चारधाम यात्रा – पहिलो दिन

SHARE:

यात्रा केवल गन्तव्यतर्फको पाइला होइन, धैर्य, सहकार्य र स्वीकारको पहिलो परीक्षा पनि रहेछ।
चार धाम यात्राको हाम्रो पहिलो दिन योजनाअनुसार दिल्लीबाट सुरु हुनुपर्ने थियो। दिल्लीको होटेलमै हाम्रो सम्पूर्ण यात्राका लागि तय भएको बस आउन अनुरोध गरेको थिएँ। हाम्रो पहिलो चार दिनका लागि नियुक्त गाइड शुमांसु जीले निकै दुःख गरेर मुख्य सडकमा बस रोकेर होटेलसम्म हामीलाई लिन आउनुभयो। उहाँको त्यो प्रयासले पहिलो भेटमै जिम्मेवारीको अनुभूति गरायो।
बेलायतबाट आउने हाम्रो टोलीको उडान लगभग दुई घण्टा ढिलो भयो। त्यसैले मैले गाइडलाई दिनको चार बजेतिर मात्र यात्रा सुरु गर्न सकिने जानकारी दिएको थिएँ। तर वास्तविकता योजना भन्दा फरक नै हुने रहेछ। साँझ पाँच बजेतिर मात्रै अन्ततः हामी हरिद्वारतर्फ प्रस्थान गर्न सक्यौँ।
ठुलो अन्तर्राष्ट्रिय समूहसँग यात्रा गर्दा केवल विमान अवतरण भएर हुँदैन रहेछ। इमिग्रेसन पार गर्नुपर्ने, नयाँ भारतीय सिम कार्ड लिनुपर्ने, मुद्रा साट्नुपर्ने—यी सबै प्रक्रियाले अपेक्षाभन्दा धेरै समय लियो। हाम्रो बसले यात्रुभन्दा बढी पार्किङमै समय बितायो, अनि पार्किङ शुल्क मात्रै करिब आठ हजार भारतीय रुपैयाँ तिर्नुपरेछ।
मुख्य टोलीसँग भेट हुनुभन्दा अगाडि नै मैले गाइडलाई हाम्रो समूहबारे केही कुरा सुनाइसकेको थिएँ। “हामी बेलायतमा बस्ने भएकाले समयलाई निकै महत्त्व दिन्छौँ। जति समय लाग्छ, त्यति नै भनिदिनुहोस्। सूचना समयमा दिनुहोस्। जस्तो अवस्थामा पनि नआत्तिनुहोस्। र एउटा जीवनकै लागी महत्त्वपूर्ण कुरा… “खानामा पनि नुन कम होस्, बोलीमा पनि नुन कम होस्।” यथार्थमा यो वाक्य मैले हाम्रो यात्राका गाइडलाई भनेको भए पनि वास्तवमा यात्राको मूल मन्त्र नै थियो।
बिहान हाम्रो लागी बुक गरिएको बस देख्ने बित्तिकै मेरो मनमा एउटा सानो शङ्का जन्मिएको थियो “यो बसमा यति धेरै लगेज अट्ला त?” र भयो पनि त्यही।
हाम्रा सामानहरू सहित  बेलायतबाट आएको हाम्रो टोलीको सामानले बसको बुट नै भरियो। बाँकी यात्रुले आ-आफ्नो खुट्टा, झोला र शरीर मिलाउँदै निकै कष्टका साथ बस्दै दिल्ली हरिद्वारको गरियो त्यसो यात्रा भनेको केवल आराम होइन, एक अर्कालाई अलिकति ठाउँ छोडिदिने अभ्यास पनि रहेछ। साँझ ५:१० बजे भारतीय समयअनुसार बस हरिद्वारतर्फ हुइँकियो। दिल्ली–हरिद्वार जोड्ने राष्ट्रिय राजमार्ग–७ (NH7) मा प्रवेश गरेपछि बल्ल केही राहत महसुस भयो।
