एटा संवाददाता ।
लण्डन । कोभिड–१९ का कारण भएको लकडाउनले बेलायतमा रोकिएका नेपालीहरु नेपाल फर्कन पाउने भएका छन् । कोरोना भाईरसका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको निर्णय अनुरुप नेपाली दूतावास लण्डन र एनआरएनए युकेको बिशेष पहलमा आउने २४ जुन र जुन २६ तारिखका दिन चार्टर्ड विमान तय भएको हो ।
नेपाली दूतावास लण्डनले बिहिबार १८ जुनमा जारी गरेको सूचना अनुसार विमानको सीट क्षमता १५८ जनाको मात्र भएकोले पहिलो चरणमा प्राथमिकताको आधारमा १५८ जनाले मात्र यात्रा गर्ने छन् । जजिरा एयरवेज नामक उक्त विमान २४ जुन र २६ जुनका दिन ग्याटविक एयरपोर्टबाट दिउँसो २ः५० बजे उड्ने छ । साथै, उक्त चार्टर्ड विमानको भाडा प्रतिव्यक्ति ९२० पाउण्ड तोकिएको जनाइएको छ ।
नेपाली दूतावास लण्डनबाट जारी सूचना
यसअघि नेपाल फर्कनका लागि नेपाली दूतावास लण्डन र एनआरएनए युकेमार्फत फारम भरेका, ईमेल गरेकाहरुलाई पहिलो चरणमा दुताबासबाट इमेल पठाइने छ । उनीहरुले इमेल प्राप्त भएपछि सूचनामा दिइएको सम्पर्क नम्वरमा सम्पर्क गरी टिकट काट्नु पर्ने छ । उक्त सूचनामा हवाई यात्राका लागि नेपाली राहदानी अनिवार्य हुनुपर्ने र प्रत्येक यात्रुले अनिवार्य रुपमा पीसीआर वा आरडिटी परीक्षणबाट कोरोना नेगिटिभ भएको वा कोरोनाको लक्षण नभएको चिकित्सकले प्रमाणित गरेको प्रमाण पेश गर्नु पर्नेछ । त्यस्तै, नेपाल पुगेपछि सरकारले तोेके अनुसार कोरिन्टीनमा रहनु पर्ने छ ।
यसैबीच गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङले लामो समय देखी अलपत्रमा परेका नेपालीहरुको उद्धार हुन लागेकोमा खुशी व्यक्त गरिन् । गैरआवासीय नेपाली संघ युके र नेपाली दूतावासको पहल संकलन भएका नामबाटै नेपाल फर्किने नाम तयार गरिएको गुरुगंले जानकारी दिइन् । उनले उडानको लागि आवश्यक शर्त पुरा गरि आआफ्नो सिट सुरक्षित गर्न आग्रह गरेकी छन् । यसअघि गैरआवासीय नेपाली संघ युके र लण्डन दूतावासले संकलन गरेका ४ सय २० जना नेपालीहरुको सूचीमा नेपाल सरकार समक्ष पठाइएको थियो ।
यसका लागि एनआरएन यूकेले उपाध्यक्ष रामचन्द्र पोख्रेलको संयोजनमा तीन सदस्यीय समिती गठन गरेर तथ्यांक संकलन गरेको थियो । समितीमा उपाध्यक्ष मोहन कार्की र इंगल्यान्ड राज्य परिषद सचिव गोविन्द खरेल रहेका छन । उपाध्यक्ष रामचन्द्र पोख्रेलले यस सम्बन्धि थप जानकारीको लागि एनआरएन यूकेमा सम्पर्क गर्न आव्हान गरेका छन ।