एटा संवाददाता ।
लण्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त क्रियाशिल सहारा युकेले भिक्टोरिया क्रस (भिसी) पदक प्राप्त प्रथम नेपाली गोर्खा सैनिक कुलविर थापाको अल्डरसटमा निर्माण हुन लागेको गोर्खा मेमोरियल स्ट्याच्यु प्रोजेक्टका लागि १०१९ पाउण्ड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ
गत शनिबार ४ जुलाईका दिन अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा सम्पन्न कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । ग्रेटर रसमुर नेपाली कम्युनिटी युकेको अग्रतामा करीब एक लाख २५ हजार पाउण्डको लागतमा निर्माण गर्न लागिएको भिसी थापाको शालिकका लागि विभिन्न व्यक्ति र संस्थाहरुले आर्थिक सहयोग गरिरहेकोे अवस्थामा सहारा युकेले उक्त आर्थिक सहयोग दिने निर्णय गरेको हो ।
सहारा युकेका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा बसेको बैठकले सहारा युकेले आगामी नोभेम्बर महिनामा आयोजना गर्न लागेको १२ औं सहारा च्यारिटी डिनर कार्यक्रमलाई सम्भव भएसम्म सरकारको गाईडलाईनलाई अबलम्बन गरी तय भएकै मिति, समय र स्थानमा आयोजना गर्ने निर्णय गरेको छ । साथै, बैठकमा पोखरास्थित सहारा एकेडेमीको सहयोगार्थ स्थापना गरिएको अक्षयकोषमा यसबर्ष अर्थात् वर्तमान छैटौं कार्यसमितिको पहलमा १९ लाख ७४ हजार १२० रुपैयाँ प्रदान गरिएको जानकारी गराइएको थियो । उक्त सहयोग रकम छैटौं कार्यसमितिले कार्यभार सम्हाले पछि सहारा युकेका सदस्य र शुभचिन्तकहरुबाट संकलन गरी सहयोग गरिएको हो ।
सहारा युकेका महासचिव धनु थकालीले संचालन गरेको बैठकले अहिलेको कोभिड–१९ जस्तो बिषम परिस्थितिलाई मध्यनजर गर्दै आगामी कार्यक्रमहरुलाई व्यवस्थित रुपमा आयोजना गर्दै लैजाने निर्णय गरेको छ । कोभिड–१९ ले विश्वभर महामारी फैलाईरहेको अवस्थामा पछिल्लो समय बेलायतमा लकडाउन खुकुलो हुदै आउने क्रममा ४ महिना पछि सामाजिक दुरी कायम गरी उक्त बैठक बसेको हो ।
उक्त बैठकमा सहारा युकेका अध्यक्ष कुमार गुरुङ, उपाध्यक्ष ले.रि. कुसाङ्ग गुरुङ, सहारा एफसी चेयरमेन कृष्ण गुरुङ, महासचिव धनु थकाली, सचिव बाचस्पिति रेग्मी, कोषाध्यक्ष शारदा गुरुङ, सहकोषाध्यक्ष प्रकाश गुरुङ, सि.ईं ओ. मनोज गुरुङ, स्पोटस् सक्रेटरी कुमार थापा, सदस्यहरु मिलन तमु, एमकुमार गुरुङ, विश्वजंग गुरुङ, जगन गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
स्मरण होस्, नेपालकै इतिहासमा पहिलोपटक गत २५ मे २०२० का दिन नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसट सहरमा नेपाल र ईंग्ल्याण्डको सी टिमबीच हुने भनिएको मैत्रीपूर्ण फुटबल खेल कोभिड–१९ कै कारण स्थगित भएको छ । कोभिड–१९ को प्रभाव कम हुदै गएको अवस्था उक्त मैत्रीपूर्ण खेल सन् २०२१ मा आयोजना हुने धेरैको विश्वास छ ।







