काठमाडौं । कर्णाली आवाज डटकम सञ्चालन गर्दै आएका जुम्लाका २६ वर्षीय पसल रोकायाले कर्णाली एचडी फेसबुक पेज र युट्युब प्रयोग गरी व्यक्तिको चरित्रहत्या गर्ने गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
विभिन्न व्यक्तिले चरित्रहत्या र ठगी गरेको भनी दिएको उजुरीका आधारमा उनलाई आइतबार इलामबाट पक्राउ गरी ल्याएर सोमबारदेखि आवश्यक अनुसन्धान थालिएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ । उनले विभिन्न ठाउँमा जागिर लगाई दिने बहानामा पैसासमेत ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले दुवै पक्षको नक्कली फेसबुक एकाउन्ट बनाई च्याट गरी त्यसको स्क्रिनसट प्रयोग गरेर भ्रामक समाचार प्रकाशन गरेको पत्ता लागेको छ ।
उनी खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा दर्ता गरी ठेक्कापट्टा पनि गर्ने गरेको पाइएको छ । शुभलक्ष्मी अस्पतालको अध्यक्ष बनेको तथासंविधान कलेज पनि हालसालै दर्ता गरेको पाइएको छ । त्यसमा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतको पढाइ गराउने भनी प्रचार गरेको पाइएको परिसरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।






