‘म एक्लै धनी भएर भएन, आफूभन्दा तल्लो आर्थिकस्तरका मान्छेहरुलाई हेर्न मन लाग्छ’
पूर्वगोर्खा सैनिकबाट अवकाश प्राप्त देव गुरुङ नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका छन् । झन्डै एक महिनाअघि व्यक्तिगत र केही सामाजिक कामसहित स्वदेश फिरेका उनी कहिले कास्कीको पोखरा, कहिले स्याङ्जा, कहिले काठमाडौं त कहिले कता ? गरी घुमेको घुम्यै छन् । नेपालको बसाइमा व्यस्त दैनिकी बिताइरहेका रेस्टुरेन्ट व्यवसायी एवं समाजसेवीको पहिचान बनाएका देव गुरुङसँग एभरेस्ट टाइम्सकर्मीलाई केही समय भलाकुसारीको मौका जुर्यो ।
***
पेसाले उनी रेस्टुरेन्ट व्यवसायी । लन्डनको साउथ ह्यारोमा ‘गोल्डेनसीप’ रेस्टुरेन्ट चलाइरहेका गुरुङ चलचित्र निर्माता पनि हुन् । गोर्खा च्यानल टिभिका निर्देशक र टिभी कार्यक्रम ‘नमस्ते युरोप दम्पती’ का निर्माता । हिजोआज त उनको सुनौलो परिचय पनि थपिएको छ, ‘टिकटक हिरो’ ।
***
चार दाजुभाइ र एक दिदीबहिनीमध्ये जेठो सन्तानका रुपमा वि.सं. २०१८ मा तनहुँ जिल्लामा जन्मिएका देवको शिक्षा भने लमजुङको कुन्छा माध्यमिक विद्यालयबाट सुरु भयो । उनले २०३४ सालमा एसएलसी (प्रवेशिका) उत्तीर्ण गरे । त्यसपछि पढाइलाई थाती राख्दै कलिलो उमेरमै २०३५ सालमा बेलायती गोर्खा सैनिकमा भर्ती भए । गोर्खा सैनिक सेवामा (सन् १९७९–१९९४) पन्ध्र वर्ष बिताएर अवकाश लिए । बेलायती सैनिकको जागिर गर्दा उनी हङकङ, ब्रुनाई, क्यानाडा लगायत देश पुगे । करिब डेढ दशकको सेवाअवधिमा उनले युद्ध भने झेल्नु परेन । सन् १९८२ मा फोकल्यान्ड–आइल्यान्ड युद्धमा जाने तयारी हुँदै थियो तर पछि टर्यो, उनले सुनाए ।
***
१९९४ मा गोर्खा आर्मीबाट अवकाश प्राप्त हुनासाथ उनी स्वदेश फर्के । जागिर नहुँदा त्यत्तिकै बस्न सक्ने कुरै भएन । काठमाडौं महानगरपालिकाको महाराजगन्जमा उडल्यान्ड फर्निचर स्थापना गरे । त्यसका लागि फ्याक्ट्रीतर्फ ४० जना कर्मचारी राखिएको थियो भने सोरुममा आफूसहित ५ जना । देवकै फर्निचरबाट पूर्वराजा वीरेन्द्रकी छोरी अधिराजकुमारी श्रुति राज्यलक्ष्मी शाहको विवाहका लागि आवश्यक सामग्री लगिएको थियो । उत्तिबेला उनले फर्निचर सुरुवात गर्न ३० लाख रुपैयाँ लगानी गरेका थिए । तर सो व्यवसाय उनले पाँच वर्षभन्दा बढी समय टिकाउन सकेन । कारण फिल्मलाइनमा प्रवेशले । एभरेस्ट टाइम्ससँगको कुराकानीमा व्यवसायी गुरुङले त्यस समयलाई स्मरण गरे, ‘फर्निचर गर्दागर्दै फिल्म बनाउनुपर्यो । दुई प्रोजेक्ट एकै समय हुँदा समस्या भयो र एउटा रोकियो ।’

