एटा संवाददाता ।
लण्डन । बेलायतमा कोरोनाबाट हुने मृत्युदर घट्दै आएको छ । लकडाउन शुरु भएको ७० दिन पछिको रेकर्डलाई हेर्ने हो भने सोमबारको मृत्युदर संख्या लकडाउनपछिको एकदमै कम हो । बेलायती सरकार सोमबार साँझ १० डाउनस्ट्रिटमा आयोजित पत्रकार सम्मेलनमा बेलायती स्वास्थ्यमन्त्री म्याट ह्याङ्गककले पछिल्लो २४ घण्टामा १११ जनाको निधन भएको जानकारी गराएका हुन् । उनका अनुसार हालसम्म ४४ लाख ८९ हजार ३४० जना परिक्षण गरिएकोमा दुईलाख ७६ हजार ३३२ मा कोरोना पोजिटिभ भेटिएको छ ।

गत २४ घण्टामा एकलाख २८ हजार ४३७ जनालाई परिक्षण गरिएकोमा एक हजार ५७० जनामा पोजिटिभ भेटिएको जनाइएको छ । त्यस्तै, सोमबार दिउँसोसम्म ३९ हजार ४५ जनाको दुःखद् निधन भएको छ । पछिल्लो २४ घण्टामा १११ जनाको निधन भएको र सो संख्या लकडाउन पछिको एकदमै कम हो । उनले खोकी, ज्वरो र स्वादविहिन जस्ता लक्षण देखिएमा तुरुन्तै सम्पर्क गर्न समेत अनुरोध गरे ।
यसैबीच बेलायतले लकडाउनलाई सहज समेत बनाएको छ । करीब ३ महिना देखि बन्द भएको विद्यालय आंशिक रुपमा संचालनमा ल्याएको छ । पहिलो चरणमा सोमबार देखि इंग्ल्याण्डमा रहेका प्राईमेरी स्कुलहरु संचालनमा आएको छ । त्यस्तै, सोमबार देखि कार शोरुमहरु खोल्ने अनुमति पाएका छन् भने १५ जुन देखि धेरैजसो पसलहरु खुल्न अनुमति दिएका छन् । केहि हप्ता देखिनै शारीरिक व्यायाम गर्नका लागि अनुमति प्रदान गरिसकेको छ भने बीच र पार्कमा समेत सामाजिक दुरी कायम गरी जान पाईने छ । सोमबार देखि फरक फरक परिवारका बढीमा ६ जनासम्म सामाजिक दुरी कायम गरी गार्डेनमा भेट्न सक्ने समेत अनुमति प्रदान गरेको छ भने एकै परिवार सदस्यले आउटडोर खेलहरु समेत खेल्न सक्ने छ ।
एनआरएनए युके अनुसार अहिलेसम्म बेलायतमा १५०९ जना नेपाली कोभिड–१९ पोजिटिभ भएका छन् जसमध्ये ६६ जना नेपालीले ज्यान गुमाई सकेका छन् । र, १३०९ जना रिकभर भैसकेका छन् भने केहि घरैमा आइशोलेशनमा छन् भने केहि अस्पतालमा उपचारार्थ रहेका छन् ।






