जमुना वर्षा शर्मा पोखरा, १४ जेठ

तमु समाज युकेको आर्थिक सहयोगमा पोखरा ९ का करिब एक सय परिवारलाई राहत वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष रामराज लामिछानेको विशेष उपस्थितिमा पोखराको प्रदर्शनी केन्द्रमा सामाजिक दुरी कायम गर्दै राहत वितरण गरिएको तमु समाज युके आमा समूहका संस्थापक अध्यक्ष माया गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिलेको अवस्थामा देखिने भन्दा पनि भोग्ने जीवन निकै दयनीय छ । सरकारले पनि राहत बाँडिरहेको छ, तर कति परिवारमा अझै पुग्न सकेको छैन, बन्दाबन्दी लम्बिरहँदा एक चरणको राहत सकिएर के खाने भनेर बसेका परिवारको नामावली उतारेर राहत वितरण गरेका हाँै ।” उहाँले ज्याला मजदुरी गर्ने पयर्टन मजदुर, सार्वजनिक सवारी साधनका चालकहरु, नेपालमै बसेर काम गरिरहेका भारतीय मजदुरहरुको पहिचान गरी राहत वितरण गरिएको जानकारी दिनुभयो । “भौतिक शरीर जहाँ भए पनि भावानात्मक माया देशसँग जोडिएको छ । थोरै थोरै रकम सङ्कलन गरेर नेपालका विपन्न परिवारको हातमुख जोड्ने सेवामा जुटेका छौ ।” गुरुङले भन्नुभयो ।
राहतको लागि तमु समाज युकेबाट ५० हजार, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान उपाध्यक्ष विजु गुरुङ लगायतको परिवारबाट ४० हजार र आफ्नो व्यक्तिगत तर्फबाट १० हजार गरेर एक लाखको राहत वितरण गरेको उहाँले जानकारी दिनुभयो । राहत वितरण कार्यक्रममा उपस्थित वडाध्यक्ष लामिछानेले असहज अवस्थामा परोपकारी मनहरुको सहयोगले वडामा कसैको घरमा पनि आगो निभ्न नपाएको बताउनुभयो । “महानगरले ६ सय ८८ परिवारका लागि १० लाख ८० हजार उपलब्ध गराएका थियो । वडामा १९ सय ४५ जनाको निवेदन परेको थियो । यहाँ धेरै ज्याला मजदुरी गर्नेहरु हुनुहुन्छ, बन्दाबन्दीले उहाँहरुलाई प्रत्यक्ष असर पारेको छ । विभिन्न संघ संस्थाको सहयोगले राहतको माग गर्ने सबैलाई वितरण गर्न सफल भयौ ।” लामिछानेले भन्नुभयो । उहाँले अवस्था हेरर अहिलेसम्म वडामा २६ सय ४९ परिवारलाई करिब ३५ लाखको राहत वितरण गरिसकेको जानकारी दिनुभयो । विदेशमा रहेर पनि नेपाली दाजुभाइलाई सम्झेर राहत सहयोग गर्ने तमु समाज युके र समन्वय गर्ने माया गुरुङलाई उहाँले वडाको तर्फबाट धन्यवाद दिनुभयो ।
तस्बीरः जमुना वर्षा







