदस्य सन्त चोङ्बाङ् थिए ।
अन्य अतिथिहरूमा कियाचु यूके ग्रेज शाखाका सल्लाहकारहरू गम्भीरध्वज तुम्बाहाम्फे, कृष्ण कुरुम्बाङ र शरण पन्धाक, संघीय लिम्बुवान सामाजिक मञ्च (संलिसा) यूकेका केन्द्रीय उपाध्यक्ष शर्मिला यक्सो चोङबाङ, संलिसा ग्रेज शाखाका उपाध्यक्ष हरिप्रथम फोम्बो पनि उपस्थित थिए ।
थरक नेपाली महिला समितिका आशा मादेन लिबाङ, थरक गोर्खा नेपाली समाजका कोषाध्यक्ष प्रज्वल श्रेष्ठ र किरात राई यायोक्खा यूके ग्रेज शाखाका सम्भीकुमार राई पनि अतिथिमध्येमा थिए । आमन्त्रित पाहुनाहरूलाई स्थानीय लिम्बूहरूले च्याब्रुङ नाचद्वारा स्वागत गरे ।

आयोजक संस्था कियाचु थरक शाखाका अध्यक्ष दलकुमार आङ्देम्बेले अध्यक्षता गरेको कार्यक्रमको प्रारम्भमा सचिव शेरबहादुर इङनामले अतिथिहरू साथै सम्पूर्णलाई आसनग्रहण गराए । त्यसपछि प्रमुख अतिथि तिलबिक्रम सम्बाहाम्फे र अध्यक्ष दलकुमार आङ्देम्बेबाट दीप प्रज्वलन (सेमी–हान) भयो । कियाचु ग्रेज शाखाका उपाध्यक्ष झमक इमेङले स्वागत मन्तब्य (लाम्दाक् याम्निङवा) दिए भने अध्यक्ष आङ्देम्बेले चासोक तङनामको महत्वबारे प्रकाश पारे ।
कार्यक्रममा तङ्नाम पूजारी गौरीमाया ताप्मादेन थोप्राको विधिवत् पूजा–आराधनापछि उपस्थित जनहरूबाट फूल र भेटी अर्पण र प्रसाद (माङ्सोःत) ग्रहण भयो । औपचारिक कार्यक्रम दौरानमा गत अप्रिल २० मा भएको १२औं यलम्बरहाङ कप महिला समूहका विजेता खेलाडीहरूलाई नगद २५० ले पुरस्कृत गरियो ।
त्यस्तै गत जुलाई १३ मा भएको सिसेक्पा तङ्नाममा कियाचु ग्रेज शाखाका नाम चम्काउने च्याब्रुङ्गे टोली (केलाङ–समूह) ले पनि २०० पाउन्डसहित स्याबासी पाए । सम्मानित हुने समाजका अन्य सदस्यहरुमा गम्भीरध्वज तुम्बाहाम्फे थिए । हर्कजंग कुरुम्बाङसँगको सहकार्यमा २५ हजार शब्दावलीको लिम्बू–अंग्रेजी–नेपाली शब्दकोश प्रकाशन गरेकोमा समाजले कोशकार गम्भीरध्वज तुम्बाहाम्फेलाई नाजम्सकद्वारा सम्मान गरेको हो ।
कदरपत्र प्रदानको क्रममा च्याब्रुङ नाच प्रशिक्षणको लागि वषौंसम्म आफ्नो निजी ग्यारेज उपलब्ध गराउने तीर्थ चोङ्बाङ्क्याक र संस्थाको सरसामान राख्न वर्षौंसम्म आफ्नो निजी गोदाम दिने करुणा तुम्बाहाम्फेलाई कदर पत्र दिइयो । त्यस्तै च्याब्रुङ प्रशिक्षक जीत चोङ्बाङ, संस्थालाई सात÷सात थान गुन्यू, चोली र पटुकी प्रदान गर्ने निर्मला देवान र संस्थागत सूचना प्रवाहको उत्तम प्रतिक्रियाकर्ता हरिप्रथम फोम्बोलाई समेतलाई कदरपत्र प्रदान गरिएको थियो ।
केवाईसी ग्रेज शाखाका नयाँ सदस्यहरू योगेन्द्र आङदेम्बे र उनकी धर्मपत्नी आरती गुरुङ साथै देवेन्द्र फागोकी श्रीमती बुद्धमाया बेघा फागोलाई सिःलाम–खो लगाइदिएर स्वागत गरियो ।
उता अक्सफोर्ड विश्वविद्यालयबाट मास्टर्स गर्ने परिवेश खापुङ र जीसीएसईमा उत्कृष्ट अंक ल्याउने नानीहरूलाई पनि प्रशंसा पत्र प्रदान गरी बधाई दिइयो । यसपछि तङनामको रात्रीभोज (तङनाम युन्जा) मा अतिथिहरू र उपस्थित सबैले लिम्बुजन्य परिकारहरूको रसस्वादन गरे ।
चासोक तङनामको सांस्कृतिक कार्यक्रम भने बिनू लिबाङ्ले सञ्चालन गरिन् । कार्यक्रममा विशेषगरी किरात लिम्बूहरूको भाषा, धर्म, संस्कार र संस्कृति झल्काउने प्रकारका लिम्बूजन्य पहिरन, गायन, नृत्यहरू समावेश थिए । जसमध्ये हेमकुमारी कुरुम्भङ इमेहाङ, लोकबहादुर थोप्रा सम्मिलित एक समूहले हाक्पारे साम्लो गाएर स्रोताहरूलाई मनोरञ्जन दिलाए । कार्यक्रममा नवीना कुरुम्भङको एकल र नितेना राई र सविना कुरुम्भङको युगल नृत्य पनि कम मनमोहक थिएन ।
कार्यक्रम समापनको क्रममा अध्यक्ष दलकुमार आङदेम्बेले यस वर्षको चासोक तङनाम कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै व्यक्ति÷व्यक्तित्व र संघ–संस्थाहलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि सोही प्रकारको सहयोगको अपेक्षा प्रकट गरे ।






