काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारको सहकार्यमा आयोजना गर्न लागिएको “चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को तयारीका सम्बन्धमा सोमबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरी सम्मेलनको अवधारणापत्र प्रस्तुत गरेको छ।
संघका उपाध्यक्ष एवं सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभागका प्रमुख डा. ज्ञानेन्द्र रेग्मीको नेतृत्वमा प्रतिनिधिमण्डलले सम्मेलनको उद्देश्य, सम्मेलनमार्फत नेपालमा रहेका ज्ञान, सीप, प्रविधि तथा विश्वभर फैलिएका नेपाली विज्ञहरूको अनुभवलाई राष्ट्रिय विकाससँग जोड्ने योजनाबारे परराष्ट्रमन्त्री खनाललाई जानकारी गराउनुभएको थियो । परराष्ट्रमन्त्रीसँगको भेटका लागि उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राई, उपमहासचिव कृष्ण पोखरेल, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत तथा वरिष्ठ अधिकृत कुनाल मिश्र सहभागी हुनुहुन्थ्यो ।
परराष्ट्रमन्त्री खनालले सम्मेलनलाई सफल बनाउन नेपाल सरकार आवश्यक सहकार्य गर्न सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता, उद्यमी तथा पेशाकर्मीहरूको ज्ञान र अनुभवलाई नेपालको विकास र समृद्धिका लागि उपयोग गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
भेटवार्ताका क्रममा उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राईले गैरआवासीय नेपाली नागरिकता ऐनको कार्यान्वयन तथा त्यससँग सम्बन्धित विद्यमान कानुनी एवं व्यावहारिक अवस्थाबारे जानकारी गराउँदै कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूको समाधान गर्न आवश्यक पहल गर्न आग्रह गर्नुभयो।
जवाफमा परराष्ट्रमन्त्रीले गैरआवासीय नेपालीहरूको दीर्घकालीन चासोसँग जोडिएका सम्पत्ति, लगानी तथा भिसासम्बन्धी केही कानुनी व्यवस्थालाई आवश्यक संशोधनमार्फत अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो। यसले गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी तथा आर्थिक गतिविधिमा सहभागी हुन थप सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको थियो।
यसै क्रममा प्रतिनिधिमण्डलले आजै परराष्ट्र मन्त्रालयका श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका प्रमुख पुष्पराज भट्टरा सँग पनि छुट्टै भेटवार्ता गरेको थियो। भेटमा विश्व ज्ञान सम्मेलन–२०२७ को तयारी, सरकार र गैरआवासीय नेपाली संघबीचको समन्वय, नेपाली डायस्पोराको ज्ञान, सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने विषय तथा गैरआवासीय नेपालीसँग सम्बन्धित समसामयिक मुद्दाहरूमा छलफल भएको थियो। सो क्रममा गैरआवासीय नेपाली संघद्वारा आयोजना हुन गइरहेको युरोप क्षेत्रीय सम्मेलन तथा एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन को तयारी सम्बन्धमा समेत अद्यावधिक जानकारी गराइएको थियो।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग पनि भेटवार्ता
यसै क्रममा प्रतिनिधिमण्डलले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेटवार्ता गरी नेपाल सरकारको सहकार्यमा आयोजना हुन लागेको चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ सम्बन्धी अवधारणापत्र प्रस्तुत गरेको थियो। भेटका क्रममा नेपालमा नवप्रवर्तन, अनुसन्धान, प्रविधि विकास तथा ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने सरकारको अभियानलाई सम्मेलनले महत्वपूर्ण योगदान पुर्याउन सक्ने उल्लेख गर्दै सहकार्यका लागि अनुरोध गरिएको थियो।

भेटमा मन्त्री पुनले विदेशमा रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा उद्यमीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग प्रभावकारी रूपमा जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले ज्ञान हस्तान्तरण, अनुसन्धानमा अन्तर्राष्ट्रिय सहकार्य तथा नवप्रवर्तन प्रवर्द्धनका क्षेत्रमा गैरआवासीय नेपाली संघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले ब्रेन गेन सेन्टरलाई पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिँदै त्यस अभियानलाई सफल बनाउन विदेशमा रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा उद्यमीहरूको ज्ञान, सीप र अनुभव अपरिहार्य हुने बताउनुभयो। साथै, विश्वभर फैलिएको नेपाली डायस्पोराको बौद्धिक तथा व्यावसायिक क्षमतालाई नेपालको समृद्धि र दिगो विकासका लागि प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।
सम्मेलनमार्फत विश्वभर रहेका नेपालीहरूको ज्ञान, अनुसन्धान, नवप्रवर्तन, प्रविधि, सीप तथा अनुभवलाई नेपालको सुशासन, आर्थिक रूपान्तरण, नवप्रवर्तन तथा दिगो विकासका राष्ट्रिय प्राथमिकतासँग प्रभावकारी रूपमा जोड्दै नेपाल सरकार, शैक्षिक तथा अनुसन्धान संस्थाहरू, निजी क्षेत्र र विश्व नेपाली विज्ञहरूबीच दीर्घकालीन सहकार्यको बलियो आधार निर्माण गर्ने उद्देश्य राखिएको छ। यसअघि गैरआवासीय नेपाली संघको आयोजनामा प्रथम विश्व ज्ञान सम्मेलन सन् २०१८, द्वितीय विश्व ज्ञान सम्मेलन सन् २०२० तथा तृतीय विश्व ज्ञान सम्मेलन सन् २०२३ मा सफलतापूर्वक सम्पन्न भइसकेका छन्। ती सम्मेलनहरूबाट प्राप्त अनुभव र उपलब्धिलाई आधार बनाउँदै चौथो विश्व ज्ञान सम्मेलन–२०२७ आगामी जनवरीमा आयोजना गर्न लागिएको हो।