दिल्लीको करिब ४० डिग्री तापक्रम, दिनभरको प्रतीक्षा, निद्राको कमी र खाली पेटले म र पवित्रा दुवैलाई निकै थकित बनाइसकेको थियो। बिहान एरोसिटीमा खाएको एउटा South Indian नास्ताबाहेक पेटमा केही थिएन।
गाइडलाई पनि अन्तर्राष्ट्रिय यात्रुहरू एयरपोर्टबाट बाहिर निस्कन कति समय लाग्छ भन्ने अनुभव रहेनछ। बेलायतमा वर्षौँ ट्याक्सी चलाएको अनुभवले मलाई भने थाहा थियो कुनै पनि अन्तर्राष्ट्रिय विमान समयमै अवतरण भए पनि यात्रु बाहिर आउन धेरै समय लाग्न सक्छ।
हाम्रो टोलीकी संयोजक सुषमा भाउजूको एउटा विशेषता छ—हरेक कुरा सकेसम्म पूर्ण होस्, सबै जिम्मेवारी आफ्नै काँधमा लिनुपर्छ भन्ने उहाँको स्वभाव। यस्ता व्यक्तिहरू समूहका आधार स्तम्भ त हुन्छन्, तर कहिलेकाहीँ सबै कुरा आफैंले सम्हाल्ने प्रयासले सम्पूर्ण टोलीको गति पनि अलिकति सुस्त बनाइदिन्छ। तर उहाँको नियत भने एउटै हुन्छ—“सबै खुसीका साथ सुरक्षित राम्रो होस्।”
हाम्रो टोलीका मिडिया संयोजक प्रकाश गुरुङ ज्युले भने यात्रा सुरु भएदेखि नै हरेक क्षण क्यामेरामा कैद गरिरहनुभएको थियो। कम बोल्ने, तर अनुभव र ज्ञानको खानी। कतिपय मानिसहरू धेरै बोलेर होइन, आफ्नो उपस्थितिले नै प्रभाव छोड्छन्। उहाँ त्यस्तै व्यक्तित्व हुनुहुन्छ। राजुराम गुरुङ दाइ र भाउजूको हामीहरूसँगको यो पहिलो यात्रा हो ।
दिल्लीबाट बाहिर निस्कन मात्रै निकै समय लाग्यो। दिल्लीको ट्राफिकका बारेमा त सबैलाई थाहै छ । उता सबैको पेटले आन्दोलन सुरु गरिसकेको थियो। मेरठभन्दा केही किलोमिटर अगाडि एउटा ढाबामा बस रोकियो। त्यहीँ पुगेर बल्ल केही खाजाखुजी गरियो। त्यो बेला साधारण खाना पनि प्रसादजस्तै स्वादिलो लागिरहेको थियो। यता यसरी समूहमा हिँड्दा हरेक पात्रहरूका आफ्ना आफ्नै बानीहरू व्यवहारहरू र अडकलबाजी हुने रहेछन् । समूहमा हिँडेपछि हरेकले आफूलाई भन्दा बहुमत समूहका सदस्यहरूलाई केन्द्रमा राखेर सोही अनुसार व्यवहार गर्नुपर्छ । पहिलो कुरा त कम बोल्ने तर धेरै भन्दा धेरै सुन्ने बानी बसाल्नु पर्छ ।
रातको ११:५० बजे हामी हरिद्वारस्थित होटेल सरोवर भन्नेमा पुग्यौँ। रातको १२:१५ बजे निकै पहिल्यै पकाएर राखिएको खाना भए पनि कसैले गुनासो गर्ने कुरै भएन । यात्रामा भोक नै सबैभन्दा ठुलो मसला रहेछ। त्यसपछि भोली बिहान साढे छ बजे नुहाई धुवाई गरेर लाउन्जमा जम्मा हुने निर्देशन दिइयो। थकित सबै जना आ-आफ्ना कोठातर्फ लागे।
भारत यात्राको पहिलो दिनमै केही रमाइला शब्दहरू पनि सिकियो। “हो जाएगा…” भनेपछि काम हुन्छ भन्ने आशा त जाग्छ, तर त्यो कहिले हुन्छ भन्ने चाहिँ भगवान्लाई मात्र
थाहा छ । “फ़िक्र मत करो…”
