गोर्खा कपको मेला : जथाभावी फ्याँकिएका फोहोरमैला

SHARE:

सुधा गुरुङ
बेलायतमा मे महिनाको अन्तमा पर्ने ब्यांक होलिडे (Monday)अर्थात् सार्वजनिक बिदाको अघिल्लो दिन आइतबारलाई एक विशेष मेला वा भेलाको रुपमा मनाउने गरिन्छ । तमुधिं युकेको आयोजनामा बर्सेनी यही मितिमा हुने मेला हो गोर्खा कप । यो मेला बेलायतमा मात्रै नभएर संभवतः युरोपभरी नै नेपालीहरुको सबैभन्दा ठूलो सोसल इभेन्ट हो भन्दा फरक नपर्ला ।

सन् २००० मा तमुधिं युकेको विधिवत् स्थापनापछि तत्कालीन संस्थापक अध्यक्ष मीन कोन्मे सिक्लिसेको कार्यकालमा २००३ बाट सुरु गरिएको हो, गोर्खा कप । तत्पश्चात् सो प्रतियोगिता बर्सेनी हुँदै आएको छ । यसपटक पनि गत आइतबार, मे २७ का दिन क्वीन्स एभेन्यू, अल्डरसटमा १६औं गोर्खा कप बडो भव्य र सभ्य तरिकाले सम्पन्न भयो । ‘

गजबको कुरो, अक्वसर फरक नपर्ने बेलायती मौसमविदहरुको मौसमी अनुमानसमेत यो पाली गलत साबित हुनगयो । सो दिन मेघ गर्जनसहित वर्षा हुने मौसमी विवरणले आयोजक तमुधिंका सबै सदस्यहरुलाई चिन्तित तुल्याएको अवस्था थियो । तर, बिहानी पख सरसर… हावा बहेको एकदम शीतल मौसम अनि अपराह्नपछि घमाइलो हुँदैजानाले सुनमा सुगन्ध भनेजस्तै बेलायत भरिबाट जम्मा भएका हजारौं नेपालीहरुले एकापसमा भेटघाट, भलाकुसारी गर्ने मौका पाए । उनीहरुले विविध थरिका खानपानको स्वाद चाख्ने, नानाथरीका पसलहरुमा स्वदेशी तथा विदेशी सरसामानहरु किनमेल गर्ने अवसर पाउनुका साथै एनआरएनए युकेले गरेको स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने मौका समेत पाए । सोका अलावा नेपालीहरुले गरेका विविध व्यापार व्यवसायको बारेमा पनि जान्ने बुझ्ने मौका पाए । विविध मनोरञ्जनमा प्यारासुट डिस्प्ले, ब्रिगेड ब्यान्ड, सयपत्री ग्रुपको आकर्षक नृत्य, नौमती बाजाका साथै यो पालिको विशेष आकर्षण एफए कप ट्रफी (F.A.Cup Trophy) रहेको थियो । जसको बन्दोबस्त सहारा युकेका अध्यक्ष मीन साइँलाले गरेका थिए । यस पटकको गोर्खा कपमा मुख्य विधाअन्तर्गत कुल ३२ टिम र भेट्रानतर्फ १० टिम सहभागी थिए भने हङकङ, बेल्जियम र हलेन्डको टिमले पनि भाग लिए ।

योङ टोलीमा मंगोलियन भान्जाज् र ब्रिगेड ब्वोईजबीच कडा प्रतिस्पर्धा हुँदाहँुदै खेल बराबरीमा टुंगियो । त्यसपछि थप समय दिइएकोमा ब्रिगेड ब्वोईजलाई शून्यका विरुद्ध एक गोलले पराजित गरी मंगोलियन भान्जाजले आइडिया फर नेपालले प्रायोजन गरेको २५०० पाउन्डको पहिलो पुरस्कार र ट्रफी हात पार्न सफल भयो । ब्रिगेड ब्वाइजले रवि लामिछानेद्वारा प्रायोजित १५०० पाउन्डको दोस्रो पुरस्कार प्राप्त गर्‍यो ।

