बाजुरा । बाजुराको हिमाली गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चार जना घाइते छन् । एकजना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
से१ज १०६४ नम्बरको बोलेरो जिप कर्णाली नदीमा खसेर दुर्घटना भएको हो ।

गाउँपालिकाको केन्द्र धुलाचौरदेखि कोल्टीतर्फ जाँदै गरेको जिप नदीमा खस्दा चारजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमध्ये जिपमालिक समेत रहेका चालक बाजुराको जगन्नाथ गाउँपालिका–५, गोत्रीका २५ वर्षीय रमेश शाहीको मात्र सनाखत भएको छ । घाइतेहरुको कोस्टीस्थित प्राथमिक स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
९ जना सवार जिप बिहीबार दिउँसो साढे १ बजेतिर सडकबाट नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
दुर्घटनाको कारण खुल्न सकेको छैन ।