यो सुन्नासाथ चाहिँ अब  चिन्ता गर्न सुरु गर्नुहोस् । त्यस्तै “कुछ ही देर में आएगा…” भन्नुको अर्थ पाँच मिनेट पनि हुन सक्छ, पाँच घण्टा पनि। लगभग यी शब्दहरू आफैँमा एउटा छुट्टै भारतीय दर्शन रहेछन्। रमाइलो कुरा त यो विषयमा कुरा गर्दा अझै गर्व गर्दै “हम लोग ऐसे ही हैं….” पो भन्छन् त ।
यात्रा सुरु हुनुभन्दा केही दिनअघि नै मलाई रुघाखोकीसँगै हल्का ज्वरो आएको थियो। त्यसैले पहिलो दिनको अन्त्यसम्म शरीरले राम्रो साथ दिइरहेको थिएन।तर बुढीको साथ भएपछी सेवा र सुश्रुषाको अगाडी जस्तै समस्याले पनि घुँडा टेक्छ ।
अर्कोतर्फ हाम्रो दाम्पत्य जीवनको अर्को रमाइलो परीक्षा पनि जारी थियो। मलाई चिसो, एसी र फ्यानको हावा सहनै गाह्रो। पिउनु खानुको त के कुरा ।  यता पवित्रालाई भने गर्मीले हैरान, जति बेला पनि असिनपसिन । म एसी बन्द गर्न खोज्ने, उनी खोल्न खोज्ने… यो आफैमा रमाइलो छ फेरी । सायद भगवान्ले विवाहमा दुई फरक स्वभाव भएका मानिसलाई एउटै यात्रामा पठाउनुको उद्देश्य नै यही होला—एकर्काका सुविधा मात्र होइन, असुविधा पनि मुस्कुराउँदै स्वीकार गर्न सिकाउनु।
यताका खानामा पनि नुन अलिक चर्कै लाग्यो।
मैले गाइडलाई भनेको “खानामा पनि नुन कम होस्, बोलीमा पनि नुन कम होस्” भन्ने कुरा फेरि सम्झिएँ।
हाम्रो टोलीका सबैभन्दा ज्येष्ठ सदस्य योगेन्द्र लिम्बु दाइको ऊर्जा भने साँच्चै लोभलाग्दो थियो। उमेरले होइन, उत्साहले मानिस जवान हुन्छ भन्ने उहाँलाई देखेर फेरि विश्वास लाग्यो। तर मज्जा लाग्ने कुरामा दाइलाई मिठाई देख्ने बित्तिकै उहाँको मन चाहिँ बच्चाजस्तै हुने रहेछ। अनि मिश्री जस्तै रसीली मिश्रा भाउजूले बेला–बेला केटाकेटीलाई झैँ, “बस, अब कट्टी!” भन्दै रोक्नुहुन्थ्यो। त्यो दृश्य देख्दा मलाई छुट्टै रमाइलो लाग्थ्यो, यसो सोच्छु साहेद यसरी रोक्ने भाउजू साथमा नहुनुहुन्थ्यो भने दाइले पनि खुलेर मिठो खानुहुन्नथ्यो होला ।
पहिलो दिनले मलाई भने निकै  ठुलो पाठहरू सिकायो। तीर्थयात्रा केवल मन्दिर पुग्नु होइन। त्यस्तै धैर्य राख्नु पनि तीर्थ हो। एक अर्कालाई पर्खन सक्नु पनि तीर्थ हो। आफ्नोभन्दा समूहलाई अघि राख्नु पनि तीर्थ हो। र सबैभन्दा ठुलो कुरा त परिवार केवल रगतको सम्बन्धले बन्दैन, एउटै उद्देश्य लिएर एउटै बाटोमा सँगै हिँड्ने मानिसहरू पनि बिस्तारै परिवार बन्छन्। हरिद्वारमा पहिलो रात निदाउँदा मनमा एउटै भावना थियो भगवान्ले हामीलाई आज गन्तव्य होइन, यात्राको संस्कार सिकाउनुभएको रहेछ। सबैको जय होस् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!