त्यस्तै भेट्रानतर्फ ईलाम एफसी प्रथम र केन्ट एफसी दोस्रो भए । ती टिमले क्रमशः अनुग्रह ज्वेलर्सद्वारा प्रायोजित १२०० र डीडी लन्डनद्वारा प्रायोजित ८०० पाउन्डको पुरस्कार हात पारे ।
यस पटकको १६औं गोर्खा कप १४, ००० को हाराहारीमा दर्शकहरुको सहभागिता रहेको गोर्खा कप सफल भएकोमा तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, मुख्य खेलकुद संयोजक क्याप्टेन पीताम्बर गुरुङ (एष्त न्चन), गोर्खा कपलाई सफल पार्न अहोरात्र खटिएका तमुधिंका सम्पूर्ण भोलन्टीयर सक्रिय सदस्यहरु, आमा समूह र अध्यक्षा प्रेमा गुरुङलाई बधाई र आउन लागेको नेपाली मेलाको लागि हार्दिक शुभकामना ।

गोर्खा कपबारेको समाचार त अहिलेसम्म तपाईंले थुप्रै पटक फेसबुकलगायत विविध अनलाइन न्यूज पेपरहरुमा पनि पढिसक्नु भएको छ भने सहभागीले प्रत्यक्ष देखिसक्नु भएको छ ।

यी त भए गोर्खा कपको रमाईलो पक्ष । यीबाहेक गोर्खा कपको चउरमा पटक पटक चक्कर काट्दा एउटा कुरोले मेरो ध्यानाकर्षण बारम्बार गरिरह्यो । हुन त, यो कुनै नौलो कुरो हैन, सधैं यस्तै भइरहेको अवस्था हो । यसपटक यसै विषयमा दुई, चार हरफ कोर्नै मन लाग्यो । अनि सो बारे ध्यानाकर्ष्ण गरें कतै अर्कोपटक केही सुधार आउला कि ? भन्ने आशाले, अन्यथा नलिनुहोला ।

यदि तपाईले तस्बिरमा नजर लाउनु भो भने चउरभरी जथाभावी फोहोर मैला फालिएको देख्नुभो होला । यस्तो किन ?? हामीकहाँ छौं ? अनि किन यस्तो गरिरहेछौं ?? भनिरहन नपर्ला हामी संसारको सबै भन्दा सभ्य र विकसित देशमा छौं । तर व्यवहारमा हामी किन यत्ति असभ्य ? विदेश बसेको दशकौं बितिसक्यो…या यसो भनौं आधाभन्दा बढी उमेर हामीले बिदेशमै बिताइसक्यांै । अब त अधिकांशले विदेशी बेलायती पासपोर्ट पनि लिएर बेलायती नै भइसक्यौ तर हाम्रो व्यवहार अझै यत्ति अव्यवहारिक र असभ्य किन ?

खाएर जथाभावी चउरभरी फोहोर फाल्नुअघि किन हामी अलिकति नहच्केको ? किन केही नसोचेको ?? हैट ! यो त अत्ति नै भो भन्ने लागिरह्यो ।

हरेक वर्ष गोर्खा कप सकेको भोलिपल्ट त्यो फोहोर सोहोर्दै हिँड्न पर्छ आयोजक तमुधिंका स्वयमसेवकहरुलाई । यदि जथाभावी फोहोर फाल्नुको सट्टा व्यवस्थित तरिकाले फाल्नु पर्ने ठाउँमा फालिदिए बेलायतको अमूल्य समय भोलिपल्ट त्यसरी नष्ट हुने त थिएन नि, हैन ? मन मनमा सोचें, ठाउँ ठाउँमा यदि ठुल्ठूला फोहोर फाल्ने कन्टेनरहरु राखिदिए सायद यस्तो मनपरी फोहोर फाल्थेनन् कि ? कारण सानोतिनो कुम्भमेला जस्तो हजारांैको संख्यामा भेला भएका जनताको जमातमा ठाउँ ठाउँमा राखिएको त्यो ब्ल्याक बिन लाईनर (कालो प्लास्टिकको थैलो) एकैछिनमा भरिएर लाखापाखा भइरहेको थियो । अनि मान्छेहरु जता खाए त्यतै फाल्दै ढुक्कसँग हिँडिरहेका थिए । मानौं उनीहरुले पैसा तिरेर खाएका हुन् । किनेर खाएकाले जथाभावी फाल्ने उनीहरुको नैसर्गिक अधिकार हो र त्यो फोहोर टिपेर फाल्ने आयोजकको जिम्मेवारी । त्यो देख्दा मलाई किन किन यस्तै अनुभूति भयो । तर, त्यसरी फाल्नेले सोच्न पर्ने हो कि उनीहरुले पैसा तिरेर हैन पाउन्ड तिरेर खाएका हुन् । पाउन्ड तिर्नेले फोहोर त्यसरी जता पायो त्यतै फाल्दैनन । पोको पारेर साथै लिएर हिँड्छन् अनि फाल्न पर्ने ठाउँमा मात्रै फाल्छन् ।

