- जानु काम्बाङ्ग लिम्बु
आँखाभरि सपना बोकेर
मनभरि रहर सजाएर
अदृश्य लक्ष्य भेट्न
टाढा टाढासम्म
निरन्तर, निरन्तर हिँडिरहनु पर्ने
जिन्दगी एक यात्रा रहेछ !
लाखौं लाख छन् सपनाहरू
हजारौं हजार छन् रहरहरू
लक्ष्यहरू टाढा अनि अदृश्य छन्
न लम्केर टिप्न सकिन्छ
न दौडेर भेट्न सकिन्छ
न उडेर समात्न नै सकिन्छ !
तै पनि, मान्छे
आँखाभरि सपना बोकेर
मनभरि रहर सजाएर
घोंडा झैँ बेग मार्दै
अदृश्य लक्ष्य ताकेर
काँढाहरू टेक्दै
पहाडहरू उक्लँदै
खोलाहरू तर्दै
दौडिरहनु पर्ने
लम्कीरहनु पर्ने
हिँडिरहनु पर्ने
जिन्दगी एक यात्रा रहेछ !
थाहा छैन कति हिँडियो
कति काटियो बाटो
अझै कति छ हिँड्नु ?
केही थाहा नभए पनि
दौडिरहनु पर्ने
अली पर पुगिरहनु पर्ने
अलिमाथि उक्लिरहनु पर्ने
जिन्दगी एक यात्रा रहेछ !






