ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो ।
कार्यालयमा आगन्तुक पस्दा र निस्कदा यन्त्र मानवले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा अपनाउन सजग गराउने नाष्टका प्रविधि सङ्काय साना जलविद्युत आयोजनाका प्रमुख रोशन पाण्डेले बताए । कार्यालयमा छिर्ने व्यक्तिले कार्यालयबारे जानकारी लिनुपरेमा कृत्रिम इन्टेलिजेन्समार्फत बोलेर श्रव्यदृश्यका साथ दोहोरो संवाद समेत गराउने पाण्डेले जानकारी गराए ।
मूलुकमा बिहीबार आठौं विज्ञान दिवस मनाइरहँदा नाष्टले ‘स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने यस वर्षको नारालाई आत्मसाथ गर्दै विज्ञान, प्रविधि र नवप्रवर्तनलाई यस प्रविधिको विकास गरेको छ ।






