
एटा संवाददाता ।
लण्डन । केन्टको टनब्रिजमा बसोबास गर्ने नेपाली दिदिबहिनीहरुले स्थापना गरेको टनब्रिज लेडिज कम्युनिटीले नेश्नल हेल्थ सर्भिस (एन.एच.एस.) मेडिस्टोन एण्ड टनब्रिज वेल्स पेम्बुरी अस्पताललाई ५०१ पाउण्ड आर्थिक सहयोग गरेको छ । सोमबार २७ जुलाईका दिन कम्युनिटी अध्यक्ष निलम थापाले सो अस्पतालका फण्डराईजिङ्ग मेनेजर लाउरा केन्नेडीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
सन २०११ सालमा स्थापना भएको कम्युनिटीले सो क्षेत्रका नेपाली बालबालिकहरुलाई नेपाली भाषा, कला तथा संस्कृति बारे जानकारी गराउने र उनीहरुलाई नेपाली भाषा सिकाउदै आइरहेको छ । त्यस्तै, संस्था भित्रका सदस्यहरु मध्ये कसैलाई दुखकष्ट पर्दा आवश्यक सहयोग गर्दै आएको र हरेक बर्ष बच्चा देखि वृृद्धवृद्धालाई समेटेर युकेको विभिन्न स्थानको भ्रमण समेत गराउदै आएको छ । जसबाट भूपू गोर्खाज जेष्ठ नागरिकहरुलाई ठूलो सहयोग पुगेको विश्वास छ । साथै, कम्युनिटीमा आवद्ध दिदिबहिनीहरुले विभिन्न संघसंस्थाहरुले सो क्षेत्रमा आयोजना गर्दै आएको कार्यक्रमहरुमा स्वंयसेवकको रुपमा काम गर्दै आएको छ । र, यसरी विभिन्न सामाजिक कार्यहरु गर्दै आउने क्रममा अहिले विश्वभर कोभिड–१९ जस्तो महामारीले प्रभाव परिरहेको अवस्थामा स्थानिय एनएचएसलाई उक्त रकम सहयोग गरिएको सो कम्युनिटीकी ज्योति गुरुङले जानकारी दिईन् ।






