काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा आइतबार राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।
भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । मृत्यु भएका १२ जनाकै शव भेरी अस्पतालमा राखिएको छ ।
घाइते सबैको पहिचान खुल्यो
गाडी दुर्घटनाका घाइतेको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउने १२ जनाको भने सनाखत हुन बाँकी छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घटनामा घाइते २१ मध्ये २० जनाको पहिचान खुलेको छ । दुर्घटनामा गम्भीर घाइते भएका चार जनाको भेरी अस्पताल नेपागलञ्जमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेका सबै भारतबाट आएको प्रहरीले जनाएको छ । घाइते हुनेमा सबैभन्दा धेरै सल्यान जिल्लाका छन् । घाइते हुनेमा सल्यान शारदा नगरपालिका–६ कजेरीकी २९ वर्षीया टीका चलाउने, बनगाड कुपिन्डे नगरपालिका–६ घाँजरीका २० वर्षीय मीनराज विक र ५२ वर्षीय दीपबहादुर बुढा रहेका छन् ।
त्यस्तै सल्यान सिद्धकुमाख गाउँपालिका–५ छापडाँडाका १८ वर्षीय धनबहादुर बोहरा, २६ वर्षीय निमबहादुर वली, दहका ४० वर्षीय तेजबहादुर बुढाथोकी, १८ वर्षीय देवेन्द्र खड्का, १७ वर्षीय ज्ञानबहादुर बोहरा, वडा नं ४ चाँदेका २८ वर्षीय लोकेश घर्ती र २६ वर्षीय शिव भण्डारी रहेका छन् भने एक जनाको नाम र ठेगाना खुलेको छैन ।
त्यस्तै दाङ घोराही उपमहानगरपालिका–५ धर्नाका ४५ मेघराज केसी, राजपुर गाउँपालिका–६ ग्रामीखोलाका २० वर्षीय दीपेश चौधरी, राजपुर गाउँपालिका–२ रैनियाका २१ वर्षीय जीवन घर्ती, गढवा गाउँपालिका–६ भानपुरका २० वर्षीय भरत थापा, तुलसीपुर उपमहानगरपालिका–२ खैरीकोटका ३९ वर्षीया विष्णु गिरी र २३ वर्षीय रुपलाल केसी घाइते भएका छन् ।
यसैगरी घाइते हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ का १७ वर्षीय सुनिल परियार, २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, टुटुका ४० वर्षीय दिलबहादुर विक र दुईखोली गाउँपालिकाका कुरेलीका ५२ वर्षीय नरबहादुर विक रहेका छन् । दुर्घटनामा परी मृत्यु भएकाको पहिचान नभएको र उनीहरुको शव अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना५ख ५९९५ नंको फोर्स गाडी राप्तीसोनारी गाउँपालिका–१ अगैया नजिकै पूर्वपश्चिम राजमार्गको ठुरिया जङ्गलमा रोकिराखेको बा४ख ९०६४ नंको ट्रकमा ठोक्किँदा गएराति १२ जनाको मृत्यु भएको थियो । मृतकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए ।
कोरोना परीक्षण गरिँदै
दुर्घटनामा मृत्यु तथा घाइते भएकामा कोरोना भाइरस भए/नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरेर परीक्षण थालिएको छ । मृतक तथा घाइते सबै भारतबाट आएकाले उनीहरुमा कोरोना सङ्क्रमणको जाखिम रहेकाले स्वाब सङ्कलन गरी परीक्षण थालिएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए । उनका अनुसार उनीहरु सबैको स्वाब सङ्कलन गरेर कोरोना परीक्षण थालिएको हो ।






