काठमाडौं २१ भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली सङ्घले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
मध्यपूर्वका चार देशमा लागू हुने आइएलओको परियोजनाका लागि गैरआवासीय नेपाली सङ्घसँगको छलफलका क्रममा मन्त्री ज्ञवालीले महामारीका बेला विदेशस्थित गैरआवासीय नेपाली सङ्घ र विदेशस्थित नेपाली दूतावासबीच निकै राम्रो सहकार्य भएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने उल्लेख गरे । मध्यपूर्वका देशमा रहेका नेपालीको समस्याका बारेमा केन्द्रित भर्चुअल छलफललाई मन्त्री ज्ञवालीले सम्बोधन गरेका थिए ।
विदेशबाट फर्किएका नेपालीलाई नेपालमै उनीहरुको क्षमता र सीपका अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाइरहेको र कतिपय योजनासमेत बनिसकेको उनको भनाइ थियो । नेपाल फर्केका नेपालीको ज्ञान र सीपको तथ्याङ्क सङ्कलन गर्ने कार्यमा सङ्घले सहकार्य गर्न सक्ने मन्त्री ज्ञवालीले बताए ।
छलफलमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीले राज्य सरह सङ्घप्रति अपेक्षा राख्ने गरेको अनुभव सुनाउँदै सरकारसँग सोही तहको सहकार्यको अपेक्षा राखेको बताए ।
कार्यक्रममा सङ्घका महासचिव डा हेमराज शर्माले कोभिड–१९ को कहरका बीच सङ्घको आयोजनामा हुने दोस्रो विज्ञ सम्मेलनको बारेमा जानकारी गराएका थिए ।






