
एटा संवाददाता ।
लण्डन । एनआरएनए युकेले कोभिड–१९ अन्तर्गत नेपाली महिलाहरु माथिको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । शनिबार ११ जुलाईका दिन नेपालका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङको बिशेष उपस्थितिमा सम्पन्न भएको हो ।
जुम प्रविधिको प्रयोग गरी भर्चुअली संचालन भएको कार्यक्रममा प्रमुख अतिथिको आशनबाट माननीय मन्त्री गुरुङले कोभिड–१९ ले पारेको प्रभावलाई कम गराउन सरकारले तत्कालिन, मध्यकालिन र दिर्घाकालीन कार्यक्रमहरु अघि बढाइएको, बिशेष गरी बिदेशमा रहेका र फर्किएर आएकाहरुलाई काउन्सिलिङ्ग गरिरहेको बताए । साथै, उनले नेपालको संविधानले महिला अधिकारलाई सुनिश्तित गरिएको जानकारी दिदै अन्य मुलुकले समेत अनुकरण गर्ने लायकको भएको बताए । त्यस्तै, उनले अप्ठ्यारोमा परेकाहरुले आपूm रहेको सम्बन्धित राजदूतावास, एनआरएनए वा सिधै नेपालमा समेत सम्पर्क गर्न सकिने बताए । साथै, उनले नागरिकताको बिषयमा बोल्दै नेपालमा दोहोरो नागरिकताको व्यवस्था नभएको र नेपाल फर्केर आउनेले नेपाली नागरिकता पाउने बताए ।

उक्त कार्यक्रममा सांसद डिला संग्रौलाले विदेशबाट फर्किएका महिलाको वर्तमान अवस्था र पुर्नस्थापनाका विषयमा पावर पोइन्ट प्रिजेन्टेशन दिदैं फर्किनेहरुले सिमा तथा विमानस्थल, होल्डिंग सेन्टर, प्रदेश र स्थानीय तहसम्मको यात्रामा भोग्नु परेका समस्या, अव्यवस्थित क्वारेन्टाइन लगायतको बिषयमा बोल्दै त्यस्ता समस्याको दीर्घकालीन समाधानका लागि खेल्नु पर्ने भुमिकाका बारे बोलेका थिए ।
करीब ८४ जनाको उपस्थिति रहेको कार्यक्रममा सामाजिक अभियन्ता डा. रेणु अधिकारीले, ‘महिला समस्या कोभिड भन्दा पहिला पनि थियो, कोभिड–१९ ले समस्या उजागर मात्र गरेको हो’ भन्दै समस्यालाई पहिचान गरी समाधान गर्नुपर्नेमा जोड दिईन् । साथै, उनले, परिवर्तनका लागि दृष्टिकोण र अहिलेको संरचनानै परिवर्तन गर्नुपर्ने सुझाव दिईन् । त्यस्तै, पौरखी नेपालकी मंजु गुरुङले, महिलाहरु विदेशबाट फर्किए पछि हेर्ने सामाजिक दृष्टिकोण फरक भएको कारणले केही महिलाहरुमा मानसिक असर पारेको बताईन् । साथै, उनले कोभिड–१९ भन्दा पहिला र पछिको अवस्थालाई केलाउनु पर्नेमा जोड दिईन् ।
त्यस्तै, प्यानलिस्टमा रहेकी एनआरएनए, आईसीसीकी महिला संयोजक भोमा लिम्बु र एनआरएनए, आईसीसीकी मध्यपूर्व प्रतिनिधि यस्मिन बेगमले विभिन्न देशमा रहेका महिलाहरुको अवस्था बारे जानकारी गराएकी थिईन् ।

कान्तिपुर टेलिभिजनको समकोण नामक कार्यक्रम संचालिका निर्मला शर्माले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री गुरुङ, सांसद डिला संग्रौला, सामाजिक अभियन्ता डा. रेणु अधिकारी, मञ्जु गुरुङ लगायतसंग एनआरएनए आईसीसी सदस्य, राम शरण सिंखडा, आईसीसी सदस्य दयानिधी सापकोटा, वरिष्ठ पत्रकार भागिरथ योगी, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का कार्यवाहक अध्यक्ष धर्म तामाङ्ग, अम्बिका खत्री (कतार), यशोदा गुरुङ, हरी भट्टराई, अमृता गिरी गजुरेल, सुनिता गौतम, जानकी पौडेल (ओशिनिया), प्रकाश कोईराला (युएई), डा. सुस्मा बस्नेत, भगवती रानाभाट, अमित चाम्लीङ्ग (कुवेत), डा. अम्बिका खत्री, राजकुमार थापा (पर्चुगल) लगायतले प्रत्यक्ष कार्यक्रम भित्र विभिन्न जिज्ञासा राखेका थिए भने केहीले सामाजिक संजालमार्फत पनि जिज्ञासाहरु राखेका थिए । सामाजिक संजालमा आएका प्रश्नहरुलाई चिरन शर्माले संयोजन गरेका थिए ।
कार्यक्रममा अध्यक्ष पुनम गुरुङले छलफलको विषयमा समस्याका क्षेत्रहरु, समाधानका उपायहरु, निष्कर्ष सहितको पूर्ण प्रतिवेदन गैर आवासीय नेपाली संघ, बेलायतले एनआरएनए, आईसीसी लगायत नेपाल सरकारको सम्बन्धित मन्त्रालय, महिला अधिकारवादी संघ संगठन र अन्य सरोकारवाला निकायहरुमा महत्वपूर्ण दस्तावेजको रुपमा प्रेषण र फलोअप गर्ने बताईन् । त्यस्तै, एनआरएनए यूकेकी उपाध्यक्ष एवं संयोजक रोजिना प्रधान राईले स्वागत तथा धन्यवाद ज्ञापन गरेकी थिईन् । र, महासचिव फडिन्द्र भट्टाराईले कार्यक्रमको उठेका सवालहरुलाई टिप्पणी गरी अन्तिममा सुनाएका थिए भने सचिव जीत रानाभाटले प्रविधिमा रहेर सहयोग गरेका थिए ।








