लन्डन १९ जुलाई २०२२ । किरात राई यायोक्खा बेलायतले आउँदो २४ जुलाई २०२२ मा आयोजना गर्ने भनिएको राजेश पायल राई एकल सांगीतिक साँझ तथा सम्मान कार्यक्रम स्थगित भएको छ ।
कार्यक्रमको सम्पूर्ण तयारी गरिसकिएको भए पनि गायक राईको भिसा रसिया र यूक्रेनबीच जारी युद्धको कारण अनिश्चित भएकोले निर्धारित कार्यक्रम स्थगित गरिएको आयोजक संस्थाले जनाएको छ । किरात राई यायोक्खा बेलायतका अध्यक्ष चन्द्रबहादुर राई, उपाध्यक्ष एवं कार्यक्रम संयोजक सुमनचन्द्र राई र महासचिव चन्द्रवती राईले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाबाट करोडौं नेपालीहरुको ढुकढुकी सुविख्यात गायक राई इज किङ्ग स्वयं पनि ज्यादै दुःखी बन्नु भएको हामीले पाएका छौं । कार्यक्रम स्थगित भएको आधिकारिक जानकारी गराउँदै आयोजकद्वारा प्रेस विज्ञप्ति जारी भएपस्चात उहाँ (राई इज किङ्ग) ले पनि आमसंचारमाध्यममार्फत आफ्नो बेलायती दर्शक तथा श्रोताहरुलाई सम्बोधन गर्ने जानकारी गराउनुभएको छ ।’
प्राविधिक समस्याहरुको समाधान सुनिस्चित हुनेबित्तिकै कार्यक्रमका प्रायोजकहरु, सम्पूर्ण दर्शक तथा श्रोताहरुको सुविधालाई ध्यानमा राख्दै कार्यक्रमको अर्को मितिसहितको पूर्ण विवरण सार्वजनिक गर्ने पनि जनाइएको छ । निर्धारित कार्यक्रमको टिकट लिइसकेकाहरुले पुनःनिर्धारित कार्यक्रमको टिकट (दोहोरो) लिनु नपर्ने पनि आयोजकले प्रस्ट पारेको छ ।






