कपिलवस्तु । बुद्धजन्मस्थल लुम्बिनीको सुरक्षालाई व्यवस्थित बनाउन डिजीटल सुरक्षा प्रणाली शुरु गरिएको छ ।
लुम्बिनीको उद्यान, बिहार क्षेत्र र लुम्बिनीग्रामको विभिन्न ठाउँमा गरी १७५ सिसि टिभि र २५ वटा पिटिजेड क्यामेरा जडान गरिएको छ । यसबाट लुम्बिनीको सुरक्षा व्यवस्था डिजिटलाइज्ड भएको हो । फाइबर र वायरलेस माध्यमबाट लुम्बिनीको महत्वपुर्ण क्षेत्रमा सिसिक्यामेरा जडान गरी चौबिसै घन्टा सुरक्षा निगरानी गरिएको लुम्बिनी विकास कोषका सूचना प्रविधि इञ्जिनियर दिवाकर गौतमले बताए ।
क्यामेराको सम्पुर्ण नियन्त्रण विकास कोषमा राखिएको आइटी कन्ट्रोल रुमले गरिरहेको हुन्छ । कन्ट्रोल रुममा नेपाल प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षाकर्मीले क्यामेरामार्फत मनिटरमा लुम्बिनी क्षेत्रको गतिविधिको निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।
लुम्बिनीकै सुरक्षालाई प्राथमिकता दिएर सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षकको कमान्डमा सशस्त्र प्रहरीको गुल्म लुम्बिनीमा छ । नजिकै नेपाल प्रहरीको प्रहरी निरीक्षकको कमान्डमा इलाका प्रहरी कार्यालय लुम्बिनी छ । कन्ट्रोल रूममा १२ वटा टिभि स्क्रिन छन् । यो सुरक्षा प्रविधी जडानको काम आर्थिक वर्ष २०७४।०७५ मा शुरु भएको हो ।






