नवलपरासी । गण्डक नहरका कारण नवलपरासीको सुस्ता गाउँपालिका-२ लक्ष्मीपुरको बस्ती तथा गाउँ डुबानमा परेपछि स्थानीय बासिन्दाले नहरको बाँध भत्काइदिएका छन् । खेतमा वर्षाको पानी भरिएपछि गाउँ डुबानमा पर्ने डरले पानीको निकास दिन गण्डक नहरको बाँध भत्काएर स्थानीयले पानी नहरमा मिसाएका हु्न् ।

पानीले धान खेती डुबानमा परेर नष्ट हुने र थप वर्षा हुँदा बाढी गाउँमा पस्ने गरेको भन्दै बाँध भत्काउन बाध्य भएको स्थानीयले बताएका छन् । गण्डक नहर भारतीय पक्षको नियन्त्रणमा रहेकाले नहर तथा साईफन एवं कुलोहरुको सरसफाई भारतीय पक्षले नै गर्नु पर्ने भएपनि भारतीय पक्षले नहरको रानीनगर साईफन र कुलोहरु सफा नगर्दा गाउँ तथा खेतीयोग्य जमिन डुबानमा पर्दै आएको छ ।
गत वर्षपनि भारी बर्षाका कारण सो गाउँ डुबानमा परि बालीनाली समेत नष्ट भइ ठुलो क्षति भएको थियो । स्थानीयले त्यतिबेला पनि पानीको निकासका लागि नहरको बाँध भत्काउने प्रयास गर्दा स्थानीय प्रशासनले रोक लगाउँदै भारतीय र स्थानीय पक्ष नहर तथा साईफन कुलो सरसफाइ गराई पानीको निकास गराउने सम्झौता गराएको थियो ।
तर त्यो सम्झौता अहिलेसम्म कार्यान्वयन नहुँदा यसवर्ष त्यहि समस्या देखिएकाले स्थानीयले बाध्य भई गएराति नहरको बाँध काटेर पानीको निकास खोलेका हुन् । स्थानीले बाँध भत्काएपछि डुवानमा परेको खेतको पानी घटिसकेको छ ।


