कम्मर दुखाईका समस्या नभएको व्यक्ति विरलै मात्र पाइन्छ । सुविधा सम्पन्न आधुनिक जीवनशैलीका कारण यो समस्या आउने बढी संभावना हुन्छ । विशेषगरी शारीरिक व्यायामको अभावले कम्मर दुख्ने गर्दछ । र, सम्पूर्ण शरीरको भार कम्मरमा पर्ने हुनाले शरीरको तौल बढी भई यो समस्या देखिने गर्दछ ।
लक्षण : निहुरिनु वा अरु शारीरिक परिश्रम गर्न कठिन हुनु र कम्मरको दायाबाया वा बीचमा दुख्नु । कारण : धेरै बेरसम्म एकै ठाउँमा बसिरहनु वा उभिरहनु, नियमित व्यायाम नगर्नु, खानामा पौष्टिक तत्वको अभाव, महिनावारी हुँदा वा महिनावारी गडबढी हुनु । उपचार : नियमित व्यायाम, दैनिक भोजनमा परिवर्तन गर्दै प्राकृतिक जिवनशैली अपनाउदै यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।
भोजनमा चिल्लो, बोसो तेलमा तारिएका भुटिएका खानाहरु कम्मर दुखाईको मुख्य कारण भएकोले यसलाई कम गर्नु पर्दछ । भिटामिन ‘डी’, ‘सी’ र क्याल्सियमयुक्त भोजन प्रसस्त खानु पर्दछ । भिटामिन ‘सी’ को स्रोत कागती, सुन्तला, अंगु, अमला, हरियो सागपात प्रसस्त खानु उपयोगी हुन्छ । फलफ्लको जुस तथा तरकारीको सुप टन्नै पिउनु लाभदायिक हुन्छ । व्यायामको अभावले पनि कम्मर दुख्ने हुँदा नियमित रुपमा केही न केही व्यायाम गर्नु पर्दछ । योगासनमा पछाडि झुकेर गरिने आसनहरु जस्तै भुजंगासन, धनुरासन, मत्स्यासन लाभदायक मानिन्छ ।
अन्य तरिका ः बसेर काम गर्दा प्रत्येक घण्टा अभिएर ढाड सोज्याउनु पर्दछ । नरम खालको बिछ्यौनाले ढाडलाई लच्काएर दुखाउने हुँदा कडा खालको बिछ्यौनामा सुत्नु पर्दछ । दुखेको भागमा परिवारको सदस्यलाई टेक्न लाउनु पर्दछ । दुखेको भागमा चिसो पानी अथवा वरफले सेक्दा आराम मिल्दछ ।






