आमा छोरासहित सडक दुर्घटनामा तीनको मृत्यु

SHARE:

भक्तपुर । “नरुनुस् न आमा, नरुनुस् न दादा ।” स्कुल पोशाकमै रहेकी बालिकाले भक्तपुर अस्पतालको चौरमा आफू रुँदै आफ्ना आफन्तको आँसु पुछिदिँदै गरेको देख्दा अस्पताल परिसरमा झुम्मिएकाको आँखा रसाएका थिए ।

दुर्घटनामा आमा र भाइ गुमाएकी लोकन्थलीकै ओम ज्ञान मन्दिरमा कक्षा १० मा पढ्ने १५ वर्षकी अनुजा घिमिरे स्कुलबाटै अस्पताल आएर रुँदै अरुलाई नरुन आग्रह गरेको देख्दा त्यहाँ नरुने कोही थिएन । काभ्रेको साँगाबाट बुधबार करीब १२:३० बजे तीव्र गतिमा आएको बा३ख ६६७४ नंको टिपरले अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–९ पलासेमा बा५६प १२२७ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

घटनामा मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, दोलखा मेलुङ गाउँपालिका– ६ घर भई विगत १६ वर्षदेखि लोकन्थलीमा पसल सञ्चालन गरेर बस्दै आएकी ३६ वर्षीया सविता घिमिरे र उनको छोरा १३ वर्षीय अरविन घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । शवलाई भक्तपुर अस्पतालमा पठाइएको, ठक्कर दिने टिपरलाई प्रहरी वृत्त जगातीमा राखिएको र फरार रहेका चालकको खोजी भइरहेको उनले जानकारी दिए ।

साँगामा रहेको नेपाल प्रहरी आवासीय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने छोरा बिरामी भएको खबर आएपछि छिमेकी हरिबहादुरलाई लिएर स्कुल पुगेर छोरालाई उपचारका लागि लैजाँदै गर्दा टिपरले ठक्कर दिएको थियो । छोराको उपचार नै गर्न नपाई आमा छोराको एकैपटक ज्यान गयो ।

लोकन्थलीमै घर बनाउने सपना बोकेर दुई महिनाअघि मलेशिया गएका श्रीमान् केशव घिमिरेले एकैसाथ श्रीमती र छोरा मात्रै गुमाएनन्, आजै साँझ ५ बजे अमेरिका जान लागेका सविताको भाइ कुमार काफ्लेको यात्रासमेत यही शोकले रोकिएको मध्यपुरथिमि नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुरज खड्काले बताए ।

हरिबहादुरको अवस्था पनि उस्तै छ । जेठी छोरी, एक छोरा र श्रीमती अष्ट्रेलियामै बस्छन्, कान्छी छोरी अमेरिकामा बस्छन् । नयाँ घर बनाउन अष्ट्रेलियाबाट फर्केका हरिबहादुरको यही घटनामा मृत्यु भएपछि उनको आमा र बुबाले अस्पतालमा आफ्नो आँशुलाई रोक्नै सकेनन् ।

सविताको दाजु नवराज काफ्लेले टिपर चालकलाई पक्राउ नगरेसम्म शव नबुझ्ने र कडा कारबाही गर्न माग गरे । कुनै पनि बहानामा चालकलाई उन्मुक्ति दिने प्रयास गरिए चुप लागेर नबस्ने उनले बताए ।

अस्पतालमा भेला भएकाहरुले टिपरलगायत मालबाहक सवारी साधनलाई राति ९ बजेपछि बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे । साथै ज्यानै जाने गरी दुर्घटना गराउने चालकलाई ज्यान मुद्दा नै लगाउनुपर्ने माग उनीहरुले राखेका छन् ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले घटनाको प्रारम्भिक अनुसन्धानबाट टिपर चालकको ठूलो लापरबाही देखिएको प्रतिक्रिया दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!