हरे ! नेपालीपन अनि नेपाली बुद्धि । जता गए पनि नेपालीपन नछोड्नुको यो एउटा ज्वलन्त उदाहरण हो भन्ने लागिरह्यो । भाषण झार्न भने सिपालु हामी तर सिक्न पर्ने आधारभूत साधारण कुरो पनि किन केही सिक्न सकिरहेका छैनौं ?
कुनै सानो भेला होस् या ठूलो मेला, बेलायत आएको वर्षौ बित्दा पनि हामी उही भाषण, आसनग्रहण, सम्बोधन र माल्यार्पणमै अल्झिरहेका छौं । हरेक कार्यक्रममा नेपाली टाईमलाई मेन्टेन गरिरहेका छौं अनि वल्र्ड फेमस इंग्लिस टाइमलाई मात दिइरहेका छौं । यहाँसम्म कि अब त गोराहरुले समेत नेपाली टाईम त हो नि हैन ? भन्न थालिसके…!

यो बडो लज्जास्पद कुरो हो । तर, मेलामा सहभागी ती हजारौं जनतामध्ये कतिले यो कुरा अनुभूत गरे होलान् त ? के तपाईं अनुमान लगाउन सक्नुहुन्छ ? अथवा तपाई स्वयम्ले के यो सब सोच्नुभो त ? त्यो कुरा नै मुख्य हो । हरेक ईन्डिभिजुअलले यदि यसरी सोचेर आफ्नो फोहोर आफंैले पोको पारी निर्धारित स्थानमा फालिदिए यो समस्याको समाधान स्वतः हुन्छ जस्तो मलाई लाग्छ । तर अफसोंच…

यसैबारे केही कुरा गरांै, बुझौ भनी आयोजकमध्येका एक मुख्य कार्यकर्तालाई सोही साँझ फोन गर्दा फोहोर फाल्नकै लागि ३० वटा फोहोर फाल्ने प्वाईन्ट र पाँच वटा ४ हजार लिटरको स्कीप (ठूलो ढवांङ्ग) ठाउँ ठाउँमा राखिएको जानकारी पाइयो । तर सायद त्यो स्कीप सहभागीको आँखाले नभ्याउने स्थानमा थिए कि त ? जस्तो पनि लाग्यो । कारण मैले पनि देखेको थिइनँ । कता थियो त ? भनेर सोध्दा रेस्टुरेन्टहरुको पछाडि भनियो । पक्कै पनि ती स्कीपलाई रेस्टुरेन्टले नै छेके नि…। त्यसैले आउने दिनमा त्यसलाई सबैको आँखा पर्ने स्थानमा राख्न जरुरी देख्छु ।

जे होस् आगामी वर्ष तमुधिंले फोहोर व्यवस्थापनका लागि विशेष व्यवस्था मिलाओस् भन्ने अनुरोध गर्न चाहन्छु । हरेक वर्ष पोर्ट लू (शौचालय)को लागि जसरी व्यवस्था मिलाइन्छ र सोको सहयोगार्थ भोलुन्टर डोनेसन प्रदान गरिन्छ, त्यसको केही अंश फोहोर व्यस्थापनतिर पनि उपयोग गरियोस् र त्यसतर्फ पनि आयोजकको ध्यानाकर्षण होस् । साथै जनता जनार्दनले पनि कृपया जथाभावी फोहोर नफाली निर्धारित स्थानमा मात्रै फोहोर बिसर्जन गर्ने बानी बसाली सभ्यताको परिचय दिऊँ । बाँकी तपाईहरुको जो विचार !

क्योकी हम बोलेंगे तो बोलोगे कि बोलता है…

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!