काठमाडौं भदौ ३१ । संसारमा मानिसले अनेकन दुःखहरु झेल्नुपर्छ तर यस्तो दुःख शायद कमैले भोगेका होलान् । वर्षौदेखि यस्तै अनौठो र सुन्दै अचम्म लाग्ने खालको दुःख झेलिरहेका छन्, सुनसरी ईटहरी निवासी लक्ष्मण मोक्तानको परिवारले । उनी नेपाल तामाङ घेदुङको संरक्षक सदस्य र पूर्व क्षेत्रीय सचिव समेत हुन् ।
सेनाको जागीरबाट रिटायर लाईफ विताउने क्रममा मोक्तान ताप्लेजुङबाट इटहरी बसाइँ सरे । ४ छोराछोरी र आफूहरु दुईजना सहित ६ जनाको परिवार । छोराछोरी ठूला हुन्छन्, कमाउँछन् र आनन्दको जिन्दगी बिताउने सामान्य मानिसको झैँ स्वर्णिम् कल्पना थियो मोक्तानको । तर कल्पना सत्य हुन सकेन ।
जन्मँदा सबै नानीहरु अरु झैं सकुशल जन्मिन्छन् । उनीहरुको पनि अरुको नानीहरु जस्तै विकास प्रक्रिया सामान्य ढंगले नै अघि बढ्छ । जब ४, ५ वर्षको उमेरमा उनीहरु पुग्छन् तब आँखाको ज्योति गुम्न थाल्छ । विस्तारै बोली पनि हराउँदै जान्छ र ९, १० वर्षको उमेर भएपछि लड्ने अनि १६ वर्षको उमेर नाघेपछि हलचल गर्न नसक्ने गरी ओछ्यान पर्छन् । अहिले तीनवटा ठूला नानीहरु ओछ्यानमा छ भने सानो छोरा मात्र सामान्य हिड्डुल गर्न सक्छन् । मोक्तान परिवार छोराछोरीको उपचारको लागि कुन अस्पतालमा पुगेनन् तर विडम्वना सबैको उपचार गर्ने डाक्टरले उनको छोराछोरीको उपचार गर्न सकेन । उपचार गर्न नसकेपछि डाक्टरले तिम्रो छोराछोरीमा वंशानुगत रोग सरेको हो भनेछन् । मोक्तानले वंशानुगत रोग हो भने मेरो कुन वंशमा भएको थियो ? भनेर डाक्टरलाई सोध्दा उनीहरुसँग यसको जवाफ छैन । उपचार कतै सम्भव नभएपछि बाबुआमा दुवैजना थला परेका ४ जना नानीहरुको सुसारसम्भारमा दिन विताउँछन् । आजसम्म त बाबुआमाको हातपाउँ चलेको छ । नानीहरुलाई राम्रैसँग खुवाउने, पियाउने गरेका छन् तर बाबुआमाको पनि हातपाउँ बसेपछि ती नानीहरुको अवस्था के होला ? यो प्रश्नको उत्तर न समाजसँग छ, न राज्यसँग नै छ ।
सामाजिक सञ्जाल र मिडियाबाट ती नानीहरुको अवस्थाबारे जानकारीपछि अभियन्ता सरिन ख्युङ्बा तामाङज्यू त्यहाँ पुग्नु भयो र सहयोगको लागि फेसबुक लाईभ मार्फत अपील गरेकी थिइन् । उनले चलाएको अभियानबाट हाल नानीहरुको कपडा धुनको लागि वासिङ मेसिनसहित भर्खरै ५१०,१५० रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको जानकारी छ ।







