कूटनीतिक माध्यमबाट नै समस्याको समाधान खोज्नुपर्छ : अध्यक्ष गाहा मगर

लन्डन साउन २७ । गोर्खा सत्याग्रह संघर्ष समितिले समानताको माग गर्दै लण्डनमा गरेको आमरण अनसनमा गैरआवासीय नेपाली संघ, एनसीसी यूकेले ऐक्यबद्धता जनाएको छ ।
एनसीसी यूकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगर नेतृत्वको एक प्रतिनिधि मण्डल अनसनस्थल पुगी आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो । ऐक्यबद्धता जनाउन एनसीसी यूकेका नवनिर्वाचित महासचिव खुसी लिम्बु, आइसीसी सदस्य समीर खनाल लगायत अन्य पदाधिकारीहरु अनसनस्थल पुगेका थिए ।
ब्रिटिश आर्मी सरह नै भूतपूर्व गोर्खा सैनिकहरुले पनि सुविधा पाउनुपर्ने माग गर्दै गत शनिबार देखि ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घले ब्रिटिश प्रधानमन्त्रीको कार्यालय नजिकै आमरण अनसन गरिरहेका छन् ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जारी राखेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नवनिर्वाचित अध्यक्ष गाहा मगरले कूटनीतिक माध्यमबाट वार्ताद्वारा नै यो समस्या समाधान हुनुपर्ने बताए । उनले गोर्खा समस्याको दिगो समाधानका लागि आफूले निरन्तर पहल गरिरहेको पनि स्पष्ट पारे ।
‘मैले नेपाल सरकारसंग गोर्खा समस्याको दीगो समाधानका लागि पहल गरिरहेको छु। कूटनीतिक माध्यमबाट वार्ताद्वारा यो समस्याको समाधान हुनु पर्छ भन्नेमा हामी दृढ छौं। एनआरएनए युकेको पनि त्यही धारणा हो,’ उनले भने ।
यसअघिको कार्यकालमा उपाध्यक्ष रहेका गाहा मगरले गोर्खा विभागको प्रामुखको रुपमा ५ ओटा गोर्खा संस्थाहरुलाई संगै ल्याएर ब्रिटिश प्रधानमंत्री र नेपाल सरकारलाई पत्र लेखेका थिए। उनले ब्रिटिश सरकारले पत्रको जवाफ दिएपनि नेपाल सरकारबाट कुनै जवाफ नआएको जानकारी दिए । ‘ब्रिटिश सरकारसंग सम्पर्क गरेर तत्काल वार्ता समिति गठन गर्न, वार्ताको ठाउँ र मिति तोक्न म नेपाल सरकारलाई आग्रह गर्दछु’ उनले भने ।
अध्यक्ष गाहा मगरले विश्वव्यापी कोभिड महामारीका कारण आन्दोलनमा लचकता अपनाउन संघर्ष समिति र अनसनकारीहरुलाई आग्रह पनि गरे ।
अध्यक्ष गाहा मगरले अनसनकारीहरु बसेको स्थानमा टाँगिएको टेन्ट ब्रिटिश प्रहरीले हटाउन खोजेकोप्रति आपत्ति जनाएका छन् । ‘शान्तिपूर्ण विरोध जनाईरहेका गोर्खा अभियन्ताहरु लाई हटाउन खोज्न निन्दनीय छ। ‘बेलायत जस्तो प्रजातान्त्रिक मुलुकमा शान्तिपूर्ण विरोध जनाउन पाउने मौलिक अधिकार हो। यस्तो अधिकारको सम्मान गर्न म ब्रिटिश सरकार र मेट्रोपोलिटन प्रहरीलाई आग्रह गर्दछु,’ उनले भने ।
आफू पनि एक भूतपूर्व गोर्खा सैनिक रहेको बताउँदै गाहा मगरले गोर्खा समस्यालाई आफूले नजिकैबाट बुझेको बताए । ‘समस्याको दीगो र सर्वसम्मत समाधान नभएसम्म म यो अभियानमा तपाईंहरु संगै छु, लागिरहने छु’ उनले भने ।
सो अवसरमा महासचिव लिम्बूले पनि भूतपूर्व गोर्खा सैनिकहरुको मागप्रति एनसीसी यूकेको पूर्ण ऐक्यबद्धता रहेको बताएका थिए ।






