चिमखोले काइँला
तिनै नातेदारले फुलमतीको परिवारलाई आश्रय मात्र दिएन, उनीहरूले पाउने सुविधा पनि पाउनेगरी बन्दोबस्त गरिदिए । फुलमती र परिवारको खुसीका दिनहरू सुरु भयो । फुलमतीले अर्को सन्तानको पनि जन्म दिइन् । दिनहरू बित्दै जाँदा फुलमतीको पनि स–साना नानी भएको र घरवाला नातेदारको पनि उही उमेरको बच्चा भएकाले बच्चाहरूको निहुँमा खटपट सुरु भयो । फुलमती र नातेदारकी श्रीमतीबीच बोलचालसमेत बन्द हुन्छ । एक दिन यी दुईमा पनि ठूलै झगडा हुन्छ । फुलमतीको परिवार एक गोराको घरमा भाडाका बस्न पुग्छन् । फुलमती फेरि दोजिया भइन् । अर्को सन्तानको जन्म भयो । फुलमतीलाई अहिले सारो परेको छ । बालबच्चा हुर्काउने कि बूढो लोग्नेको स्याहार गर्ने ? पहिले नातेदारको घरमा बस्दा त उनले सहयोग गर्थे, अहिले सहयोग गर्ने मानिस पनि छैनन् । बालबच्चालाई स्कुल पु¥याउनु छ । रोगी बूढो लोग्नेलाई अस्पताल पु¥याउनुपर्नेछ । यस्तै समस्यामा उनले अरू पनि नेपालीसँग सहयोगका लागि हात फैलाउन थालेकी छन् । हारगुहार गर्ने गर्छिन् । उनीहरूको सहयोग किन पनि चाहिन्छ भने फुलमतीको आम्दानीले ट्याक्सी र पब्लिक ट्रान्सपोर्टमा विशेषगरेर लोग्नेका लागि अस्पताल आउजाउ धान्न सम्भव छैन । त्यो साह्रै महँगो पर्न आउँछ ।
यो परदेश भूमिमा जसरी नेपालीको संख्या बढ्दै गएको छ, त्यसरी नै सबैको आ–आफ्नै कथा छ, व्यथा छ, लक्ष्य छ र स्वार्थ छ । कसैले सोझो मन चिताएर दुःखमा परेकालाई मद्दत गर्छन् कसैको गिद्धेनजर हुन्छ । युकेका नेपाली कोही पढेर ठूलो व्यक्ति बन्ने ध्याउन्नमा छन् । कोही व्यापार गरेर पैसा कमाउने, काम गरेर पेट पाल्न व्यस्त छन्, कोही घर–जग्गा करोबारमा, कोही स्क्याम्प गरेर ठग्न, कोही ड्रग्स धन्दामा व्यस्त छन् । यही हुलमुलमा श्रीमान् नभएका वा वृद्ध श्रीमान् भएका तरुनीलाई मायाजालमा फसाएर ठग्ने र आफ्नो यौनचाहना पूरा गर्नेहरूको पनि कमी छैन । उनीहरू त्यस्ता महिलाको पिछा गरिरहन्छन्, सहयोगको नाटक गर्छन्, मायाको नाटक गर्छन् अनि आफ्नो स्वार्थ पूरा भएपछि चटक्क छाडेर हिँड्छन् । त्यस्तै स्वार्थ बोकेको राजीव नाम गरेको एक ठगले फुलमती समस्यामा रहेको कुरा बुझेका छन् । उनले फुलमतीको पिछा गर्न सुरु गरेका छन् । भइपरिआउने समस्यामा सरसहयोग सुरु गरेका छन् ।
राजीवको मनसायबाट अनभिज्ञ फुलमतीले राजीवलाई आफ्नो श्रीमान्लाई भर्ना गरिएको अस्पताल पुर्याइदिन अनुरोध गर्छिन् । राजीव सहजै तयार हुन्छन् । दुवैजना फुलमतीका श्रीमान् गर्जमान भेट्न अस्पताल पुग्छन् । फर्कंदा रात पर्छ । राजीवले त्यही मौकामा कारलाई अँध्यारो कुनातिर लगेर पार्क गर्छन् । फुलमतीको इच्छाविपरीत यौनसम्पर्क राख्छन् । आधुनिकता र प्रविधियुक्त बेलायतमा अनपढ फुलमतीलाई न त अंगे्रजी बोल्न आउँछ, न कार चलाउन, न त कानुन थाहा छ । अप्ठ्यारोमा काम लिने सजिलो उपायका रूपमा फुलमतीले यही बाटो अपनाइन्, सायद ‘एकचोटिको चोर सधैं भनेको यही होला ।
यस्ता पुरुषहरू फुलमतीसँग ठोक्किन आइपुगे । फुलमती आफैं पनि त्यस्ता पुरुषकोमा ठोक्किन पुगिन् । त्यस्ता पुरुषको घरमा जहान छोराछोरी हुने हुँदा स्थायी रूपमा कोही महिलासँग नबस्ने हुनाले फुलमतीका जीवनमा पनि आउँदै गरे, जाँदै गरे ।
उपचारकै क्रममा गर्जमानको अस्पतालमा मृत्यु भयो । गर्जमान जिउँदै छँदा त चालु भइसकेकी फुलमती र उनको यौवनको पिछा गरिरहेका पुरुषहरू । अब गर्जमान पनि नरहेपछि अझै खुला बनेका छन् । फुलमतीले पनि आफ्नो समस्या समाधान शरीर सुम्पेर गर्ने तरिकालाई बाध्यात्मक रूपमै सही सहज ढंगले गर्न थालेकी छन् । तैपनि कता–कता आफ्नो अस्मिता सुम्पनुपर्दा उनलाई बेचैन हुन्छ ।
कति समय फुलमतीले यही दोधारको जीवन बाँच्नुपर्ने हो, थाहा छैन । मैले यो जिन्दगी कहिलेसम्म जिउनुपर्ला ? लालाबाला नहुर्कन्जेलसम्म ? के यी लालाबाला हुर्केपछि उनले मुक्ति पाउलिन् यो समस्याबाट ? छोराछोरीले राम्रोसँग पढेर, राम्रो कमाइ गरेर दुःखका दिन अन्त्य गर्लान् ? मेरो पनि आफ्नै कार होला ? फुलमतीले धेरै रातमा जस्तै आजको रात पनि यिनै प्रश्नहरू आफैंले आफूलाई सोधिन् । आफ्नो जीवनका सबै पाटा सम्झिइन् । फेरि कोल्टे फेरिन् । सम्झना पनि सकिए । तैपनि निद्रा परेन ।






