कास्की ६ माघ । पोखरामा बिहीबारदेखि शुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टिम एपीएफले बिजयी यात्रा शुरु गरेको छ ।
दर्शकबिना खेलाइएको खेलमा एपिएफको जितको लागि आवास लामिछाने र प्रदीप लामाले समान १–१ गोल गरेका छन् । खेलको १३ औं मिनेटमा एपीएफका आवास लामिछानेले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । युरोपियन फुटबल खेलको अनुभव बटुलेका लामिछाने प्रतियोगिताको पहिलो गोलकर्ता पनि बनेका छन् ।
खेलको शुरूवातमै १ गोलले पछि परेको पहिलो हाफको सम्पूर्ण समय दबाबमा रहेका थियो । निर्धारित पहिलो हाफमा १–० ले अग्रता लिएको एपिएफले दोस्रो हाफको पनि सुरुआतमै दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो । खेलको दोस्रो हाफ ५९ औं मिनेटमा एपीएफका शनिष श्रेष्ठको लामो पासलाई कन्ट्रोल गर्दै प्रदीप लामाले बललाई दोस्रो गोलमा परिणत गरेका थिए । खेलमा आवास लामिछाने म्यान अफ दी म्याच घोषित भएका छन् ।
खेल हेर्न सहारा यूकेका अध्यक्ष लेरि कुसाङ गुरुङ, निवर्तमान अध्यक्ष कुमार गुरुङ, तमु धिं यूकेका अध्यक्ष हित काजी गुरुङलगायत नेपाल आएका छन् ।
मोफसलकै चर्चित फुटबल प्रतियोगिताका रुपमा लिइएको आहारारा गोल्डकपको यसवर्षको संस्करण दर्शकबिना नै भइरहेको छ । कोरोना महामारीका कारण प्रशासनले भिडभाड गर्न रोकेकाले दर्शकबिनै प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको दोस्रो खेल शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।
१० वटा टिम सहभागी रहेको प्रतियोगिताको विजेताले १० लाख र उप–विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।