सन् १९९७ तिर पहिलो पटक नेपाली भाषाको चलचित्र ‘जलन’का निर्माता बने देव । ४० लाख लगानीमा चलचित्र निर्माण गरेका उनलाई पहिलो गाँसमा ढुंगा भनेझैं भयो । उनले चलचित्रमा लगानी गरेकै समयमा तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्ध चर्किँदै गयो र फिल्म चलेन । उनको चलचित्र अमर रसाइलीको लेखन र मुकुन्द बस्ताकोटीको निर्देशन थियो ।
भनिन्छ, हरेक पेसा, व्यवसायमा सम्भावना रहिरहन्छ । एउटै चलचित्र फ्लप हुँदा निराश हुनहुन्न भनेर उनले सन् २००१ तिर फेरि ‘अर्जुन’ चलचित्र बनाए । ४७ लाख रुपैयाँको लगानीमा बनेको सो चलचित्रका निर्देशक दयाराम दाहाल थिए भने चलेका कलाकारहरु राजेश हमाल, धीरेन शाक्य, विपना थापा, गौरी मल्ल, सञ्चिता लुइँटेल लगायत थिए । जुन चलचित्रले ‘जलन’को जस्तो नियत्ति भोग्नु परेन । लगानी फिर्ता पाए देवले ।
***
फिल्मी क्षेत्रबाट त्यत्ति सन्तुष्ट नभइरहेको बेला सन् २००६ मा बेलायत सरकारले भूतपूर्व गोर्खाहरुलाई आवासीय सुविधाको स्किम ल्यायो । ढुंगा खोज्दा देउता मिल्यो भनेझैं भएका देव गुरुङ सपरिवार त्यही साल बेलायत हानिए । यूकेमा पूर्वगोर्खा आर्मीले सजिलो गरी पाउने नोकरी भनेको सुरक्षा गार्ड हो, उनले त्यही काममा हात हाले । ३/४ वर्षसम्म सुरक्षा गार्डको जागिर बनिसकेपछि आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने मान्यता र सोचले झकझक्याइरह्यो उनलाई । सन् २०१० तिर उनले आफू बस्दै आएको साउथ ह्यारो लन्डनमा गोल्डेनसीप नामको रेस्टुरेन्ट सुरु गरिहाले । त्यो समयमा उनले ३ लाख पाउन्ड एक्लैले लगानी गरे रेस्टुरेन्टमा । त्यही रेस्टुरेन्ट अहिले ५ लाख मोलको भएको छ, देव र परिवारको कर्मले । जहाँ एक दर्जन मानिसले रोजगार पाएका छन् । देव दम्पतीका तीन छोरा छन् । उनका परिवारै होटलमै इन्गेज भइरहेका छन् । उनले सुनाए, ‘श्रीमती, तीन छोरा रेस्टुरेन्टमै काम गर्छन् । सस्टेन छ । पुगिराछ । मलाई घुम्ने खर्च पुगिराखेको छ । आफ्नै काम गर्न पाइरहेको छु ।’निश्चित अवधिका लागि नेपालबाट जाने कलाकारलाई स्वागत, सम्मान र प्रत्यक्ष लोकदोहोरी गायनका लागि उनले हरेक शुक्रबार आफ्नो रेस्टुरेन्टमा डाक्ने गर्छन् ।
***
देव गुरुङको अर्को पाटो भनेको समाजसेवा । विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न रुचाउने उनले २०७२ सालको शक्तिशाली भूकम्पले भत्काएको कास्कीको घान्द्रुकमा विद्यालय निर्माण गरिदिए । गरिब, दलित बस्तीमा रहेको कास्कीको घान्द्रुक १ स्थित फुम्रोखुं बराह माविलाई बेलायतमा च्यारिटी गरी १६ लाख, ९४ हजार तीनसय ६७ रुपैयाँ सहयोग गरेका थिए । भारतीय र नेपाली ग्राहकको बाहुल्यता रहने उनको रेस्टुरेन्टको च्यारिटीबाट केही महिनाको अन्तरालमै १६ लाख रुपैयाँ संकलन भयो । त्यही रकमबाट स्कुल बनाइछाडे । टोटल खर्च भने २३ लाख लाग्यो । नपुग रकम देव आफैंले थपे ।
