नुवाकोट साउन २७ । जिल्लाको सदरमुकाम सुदूर पूर्वी भेगमा ‘लकडाउन’ र सरकारको निर्देशन निरन्तर उल्लंघन भइरहँदा पनि सम्बन्धित निकाय मौन देखिएका छन् ।
जिल्लाको शिवपुरी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र लिखु गाउँपालिकामा कोरोना भाइरसको जोखिमलाई बेवास्ता गर्दै विभिन्न निकायमा त्यस्ता गतिविधि सञ्चालन भएका हुन् । स्थानीय प्रशासनमा स्वास्थ्य मापदण्डविपरीत भिडभाड देखिने गरेका छन् भने केन्द्रको मन्त्रिपरिषद् बैठकले सुरक्षाका उपाय अवलम्बन गरेर यातायातका साधन, कार्यालय सञ्चालन गर्ने निर्णय गरेको पनि त्यसको पालना भएको देखिन्न ।
काठमाडौं उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लाभित्र मात्रै स्वास्थ्य सुरक्षा अपनाउने गरी सरकारले असार २६ देखि नै सार्वजनिक यातायातका साधन सञ्चालनका लागि अनुमति दिएको थियो । तर नुवाकोटका पञ्चकन्या, शिवपुरी, लिखुबाट जिपले राजधानीसम्मै यात्रु ओसार्दै आएका थिए । एक हप्ता अडाडि मात्रै काठमाडौं प्रवेशमा कडाई गर्न स्थानीय प्रहरी र प्रशासनले सकेका थिए ।
अत्यावश्यक कामका लागि मात्र काठमाडौं र जिल्ला ओहोरदोहोरका लागि अनुमति दिइएको भए पनि जिपले बिना स्वास्थ्य सुरक्षा यात्रु कोचाकोच गरेर पञ्चकन्याको घलेगाउँ, कविलास, छहरे- काफलडाँडा हुँदै गुरुङ गाउँसम्म ल्याइदिने, त्यस्तै शिवपुरी र पञ्चकन्याको सीमामा रहेको कुण्डला मावि सत्तरी, छहरे, थानाभन्ज्याङ हुँदै चल्ने जिप, समुन्द्रदेवी हुँदै गुर्जे चल्ने जिपले सीमामा यात्रु ओसार्ने क्रम अझै रोकिएको छैन । जिपले सेवा दिएको देखिए पनि कोरोना भाइरसको जोखिममा यात्रुलाई पारेको छ नै सार्वजनिक यातायात सञ्चालन ऐन अनुसार निजी नम्बर प्लेड भएका जिपले यात्रु ओसार्न पाइँदैन । तर त्यस भेगमा ५/६ वर्षदेखि अवैध रुपमा जिपले यात्रु ओसारिरहेका छन् ।
बस लगायत अन्य सार्वजनिक यातायतका साधनको सहज पहुँच नभएका कारण ती भेगका यात्रुहरु जिपको मनोमानी भाडा तिर्न बाध्य भइरहेको गुनासो पनि बेला बेला सुनिने गर्छ । पञ्चकन्याको वडा नं ३ र ४ जाने जिपले झन्डै ४५ किलोमिटरको बाटोमा ७० सम्म भाडा लिएको भन्दै यसअघि इलाका प्रहरी कार्यालय पञ्चकन्यामा समेत स्थानीयले उजुरी हालेका थिए । इप्रकाले आइन्दा त्यसो नगर्ने सर्तमा जिप चालकलाई छाडिएको थियो । अहिले पनि त्यसभेगमा जिपले क्षमताभन्दा बढी यात्रु बोकेर गुडिरहेका छन् ।
प्रहरी अस्थायी चेक पोस्ट गुर्जेका प्रहरी सहायक निरीक्षक कृष्ण गुरुङले हिजो आज भने सवारी साधन सञ्चालन र पैदलयात्रु ओहोरदोहोर कमी आएको बताए । अवैध रुपमा जिपले मान्छे ओसारिरहेका छन् नि भन्ने प्रश्नमा प्रसनी गुरुङले चेकपोस्ट नयाँ टिम आएको र यात्रु नबोक्न ८/१० चोटी जरिवाना लगाइसकेको जानकारी दिए । सरकारको निर्देशन पालना गराउने आफूहरुको कर्तव्य भएको पैदलयात्रुलाई भने बिरामीको काजगात र अवस्था हेरेर र अन्यको हकमा पास भएकालाई मात्रै प्रवेश दिइएको उनले प्रस्ट पारे ।
सरकारले चैत ११ देखि लगाएको लकडाउन साउन ६ मा अन्त्य गरेको थियो । त्यसपछि कोरोना संक्रमित निरन्तर बढ्दै गइरहेको छ । संक्रमित बढ्न थालेपछि पुन: साउन १५ देखि बाहिरबाट काठमाडौं उपत्यका प्रवेश गर्न रातिको समय निषेध गरेको थियो । साँझ ७ देखि बिहान ७ बजेसम्म रोक लगाएकोमा खाद्यान्न, दूध, औषधि लगायतमा भने बन्देज छैन ।
सरकारले बिहीबारदेखि लागू हुनेगरी काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमण केस भएका जिल्लामा सवारीमा जोरबिजोर प्रणाली लागू गरेको छ ।
लामो दूरीको सवारी साधनमा रोक लगाए पनि कतिपय व्यवसायीले अटेर गर्दै काठमाडौं-झोर-गुर्जे-छहरे सडकमा गाडी सञ्चालन गरिहेका छन् । शनिबार नुवाकोटबाट काठमाडौंको जगात वन क्षेत्रको सडकमा यात्रु ओसार्न बस कुरिरहेको तस्बिर हाम्रा संवादाताले पठाएका छन् ।
लिखुमा सुरक्षाका उपायबिना सेवा प्रवाह
कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गईरहेपनि लिखु गाउँपालिकाले भने बिनाकुनै सुरक्षा अपनाएर कार्यसञ्चालन गर्दै आइरहेको छ ।
असार मसान्तमा होस् या त्यसपछिका समयमा कार्यालयमा सेवाग्राहीको भिड लागिरहन्छ । तर पालिकामा भने नकुनै जनप्रतिनिधिले सुरक्षा अपनाएका छन् नत कुनै कर्मचारिलनै सुरक्षा अपनाएका छन् नत सेवाग्राहीलाई नै अपनाउन लगाइएको छ ।
नुवाकोटमा हालसम्म ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । तर लिखु गाउपालिकामा रहने केही जनप्रतिनिधि र केही कर्मचारीबाहेक बाँकी जनप्रतिनिधि तथा कर्मचारीहरुले सुरक्षा अपनाउने नाममा मास्क समेत प्रयोग नगरी सेवा प्रवाह गरिरहेका छन् । पालिकामा आउने सेवाग्राहीहरुलाई समेत दुरी कायम गरी बस्ने ब्यवस्था मिलाइएको छैन ।






