एटा संवाददाता
अल्डरसट । नेपाली समुदायमा निकै चर्चामा रहेको एम्पायर बाङ्गक्युटिङ्ग एण्ड हलले दोहोरी सुरुआत गरेको छ ।
गत २ जुन शनिबार बेलुकी नेपालका प्रतिनिधिसभाका सांसदद्वय पदम गिरी र लालकाजी गुरुङले संयुक्त रुपमा रिबन काटी दोहोरीको सुरुआत गरेका हुन् । अल्डरसटस्थित एम्पायर हलको दोस्रो तलामा सुरु गरिएको सो दोहोरी साँझमा गायक बद्री केसी, कल्पना गुरुङ, कल्पना श्रीपाल र गायक मनसुधन थापाले फोटोग्राफर मिलन तमुद्वारा रचित ‘त्यो लाली जोवन…’ बोलको कौरा गीत गाएर दोहारीको शुभारम्भ गरेका थिए ।
बेलायतमा नेपालीहरुको वृद्धि सँगसँगै सञ्चालनमा आएका दोहोरी साँझहरु नियमित हुन नसकीरहने अवस्थामा एम्पायरका प्रबन्ध निर्देशक पूरन गिरीले आफ्नै व्यवस्थापनमा दोहोरी साँझको सुरु गरेका हुन् ।
उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रबन्धक गिरीले नेपाली लोकसंगीतलाई बेलायतमा जीवित राख्नु पर्छ भन्ने लागेर आफूले दोहोरी साँझ सञ्चालन गरेको बताए ।
३०० जनाभन्दा बढीको क्षमता रहेको एम्पायरको दोस्रो तलामा सो दोहोरी साँझ प्रत्येक शुक्रबार, शनिबार र आइतबार बेलुकी सञ्चालन हुनेछ ।
लोक संस्कृति भनेको हाम्रो पहिचान हो । यसको जर्गेर्ना गर्नु हामी सबैको कर्तव्य हो । तसर्थ दोहोरी साँझमा उपस्थित भई एकातिर मनोरञ्जन र अर्कोतर्फ संस्कृति संरक्षण तथा सम्वद्र्धनमा हातेमालो गर्न बेलायतवासी सबै नेपालीहरुलाई गिरीले अनुरोध गरेका छन् ।






