आज (बिहीबार) कोभिड-१९ को भ्याक्सिन लिने अवसर जुर्यो खुसी लागिरहेको छ । आभारी छु, बेलायत सरकारप्रति । बेलायत रहेपछि बुढेसकालमा औषधोपचारका लागि समस्या झेलिरहनु पर्दैन भन्ने हामी सबैको बुझाई हो । तर यो कोरोना भाइरस कोभिड-१९ महामारीले बेलायतलाई नराम्रोसँग प्रभावित बनायो । बेलायतमा बस्ने हामी पनि नराम्ररी प्रभावित भयौं । हामीले कसैले बुवा, कसैले मुमा, कसैले श्रीमान्, कसैले श्रीमती, कसैले छोरा, कसैले छोरी र साथीभाइ इष्टमित्र शुभचिन्तक गुमायौं । हामी सबै घरभित्र थुनियौं ।
रेडियो, टेलिभिजन, पत्रपत्रिका, ओनलाइन मिडिया र सोसल मिडियामा कोरोना संक्रमित र कोरोनाबाट दिवंगत मृतकहरुको संख्याको बारेमा मात्रै खबर सम्प्रषण भइरह्यो जुन अत्यन्त भयावह थियो । कुन बेला के हुने हो कसैलाई पनि केही थाह थिएन । प्रत्येक सप्ताहन्तमा भेटघाट गर्ने, विवाह, व्रतबन्ध, अन्नप्राशन, गाउँले, नम्बरी पार्टीलगायत सबै कार्यक्रम ठप्प प्राय भयो । सपनासँग पनि डरायौं, विपनासँग पनि डरायौं । साथीभाइको फोन कलसँग पनि डरायौं । घरको परिवारसँग पनि डरायौं । आफूसँग पनि डरायौं । भगवान् छ कि छैन थाह छैन तर भगवान् भरोसा भन्ने गर्यो । यस्तो जटिल परिस्थितिमा भ्याक्सिनको कुरा चल्न थल्यो । त्यो कुराले मात्रै पनि धेरै राहतको महसुस भयो । कोरोना भाइरस कोभिड-१९ बाट सन्चो हुन तयार बनाएको । भ्याक्सिन o स्वास्थ्य सगठनले मान्यता दिने हो कि होइन ? भ्याक्सिन लगाएपछि धेरै साइड इफेक्ट गर्छ । मानिसलाई राम्रो हुँदैन । मर्न पनि सक्छ रे भन्ने अनावश्यक कुराहरु सुनाए । तर चिकित्साविज्ञानले इतिहास बनायो । कोरोना संक्रमणबाट बच्न भ्याक्सिन बनाएर छाड्यो ।
आज मैले लगाएको भ्यासिन Astra Zeneca हो । यो भ्याक्सिनु लिएर चार घन्टामा यो लेख तयार पार्दा त्यस्तो असहज केही छैन । तसर्थ अहिले अहोरात्र खटेर यो भ्याक्सिन तयार गर्ने वैज्ञानिकहरुलाई आभार व्यक्त गर्दछु । भविष्यमा पनि यसरी मानव जगतलाई बचाउन नयाँ-नयाँ आविष्कार बनाउन सफल भइरहोस् हार्दिक शुभकामना ।
बेलायत सरकारको जनताप्रतिको जवाफदेहिताको कारण आज मैले यो अवसर पाएँ । आसा छ छिट्टै सबैले यो अवसर पाउने छ । हामी सबै छिट्टै पुरानो लयमा फर्कने छौं । हामी सबै चाँडै भेट्ने छौं ।