***
व्यवसायी गुरुङले नेपालमा सहयोग गर्ने कामलाई त्यत्तिमा मात्रै सीमित राखेनन्, तनहुँको रुपाकोट गाविसमा पनि एउटा सामुदायिक भवन बनाउन सहयोग प्रदान गरे । करिब ७ लाख रुपैयाँको लागतमा निर्मित उक्त सामुदायिक भवनका लागि उनले तीन लाख रुपैयाँ सहयोग प्रदान गरेका थिए । त्यस्तै, कुन्छा हाइस्कुलका लागि एक लाख रुपैयाँ प्रदान गरेको व्यवसायी गुरुङले बताए ।

समाजसेवी इन्दिरा रानामगरले सञ्चालन गरेको काठमाडौंस्थित बन्दी सहायता नेपाल (प्रिजनर्स असिस्टेन्टस नेपाल) का बालबालिकाका लागि बेला बेलामा खाना खर्च दिइरहेका छन् भने आफैं अध्ययन गरेको लमजुङको शान्ति माविलाई १ लाख १० हजार सहयोग दिएका थिए । ‘रेस्टुरेन्ट र व्यक्तिगत रुपमा सानोतिनो सहयोग त कति दिए, दिए’, उनी भन्छन्, ‘महिनाको एक लाख गएकै हुन्छ सहयोगस्वरुप ।’
अक्सर समाजसेवामा अग्रसर हुन्छन् उनी । ‘आफूभन्दा तल्लो आर्थिक स्तरका मान्छेहरुलाई हर्न मन लाग्छ । अहिले पनि नेपालका विभिन्न गाउँहरु घुमेँ, दुःख पाएका मान्छेहरु देखेँ । त्यसैले मलाई लाग्छ म एक्लै धनी भएर भएन’, उनले यथार्थ सुनाए, ‘विदेशमा धनी, गरिबबीचको ग्याप धेरै कम छ । नेपालमा धनी, गरिबबीचको खाडल फराकिलो छ । त्यसैले समस्या भएको देख्छु ।’ ठूलो खालको सामाजिक कामका लागि सबै एकजुट हुनुपर्ने बताउने देव मनकारी छन् । विद्यालय निर्माण, असहाय केन्द्रहरुमा लाखौं रकम दिए पनि सामाजिक सञ्जालमा देखिने र थाहा हुन आउने बिरामीलाई पनि खोजीखोजी दान दिन्छन् । ‘सहयोग त सबै क्षेत्रका पीडितलाई गर्छु । फेसबुकमै देखे पनि कसैको क्यान्सर, कसैको किड्नी प्रबलम देखेमा ५०/१०० पाउन्ड अनलाइनमै हालिदिन्छु ।’
***
आफू हाँसीखुसी रहने र अरुलाई खुसी बनाउन चाहने व्यवसायी एवं समाजसेवी देव जीवनलाई रमाइलो गरी बिताउने सोचले देश, विदेश घुमिरहेको बताउँछन् । ‘म लाइफ रिल्याक्समा बिताउन चाहन्छु । लाइफ इज भेरी सट’, उनी भन्छन् ‘हामी हजार वर्ष बाँच्ने त होइन नि ! ७०÷८० वर्ष बाँच्ने हो । म ६० वर्ष भइसकँे । अब १५ वर्ष मलाई खाना पुग्छ भने किन स्ट्रगल गर्ने ? । तर कतिपय लाहुरे बेलायत, काठमाडौं, पोखरामा घर, घडेरी भए पनि अभैm अहोरात्र काम गरिरहेका उल्लेख गर्दै आफू पनि कामै नगर्ने पक्षमा भने नरहेको प्रस्ट्याए ।
***
नेपालमा पछिल्लो समय बनेको दुई तिहाई बहुमतको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि सारेको छ । यसका लागि नेपालका युवा पलायन रोक्ने र विदेशी लगानी भित्र्याउने पाटोलाई जोड दिनुपर्ने सुझाव देव दिन्छन् । अझ गैरआवासीय नेपालीहरुलाई स्वदेश फर्कन आग्रह गरिरहेको छ सरकार । व्यवसायी गुरुङ सरकारको आग्रह जायज भए पनि नेपालमा लगानी गर्न नीति, नियम सरल पारिदिनु पर्ने बताउँछन् । उनले प्रवासीलाई दोहोरो नागरिकता नदिइरहेको अवस्थामा सम्बन्धित व्यक्तिहरु नेपाली नागरिकता खोसिन्छ कि भन्ने त्रासमा रहेको बताए ।
