काठमाडौं ३१ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।
शनिबार विज्ञप्ति प्रकाशित गरी उपराष्ट्रपति पुनले वर्षाको समय अझै बाँकी रहेको र मौसमविद्हरुले बाढीपहिरो तथा डुबानको सम्भावना औंल्याइरहेको उल्लेख गर्दै सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन आग्रह गरेका हुन् । ‘वर्षाको समय अझै बाँकी रहेको र मौसमविद्हरुले बाढीपहिरो तथा डुबानको सम्भावना औल्याइरहेकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न सबै पक्षलाई आग्रह गर्दछु’, उपराष्ट्रपतिको तर्फबाट प्रेस संयोजक मनोज घर्तीमगरले जारी गरेको विज्ञप्तिमा छ ।
सिन्धुपाल्चोकको लिदीमा शुक्रबार पहिरोले पुर्याएको भयानक क्षतिबाट ठूलो शिक्षा लिँदै लिदी लगायतका देशभरका जोखिममा रहेका मानव बस्तीहरु यथाशक्य चाँडो सुरक्षित स्थानमा स्थानान्तरण गर्न सबै तहका सरकारको गम्भीर ध्यानाकर्षणसमेत उपराष्ट्रपति पुनले गराएका छन् ।







