काठमाडौं माघ १८ ।

सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल जेठ ४ गते एकै चरणमा गर्ने भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी भएको हो । छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका छन् ।
सरकार र आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए । आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो। तर, सत्तारुढ गठबन्धन भित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको थिएन ।
गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न सहमति जनाएपछि मंगलबार प्रधानमन्त्रीले जेठ ४ मा गर्ने बताएका हुन् ।