***
नेपाल विकासोन्मुख भनिएको छ । यहाँ कृषि, पर्यटन, उर्जा लगायत क्षेत्रको विकास गर्नुपर्ने विज्ञहरु बताउँछन् । व्यवसायी देव गुरुङ पनि नेपालमा कृषिमा लगानी गरेमा राम्रो हुने देख्छन् । तर कामदार अभाव रहेको उनको बुझाइ छ । ‘नेपालमा काम गर्ने मान्छे नै छैन । गाउँतिर गए बच्चा र बुढाबूढीबाहेक कोही छैनन् । मलाई गाउँमा बाख्रा फार्म खोल्छु भन्ने योजना आइरहन्छ, तर मान्छे नै छैन ।’ उनले युवाहरुलाई उचित पारिश्रमिक दिने व्यवस्था सरकारले गरेमा स्वदेशमै बस्न सक्ने बताउँछन् ।
नेपाल विकास हुन नसक्नुमा सरकार र राजनीतिक दललाई मात्रै दोष दिने गरिन्छ । तर, व्यवसायी गुरुङ नेपाली अल्छी भएकाले पनि नेपालको विकासमा अवरोध पुगिरहेको धारणा राख्छन् । भन्छन्, ‘नेतामात्रै दोषी होइनन्, हामी नेपाली नै अल्छी छौं । विदेशमा गएर घण्टाको हिसाबले काम गर्छ तर नेपालमा गर्दै गर्दैनन् ।’ नेपालका मान्छेहरुमा देखिने स्लो मुभमेन्टले पनि विकास हुन नसक्नुको कारण रहेको उनको बुझाइ छ । ‘नेपालमा मान्छेहरुको हिँडाइ नै विस्तारी देख्छु म । टाइममा पुग्न विदेशतिर मान्छेहरु कुदिरहेका हुन्छन् । गाउँतिर मान्छेहरु तास, जुवा खेलेर, रक्सी खाएर बसिरहेका छन् । अनि कसरी हुन्छ विकास ? नेतालाई मात्र गाली गर्नुहुन्न आफ्ना देशमा आफैं गर्नुपर्छ ।’
***
नेपालको उन्नति नहुनुको अर्को प्रमुख कारण भ्रष्टाचार भएकाले यसलाई रोक्नु पर्नेमा उनी जोड दिन्छन् । नेपालमा अलि अलि विकास भएको छ । गाउँ गाउँमा बाटो, बिजुली, खानेपानीको सुविधा पुर्याएको छ । तर, विकासको स्पीड बढाउनु पर्ने उनको सुझाव छ । ‘म हङकङ जाँदा डेभलप थिएन, अहिले कति फड्को मारिसक्यो । थाइल्यान्डको बैंकक, छिमेकी चीन, भारत हेर्नुस्’ सुझावको शैलीमा उनले तुलना गरे, ‘म धेरै देश घुमिसकेँ । १८ वर्षदेखि विदेश जान थालको । अरु देशको तुलनामा एकदमै कम विकास भयो, नेपालमा आएर चाइनाले बाटो खनिदिएर कहाँ हुन्छ । आफैंले खन्नु पर्यो नि !’
सामान्य परिवारमा जन्मेका देव बेलायतको सबभन्दा पुरानो संस्था यती एशोसिएसनका कोषाध्यक्ष छन् । एनआरएनए यूकेको (२०१७–०१९) को सल्लाहकारसमेत बनेका उनी अरु थुप्रै सामाजिक संस्थाहरुमा आबद्ध छन् । पछिल्लो समय चलचित्र निर्माणमा कम र चलचित्र खरिद गरेर अमेरिका, बेलायतमा प्रदर्शन गर्नतिर जुटिरहेका छन् उनी ।







